महालक्ष्मी विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा महालक्ष्मी बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् । बैंकले आफ्नो निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धारा सेवा प्र्रणाली मार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने भएको छ । यस सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका मुलुक भरका शाखा /उपशाखा तथा एक्स्टन्शन काउण्टर र कार्यालय मार्फत महालक्ष्मी विकास बैंकका ग्राहकहरुले बैंकको शाखाहरुबाट छिटो छरितो तथा सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमाशुल्क भुक्तानी गर्न र दावी भुक्तानी रकम प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

महिला सहयात्रा माइक्रोफाइनान्सले ८ % नगद लाभांश वितरण गर्ने

काठमाडौँ । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लि.को छैठौं वार्षिक साधारण सभा संस्थाको केन्द्रीय कार्यालय मकवानपुरको थाहा नपा ९, चित्लाङको सभा कक्षमा माघ ५ गते सम्पन्न भयो । सभामा संस्थाका अध्यक्ष भाइराजा तुलाधरले आव २०७४/२०७५ को वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय स्तरको कार्य क्षेत्र र १२ करोेड १० लाख चुक्ता पूँजी रहेको सो वित्तीय संस्थाले आव २०७४÷०७५ को नाफाबाट शेयर धनीहरुलाई कर सहित ८ % नगद लाभांश वितरण गर्ने गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिबेदन र सोहि अवधिसम्मको नाफा नोक्सान पारित गर्नुका साथै आव २०७५/०७६ को लागि वाह्य लेखा परीक्षकमा रञ्जित एण्ड एशोसियट्स चार्टड एकाउन्टेण्ट्स नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । सम्पन्न साधारण सभाले कम्पनीको नाम संशोधन गरी महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि. नामाकरण गर्ने भएका प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले जानकारी दिइन् ।

राष्ट्र बैंकले पाँच अर्बको रिपो बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच अर्ब रूपैयाँ बराबरको रिपो बोलकबोलमा बिक्री गर्ने भएको छ । बैंकले आज(शुक्रबार) एक सूचनामार्फत यही माघ ६ गते बोलकबोलमार्फत एक हप्ता अवधिको लागि रिपो बिक्री गर्न लागेको हो । उक्त रिपो यही माघ १३ गतेसम्मका लागि अर्थात सात दिनका लागि मात्रै उपलब्ध गराइनेछ । बैंकले ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोल प्रक्रियामा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । रासस