सिभिल बैंकले हामा मर्चेन्ट र युनिक फाईनान्स प्राप्ति गर्ने, बाेनस सेयरपछि २० प्रतिशत हकप्रद सेयर निश्काशन गरिने

काठमाडौं । सिभिल बैंक लिमिटेडमा हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेड प्राप्ति गर्ने सम्बन्धमा आईतबार अन्तिम सम्झौता भएको छ । उक्त सम्झौतामा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग, हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेडका अध्यक्ष राजन कृष्ण श्रेष्ठ र युनिक फाईनान्स लिमिटेडका अध्यक्ष डा. विनोद बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । प्राप्तिपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बंैकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत हुने बताइएको छ । यी तीन संस्थाहरुले हालसम्ममा ३३ अर्ब ६३ करोड निक्षेप संकलन एवं ३१ अर्ब ६८ करोड कर्जा लगानी गरेका छन् । प्राप्तिपछि सिभिल बैंक लिमिटेडको चुक्ता पूँजी ५ अर्ब ५ करोड पुग्ने छ भने यस बैंकको शाखा संख्या ५३ पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । दुवै संस्थाको प्राप्ति र आ.व.२०७२/७३को मुनाफाबाट बोनस शेयर जारी गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको २० प्रतिशतले हकप्रद सेयर जारी गर्ने र नपूग रकमको लागी थप प्राप्ति, मर्जर मार्फत गई नेपाल राष्ट्र बैंकको मौद्रिक नीति असार मसान्त भित्र न्यूनतम चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउने बैंकले जनाएको छ ।

वायुसेवा निगमले ६ महिनामा कमायो १३ करोड ७१ लाख, यस्तो छ आम्दानी र खर्चको हिस्सा

काठमाडौं । नेपाल बायु सेवा निगमले चालु आर्थिक बर्षको ६ महिनामा १३ करोड ७१ लाख २६ हजार ७० रुपैंयाँ(कर बाहेक) नाफा कमाएको छ । निगमले साउन १ गतेदेखि माघ २९ गतेको अवधीमा सो नाफा कमाएको हो । निगमले सो अवधीमा ५ अर्ब ४ करोड २० लाख ८६ हजार २ सय २८ रुपैंयाँ आम्दानी गरेर ४ अर्ब ४३ करोड १२ लाख ९९ हजार ९ सय ८४ रुपैंयाँ खर्च गरेको छ । सुगतरत्न कंसाकार, महाप्रबन्धक–नेपाल वायुसेवा निगम निगमले अन्तराष्ट्रिय हवाई उडानबाट ३ अर्ब ८ करोड ७ लाख ३५ हजार ३ सय ९० रुपैंयाँ आम्दानी गरेको छ भने आन्तरिक तर्फको उडानबाट ११ करोड ५८ लाख ८ हजार ९ सय ९ रुपैंयाँ आम्दानी गरेको छ । त्यस्तै, ग्राउण्ड ह्याण्डलिङबाट एक अर्ब ७६ करोड ३५ लाख २६ हजार ६ सय २६ रुपैंयाँ कमाएको छ । निगमले एक्सेस ब्यागेजबाट ३ करोड २६ लाख तथा कार्गाेबाट ३ करोड २५ लाख आम्दानी गरेको छ । त्यस्तै, भाडा तथा लिजबाट एक करोड ६८ लाख आम्दानी गरेको छ । निगमले निगमले उडान अपरेशनका लागि एक अर्ब ७० करोड, इन्स्योरेन्सका लागि १७ करोड ८६ लाख, भाडाका लागि एक करोड, मर्मत सम्भारमा ३८ करोड, कस्टुमर सर्भिसमा ६ करोड, मूल्य ह्रासमा ७३ करोड ४७ लाख र प्रशासन सञ्चालनका लागि एक अर्ब ३६ करोड २९ लाख खर्च गरेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसारकारले आगामी तीन बर्षभित्रै चार वटा नयाँ विमान थप्ने गरि योजना अघि बढाएको बताए । उनले चाँडै चीनको ग्वाञ्जाओ र दुबईमा उडान गर्ने तयारी अन्तिम चरणमा पुगेको पनि बताए । २ महिनाभित्रै क्रेडिट कार्ड प्रयोग गरेर संसारभबाट नेपाल एयर लाइन्सको टिकट खरिद गर्न सकिने पनि महाप्रबन्धक कंसाकारले जानकारी दिए ।

३३ किलो सुन तस्करीमा संलग्न १२ जना पक्राउ, सगंठित अपराधको मुद्धा हालियो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले ३३ किलो सुन तस्करीमा संलग्न १२ जनालाई पक्राउ गरेको छ । सिइआईबीले पत्रकार सम्मेलन गर्दै सुन तस्करीमा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो । पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएको ३३ किलो सुन बरामद गरेको थियो । विमानस्थलको सुरक्षा कमाण्ड सम्हालेको तत्कालिन एसएसपी श्याम खत्री, युएईबाट सुनको लगेज ल्याउने गोपाल शाही सहित सन्तोष काफ्ले, दिलबन्धु थापा, श्रीनारायण यादव, राजकुमार खरेल, श्याम श्रेष्ठ, रामहरी कार्की पक्राउ परेका हुन् । पक्राउ परेका अन्य तस्करहरुमा मनोज श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ रहेका छन् । अन्य १८ जना भने अझै फरार रहेको सिइआइबीले जनाएको छ । सिआइबीले पक्राउ गरिएकाहरु विरुद्ध सगंठित अपराध निवारण ऐन, २०७० अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।