६ महिनामा आउँदै छ साझाको सेमी लो फ्लोर बस, १० वटा डिलक्स बस पनि थपिने

काठमाडौं । साझा यातायातले नेपालमा पहिलोपटक सजिलो गरि चढ्न मिल्ने अत्याधुनिक सुविधासम्पन्न सेमी लो फ्लोर मोडलको बस ल्याउने भएको छ । ११ वटा बसको मूल्य पाँच करोड रुपैयाँ पर्ने साझाको अनुमान छ । समथर सडकमा मात्र चल्ने जान मोडलको बसका लागि साझाले आइतबार टेण्डर आह्वान गरेको छ । ६ महिनामा साझाले १० वटा डिलक्स बस सहित एउटा सेमी लो फ्लोर बस ल्याउन लागेको साझाका प्रमुख कार्यकारी अधिकृत महेनद्रराज पाण्डेले जानकारी दिए ।  ‘साझाले सेमी लो फ्लोर र डिलक्स बसका लागि टेण्डर आह्वाहन गरिसकेको छ’ , उनले भने, ‘ करिब ६ महिनामा साझाका बस काठमाडौं आइसक्छन् भन्ने आश गरिएको छ ।’ ‘हामीले परीक्षणका लागि नमुनाका लागि एउटा लो फ्लोर बस ल्याउने कुरा गरेका थियौं, ‘ उनले भने, ‘समथर भागमा मात्र चलाउन मिल्ने भएकाले त्यसको सम्भाव्यता हेरेर मात्र खरीद गर्ने कुरा भएको थियो ।’ ३० वटा बस ल्याउने सम्झौता हुँदा नै अशोक ले ल्याण्डसँग लो फ्लोर बस ल्याउने बारे छलफल भएको पाण्डेयले बताए । तर लो फ्लोर गाडी नेपालमा ल्याउदा महंगो पर्ने भएकाले समय लागेको उनले बताए । सहर क्षेत्रमा सेमी लो फ्लोर बसको आवश्यकता पर्ने भएकाले परिक्षणका लागि स्याम्पलको रुपमा ल्याउन खोजिएको साझाका अध्यक्ष कनकमणी दिक्षितले जानकारी दिए । उनले भने, ‘ सिटी ट्रान्सपोर्टको अवधारणा अनुसार सेमी लो फ्लोर बस चाहिन्छ नै । गाडीको मुल्य झन्डै एक करोड पुग्ने देखिएको छ । यसका लागि सरकार, स्थानिय सरोकारबालाको विषेश ध्यानाकर्षण हुनु जरुरी छ ।’ के हो सेमी लो फ्लोर बस ? नयाँ सिटी बस मोडल अन्तर्गतको सेमी लो फ्लोर बसको ६५० मिलि मिटर ग्राउन्ड क्लियरेन्स छ। यही कारण यात्रुले सहजै बसमा चढ्न सक्ने अशोक लेल्याण्डका कर्पोरेट म्यानेजर प्रविन अधिकारीले जानकारी दिए । प्राविधिक भाषा अनुसार बसको खुड्किलोको पहिलो तल्लालाई ‘ई’ भनिन्छ । यो जमिन सतह भन्दा चार सय एमएमको उचाईंमा हुन्छ । हाल नेपालमा चल्ने सामान्य बसका धरातल जमिनको सतहभन्दा दुई वटा खुड्किलो सहित नौ सय एमएमको दुरीमा हुन्छ भने डिलक्स बसमा तीन वटा खुड्किलो तथा धरातलसम्म एक हजार एक सय ५० एमएमको दुरी हुन्छ । लो फ्लोर बसमा यो दुरी जम्मा ६ सय ५० एमएम हुन्छ । त्यसैले छोटो समयमा नै यात्रु प्रवेश गर्न वा निक्लन मिल्ने अधिकारीले बताए  ।  उनका अनुसार यसको ढोका पनि फराकिलो हुन्छ । १२ मिटर लामो यस बसमा धेरै यात्रुहरु अटाउन मिल्ने अधिकारीले जानकारी दिए । ह्विल चियर प्रवेश गर्न मिल्ने यो बस अपाङ्गमैत्री छ । अरु सामान्य बसमा पछाडी इञ्जिन हुने गर्छ भने यो बसमा अगाडी इञ्जिन हुने भएकाले इन्धन खपतलाई घटाउन सकिने उनले जानकारी दिए ।

विस्थापित हुँदैछन् ४८ लाख एटिएम कार्ड, बैंकहरुले धमाधम ल्याउँदैछन् चिपमा आधारित कार्ड

