मेगा र टुरिजम् डेभलपमेन्ट बैंकबीच मर्जरको सैद्धान्तिक सहमति, मेगाको १३ प्रतिशत र टुरिजमको १८ प्रतिशत बोनस शेयर यथावत

काठमाडौं, ७ माघ । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक बीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा माघ ६ गते सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र टुरिजम् डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरुको रोहवरमा सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर गरेका छन् । मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहका अनुसार मर्जर पश्चात् बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै कायम रहनेछ । “अन्तिम शेयर आदान प्रदान अनुपात (डीडीए) प्रतिवेदनको आधारमा फरक पर्न सक्ने गरी हाललाई मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकको शेयर आदान प्रदान अनुपात १०० : ९५ तय गरिएको छ । साथै मेगा बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले नै मर्जर पछिको संस्थामा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको रुपमा निरन्तरता पाउने छन् । मेगा बैंकको हालको चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ छ भने १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या ४० तथा ४७ वटा एटिएमहरु रहेको छ । टुरिजम् डेभलपमेन्ट बैंकको हालको चुक्ता पुँजी ९१ करोड ९७ लाख रुपैयाँ छ भने १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या २३ तथा १२ वटा एटिएमहरु रहेको व्यहोरा मेगा बैंकका सिईओ अनिल केशरी शाहले बताए । आगामी साधारण सभाले स्वीकृत गरेको खण्डमा मेगा बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७२/७३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजीमा १३.९५ प्रतिशत बोनस शेयर जारी गर्ने सिफारिश गरेको उनले बताए । साथै टुरिजम् डेभलपमेन्ट बैंकले हालको चुक्ता पुँजी ९१ करोड ९७ लाखमा १८.६० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । दुबै बैंकले प्रस्ताव गरेकाे बाेनस सेयर यथावत रूपमा रहने शाहले बताए । सिईओ शाहले दुबै बैंकको शेयर रोक्काको प्रकृया अघि बढाईएको र यथाशिघ्र नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गराइने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघमा पदाधिकारीहरू सर्वसहमत चयन गर्ने प्रयास, अनुभवी भन्छन्-‘असम्भव’

काठमाडौं, ७ माघ । आगामी चैतको अन्तिम साता हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा पदाधिकारीहरु सर्वसहमत गर्ने प्रयास भएको छ । गत मंसिरमा विधान संशोधन गरि वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बनाउने व्यवस्था गरेको महासंघले बाँकी पदाधिकारीहरुमा पनि सर्बसहमति जुटाउने प्रयास थालेको छ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष, जिल्ला तथा नगर उपाध्यक्ष, बस्तुगत उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, कोषाध्यक्ष लगायत पदाधिकारीको चयन सर्बसहमतिमा गर्ने प्रयास भईरहेको उपाध्यक्ष दिनेश क्षेष्ठ बताउँछन् । उनी भन्छन्–‘अध्यक्षको चयन सर्वसहमत हुने विधान बनाई सक्यौं, यसअघि अध्यक्ष र वरिष्ठ उपाध्यक्ष सर्वसहमतिमा चयन गरिसकेका छौं  । यसपटक कार्यकारी समितिको सदस्यहरुमा निर्वाचत गरौं, पदाधिकारीहरुमा सर्बसहमति जुटाउनुपर्छ भनेर प्रयास भईराखेको छ ।’ यसअघि महासंघको नेतृत्व चयन मतदानबाट नै हुँदै आएको बताउँदै श्रेष्ठ भन्छन्– ‘महासंघ लोकतन्त्रप्रति विश्वास गर्ने संस्था हो र निर्वाचनबाट नेतृत्व चयन गर्ने अभ्यास गर्दै आएको हो । तर निर्वाचनको परिणाम सँगै विजयको उन्माद र पराजयको पीडाले महासंघलाई क्षति पुगेको तितो अनुभव हामीसँग छ । त्यसैले कम्तिमा पदाधिकारीहरु सर्बसहमतिमा चयन गरौं भन्ने प्रयास थालेका हौं ।’ महासंघका पूर्व अध्यक्षहरु र पूर्व पदाधिकारीहरु सर्वसहमति नेतृत्व चयनको वातावरण बनाउन क्रियाशिल भएको उनले बताए । सजिलो छैन सर्वसहमतिमा नेतृत्व महासंघमा केही अध्यक्षको चयन सर्वसहमतिमा भएपनि पदाधिकारी पुरै सर्बसहमतिमा चयन भएको इतिहास छैन । र, अब पनि सबै पदाधिकारी सर्बसहमतिमा हुने सम्भावना नरहेको अनुभवीहरु बताउँछन् । वर्तमान उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठ र शेखर गाल्छामध्ये कसलाई बरिष्ठ उपाध्यक्ष बनाउने भन्ने विषयमा सहमति जुट्ने सम्भावना ज्यादै न्यून देखिन्छ । तीन उपाध्यक्ष मध्ये वरिष्ठताको आधारमा आफू वरिष्ठ उपाध्यक्ष बन्न पाउनु पर्ने उपाध्यक्ष प्रधानको दाबी छ । आफ्नो नाममा सहमति नजुटे आफू चुनावमा जानुको विकल्प नभएको प्रधानले बताए । निर्वाचनको तयारीको क्रममा आफूले ६४ जिल्ला भ्रमण गरिसकेको र बलियो समर्थनको प्रतिवद्धता पाएको उनले दावी गरे । महासंघको वरिष्ठ उपाध्यक्ष चयनमा जिल्ला, नगर र प्रदेशको मतभार ५० प्रतिशत रहेको छ । को भन्दा को कम ? किशोर भन्दा शेखर के कम ? महासंघको वरिष्ठ उपाध्यक्षमा सर्वसहमति जुटाउन प्रसासमा गरिएका बैठकहरुमा शेखर गोल्छा सहभागि नभएको विषयले महासंघको चुनावी सर्कलमा नयाँ तरङ्ग ल्याएको छ । वर्तमान अध्यक्ष पशुपति मुरारका र भावी अध्यक्ष सुनिश्चित भईसकेकी वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणाले सकेसम्म गोल्छालाई अबको वरिष्ठ उपाध्यक्षमा सर्वसहमति जुटाउने, चुनाव हुने अवस्था आएमा गोल्छालाई समर्थन गर्ने बचन दिएको बताईएको छ । बरिष्ठ उपाध्यक्षमा नै सहमति जुट्न नसके अरु पदमा सहमति जुट्न असम्भव निश्चित छ । नेपालमा कोर पोलिटिक्स मात्र होइन, विजनेश पोलिटिक्स पनि जब्बर बन्दै गएको छ । महासंघले ११ महिनासम्म पनि महानिर्देशक पदपूर्ति गर्न नसक्नु महासंघभित्रको जब्बर पोलिटिक्सको एउटा ज्वलन्त उदाहरण हो । महासंघका तत्कालिन महानिर्देशक धरणिधर खतिवडाले गत फागुनमा राजीनामा दिएका थिए । त्यसपछि उक्त पद अहिलेसम्म खाली छ ।