काठमाडौं । के तपाईसँग पुराना एटिएम कार्ड छन् ? त्यसो हो भने अब त्यो कार्डले काम गर्दैन । किन की सबै बैंक तथा वित्तिय संस्थाहरुले एटिएमको कारोबारलाई सुरक्षित बनाउन नयाँ एटिएम कार्ड ल्याउँदैछन् । जसले पुराना कार्डलाई विस्थापित गर्छ । बैंकहरुले म्याग्नेटिक स्ट्रिपमा आधारित पुराना एटिएम कार्डलाई हटाएर चिप बेस्ड कार्ड प्रयोगमा ल्याउन लागेको छन र यो क्रम धमाधम अघि बढिरहेको छ । ‘एटिएमबाट हुने कारोबारलाई सुरक्षित बनाउन भनेर हामीले २०७२ सालमै योजना ल्याएका थियौं तर प्राबिधिक पक्षले गर्दा केहि ढिलो हुन पुग्यो तर अब धमाधम काम भैरहेको छ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७२÷७३ सालको मौद्रिक नीतिमै असोज मसान्तभित्र बैंक तथा वित्तिय संस्थाबाट म्याग्नेटिक स्ट्रिप कार्ड विस्थापित गरेर चिप बेस्ड(आधारित) कार्ड सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले पनि चालु आर्थिक बर्षभित्रै सबै बाणिज्य बैंकहरुले चिप बेस्ड कार्ड सञ्चालनमा ल्याइसक्ने बताए । ‘हामीले सबै बाणिज्य बैंकलाई फर्म भराएका छौं, एकिकृत आधारमा काम गर्दा न्युन लागत र कार्यान्वयनमा पनि सहजता हुन्छ, अहिले नै केहि बैंकले कार्यान्वयन गरिसकेका छन्, केहि महिनामै धेरै बैंक गैसक्नेछन् चालु आर्थिक बर्षभित्रै सबै बैंकका एटिएमहरु चिपमा आधारित हुनेछन’, मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेको अध्यक्ष शाहले विकासन्युजसँग भने । उनले एउटा बैंकले ६ महिनाको प्रयासपछि मात्रै म्याग्नेटिक स्ट्रिप कार्डलाई विस्थापित गरेर चिपमा आधारित कार्ड सञ्चालन गर्न सक्ने पनि बताए । मेगा बैंकले पनि चिपमा आधारित कार्ड सञ्चालनको प्रक्रिया अघि बढाएको जानकारी शाहले गराएका थिए । अबको केहि समयभित्रै ४७ लाख ९१ हजार ९ सय ३६ वटा एटिएम कार्ड विस्थापित भएर नयाँ कार्ड सञ्चालनमा आउनेछन् । केहि बैंक तथा वित्तिय संस्थाहरुले नयाँ कार्ड सञ्चालनमा ल्याइसकेका छन् । बैंक तथा वित्तिय संस्थाको कमजोर प्राबिधिक पक्ष, सेवा उपलब्ध गराउने संस्थाहरुको आपसी समन्वय लगायतका कामले चिपमा आधारित कार्डको कार्यान्वयनमा केहि ढिलाई भएको प्रवक्ता पौडेलले जानकारी दिए । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७२/७३ सालको मौद्रिक नीतिमा–‘ग्राहकहरुलाई बैंकिङ सेवा प्रयोगमा सुरक्षाको प्रत्याभूति दिलाउन बैंक तथा वित्तिय संस्थाहरुले हाल प्रयोगमा ल्याएका डेबिट, क्रेडिट, प्रिपेड लगायतका म्याग्नेटिक स्ट्रि कार्डलाई २०७२ असोज भित्र चिप बेस्ड कार्डले विस्थापित गर्नुपर्ने व्यवस्था गरिनेछ ।’, लेखेको थियो हाल १९०८ वटा एटिएम बुथ सञ्चालनमा रहेका छन् । बाणिज्य बैंकका १६६२ वटा, विकास बैंकका २५० वटा र फाइनान्स कम्पनीका २६ वटा एटिएम बुथ रहेका छन् । यी सबै एटिएमका बुथहरुको स्तरोन्नतिमा गरिनुपर्ने उनले बताए । नेपालमा डेबिट कार्डको संख्या ४६ लाख ५७ हजार एक सय २५ रहेको छ भने क्रेडिट कार्डको संख्या ५५ हजार ५ सय १९ वटा र प्रिपेड कार्डको संख्या ८२ हजार ७ सय ९७ वटा रहेको छ ।

पूर्वमन्त्री विद्याधर मल्लिक, विमल वाग्ले र रविन्द्र घिमिरे राष्ट्र बैंक सञ्चालक बन्ने लाईनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक बन्न पूर्व मन्त्री, पूर्व सचिव, अर्थविद, प्रध्यापकहरुको दौडदुप चलेको छ । बैकिङ क्षेत्रको लागि पावर, पैसा र प्रेष्टिज (सम्मान) सबै दृष्टिले राम्रो मानिने सञ्चालक पदमा नियुक्त खान शक्ति केन्द्रहरुमा चहलपहल बढेको छ । स्थानीय निर्वाचनको मिति तोक्न सत्ता साझेदार र विपक्षी दलहरुबाट सरकारलाई दवाव परिरहेकोले निर्वाचनको मिति तोक्नु पूर्व नै राष्ट्र बैंकका सञ्चालकहरु नियुक्ती गर्ने सरकारको योजना छ । राष्ट्र बैंकको सञ्चालक समितिमा पदेनबाहेकका सबै सदस्यहरु परिवर्तन खाली हुँदैछ । सञ्चालक बालकृष्णमान (विकेमान) श्रेष्ठ योग्यता विवादमा निलम्बित भएका छन् । त्यस्तै, सञ्चालकद्वय श्रीराम पौडेल र डा रामहरि अर्यालको कार्यकाल फागुनबाट सकिन लागेको छ । स्रोतका अनुसार विकेमान निलम्बरनमा परेपछि उनको ठाउँमा पूर्व सचिव विमलप्रसाद वाग्लेलाई नियुक्त गर्न अर्थमन्त्रालयले सिफारिस गर्दै थियो । तर थप दुई पद पनि खाली हुन लागेकोले तीन वटै पदमा एकै पटक नियुक्त गर्ने लाईनमा सरकार रहेको स्रोतले बतायो । अर्थमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री कृष्णबहादुर महरा र नेपाली काँग्रेस नेतृत्वबीच एउटा अनौपचारिक सहमति भएको छ । त्यसमा काँग्रेसको तर्फबाट पूर्वमन्त्री विद्याधर मल्लिक, माओवादीको तर्फबाट अर्थविद् डा. रविन्द्र घिमिरे र दुबै पार्टीले विश्वास गरेको पूर्व सचिव विमलप्रसाद वाग्लेलाई मन्त्रिपषिद्को एउटै बैठकबाट नियुक्त गर्ने सहमति भएको छ । पौडेल र अर्यालको कार्यकाल अझै एक महिना बाँकी भएकोले नयाँ सञ्चालकहरुको नियुक्त तत्काल हुनेछैन । ‘समय धेरै छ, धेरै चलखेल हुन्छ, अहिलेको सहमति अनुसार नै निर्णय हुन्छ भन्ने निश्चित छैन’ स्रोतले भन्यो–‘राष्ट्र बैंकको सञ्चालक बन्न प्रधानमन्त्री निवास, काँग्रेस सभापति शेरबहादुर देउवा निवास र अर्थमन्त्रालय धाउने धेरै जना छन् ।’ राष्ट्र बैंकमा ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ । त्यसमा ४ जना पदेन हुन्छन् । गभर्नर सञ्चालक समितिको अध्यक्ष समेत रहने व्यवस्था छ भने अर्थसचिव र दुई जना डेपुटी गभर्नर सञ्चालक समितिमा पदन सदस्य रहने व्यवस्था छ । तीन जना सरकारले नियुक्त गर्छ । राष्ट्र बैंकका सञ्चालकहरुले नियमित तलब त पाउँदैनन् तर भत्ता तथा अन्य सूविधा आकार्षक हुन्छ । भत्ता मात्र मासिक १ लाख रुपैयाँ भन्दा बढी हुन्छ । विदेश भ्रमणका अवसर धेरै हुन्छन् । राष्ट्र बैंकमा सञ्चालक हुनेले पावर प्रयोग गरी वित्तीय क्षेत्रमा आफ्ना मान्छेलाई रोजगारी दिलाउने गरेको पाइन्छ । राष्ट्र बैंकको सञ्चालक समितिमा सर्बसहमतिय निर्णयलाई उच्च स्थान दिने संस्कार भएकोले हरेक सञ्चालकसँग निर्णायक पावर भएको मानिन्छ । थप समाचारस : राष्ट्र बैंक सञ्चालक समितिको बैठक खर्च १२२ प्रतिशतले वृद्धि, भत्ता र खान्कीमा प्रतिव्यक्ति वार्षिक १२ लाख खर्च