नेपाल आउने जहाजमा हतियारधारी सेना राख्ने भारतीय प्रस्ताव, नेपाल सरकार भन्छ-छलफल हुँदैछ

काठमाडौं, ६ माघ । भारतले नेपाल आउने जहाजमा हतियारधारी सेना राख्ने प्रस्ताव अघि सारेको छ । भारतले नेपाल आउने आफ्ना जहाजमा इन फ्लाइट सेक्युरीटी अफिसरका नाममा हतियारधारी सेना राख्ने योजना अघि सारेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यका अनुसार नेपालले दुई तर्फी हवाई रुट माग्ने नेपालको प्रस्तावलाई काउन्टर दिँदै भारतले इन फ्लाइट सेक्युरीटी अफिसरको प्रस्ताव अघि सारेको हो । ‘हामीले धनगढीबाट नेपाल प्रवेश गर्ने र बाहिरीने रुट मागेका थियौं तर उसले काउन्टर प्रस्तावका रुपमा इन फ्लाइट सेक्युरीटी अफिसर राख्न पाउनुपर्ने अडान लियो’, केहि दिन अघि भारतमा भएको वार्ताको प्रशंग सुनाउँदै निमित्त सचिव आचार्यले विकास समिति बैठकमा भने । हाल नेपाल भित्रिने जहाज सिमरा रुट भएर र बाहिरीने जहाज धनगढी रुट भएर उडिरहेका छन् । नेपालले धनगढी रुटबाट नेपाल भित्रिने र बाहिरीने दुबै उडान अनुमति मागिरहेको छ । नेपालले इन फ्लाइट सेक्युरीटी अफिसर राख्ने अनुमति दिएमा भारतले आफ्ना जहाजमा सादा पोशाकका हतियारधारी सेना राख्नेछ । उसको कमाण्ड जहाजको पाइटले गर्नेछ । त्यस्ता सेक्युरीटी अफिसर नेपाली भूमिमा प्रवेश गर्न भने पाउने छैनन् । उनीहरु भारतीय जहाजमा आउनेछन र जहाजमै बसेर फेरी अर्काे उडानमा जानेछ । भारतले अघि सारेको प्रस्ताव माथि छलफल भैरहेको तर  कुनै निर्णय भने नभएको निमित्त सचिव आचार्यले व्यवस्थापिका संसदको विकास समितिमा बताएका हुन् ।