२०२५ मा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, ‘डेभिल्स मेटल’ अझै किन बढ्दैछ?

काठमाडौं । चाँदीलाई ‘डेभिल्स मेटल’ पनि भनिन्छ । यसको मूल्यमा हुने उतारचढावका कारण यसलाई डेभिल्स मेटल भनिएको हो । चाँदी यो वर्ष नयाँ उच्च बिन्दुमा पुगेको छ र आपूर्ति अभाव हुँदाहुँदै पनि यसको मूल्य अझै बढ्ने विशेषज्ञहरूको अनुमान छ । यो धातुको मूल्यवृद्धि सुनसँगै कदम मिलाएर चलिरहेको छ । यस वर्ष सुनको मूल्य पनि उत्कर्षमा पुगेको छ र प्रतिऔंश ४ हजार डलर नाघेको छ । अक्टोबर मध्यतिर चाँदीको मूल्य प्रतिट्रोय औंश ५४.४७ डलर पुगेको थियो, जुन गत वर्षको तुलनामा ७१ प्रतिशत वृद्धि हो । यसको आपूर्ति निकै कम छ । इन्भेस्कोक ईएमईए ईटीएफ फिक्स्ड इनकम तथा कमोडिटी प्रमुख पल सिम्स भन्छन्, ‘कतिपयलाई माग पु¥याउन समुन्द्री कार्गोको सट्टा विमानमार्फत चाँदी ढुवानी गर्नुपरेको थियो ।’ उनका अनुसार मूल्यमा आएको चर्कोवृद्धि पछि केही गिरावट आए पनि ‘यस पटक दीर्घकालीन रूपमा चाँदीलाई उच्च मूल्यमा राख्ने फरक गतिशीलता देखिएको छ र सम्भवतः अझै बढ्न सक्छ ।’ पछिल्ला ५० वर्षमा चाँदीको मूल्य अत्यधिक उकालो लागेको यो तेस्रो पटक मात्र हो । यसअघि जनवरी १९८० मा हन्ट दाजुभाईहरूले विश्वको एक–तिहाइ चाँदी किनेपछि मूल्य उक्लिएको थियो । २०११ मा अमेरिकाको ऋण सीमा संकटका बेला पनि चाँदी–सुन सुरक्षित लगानीका रूपमा किनिँदा मूल्य आकाशिएको थियो । सिम्स भन्छन्, ‘चाँदीको बजार सुनको तुलनामा करिब दशौं भाग मात्र हुन्छ, त्यसैले छोटो अवधिको खरिद–बिक्रीमा भएको दवाबले धेरै लगानीकर्तालाई आश्चर्यमा पारेको थियो ।’ सन् २०२५ को चाँदी वृद्धिः कम आपूर्ति + उच्च माग यसपटक मूल्य वृद्धि भारतको अत्यधिक माग, औद्योगिक आवश्यकता र भन्सार शुल्कका कारण बढेको हो । ‘मुक्ति दिवसपछि सुनको मूल्य उक्लियो, तर चाँदी केही झर्‍यो । त्यसपछि गोल्ड–सिल्भर अनुपात १०० भन्दा माथि गयो,’ सिम्स भन्छन् । यो अनुपातले एक औंश सुन किन्न कति औंश चाँदी चाहिन्छ भन्ने देखाउँछ । अनुपात धेरै उच्च भएमा चाँदी अत्यन्तै सस्तो (अन्डरभ्यालु) भएको अर्थ लाग्छ।  रोना ओ’कनल भन्छिन्, ‘वित्तीय तथा औद्योगिक जोखिम व्यवस्थापकहरू कुनै धातु विदेश पठाउन चाहँदैनथे किनकि फर्किँदा मूल्य ३५ प्रतिशतसम्म महँगो पर्न सक्थ्यो भन्ने डर थियो ।’ मनसुन र बाली कटाइ सकिएपछि भारतमा चाँदीको माग उकालो लाग्छ । ओ’कनलका शब्दमा, ‘भारतका किसानहरू बैंकहरूलाई धेरै मन पराउँदैनन्, त्यसैले सुन र पछिल्लो समय चाँदी नै उनीहरूको पहिलो रोजाइ हो।’ भारत विश्वकै सबैभन्दा ठूलो चाँदी उपभोक्ता हो— वार्षिक करिब ४ हजार मेट्रिक टन, मुख्यतः गहना, भाँडाकुडा र सजावटी सामानका लागि । दिपावली (पाँचदिने दीपावली पर्व) को समय परेकाले पनि माग झनै बढेको थियो । आपूर्ति सङ्कट यस वर्ष भारतमा चाँदीले सुनभन्दा धेरै चम्कियो किनकि यो सस्तो र कृषि निर्भर ५५ प्रतिशत जनसंख्या भएका देशमा सजिलो लगानी विकल्प हो । अक्टोबर १७ मा भारतमा चाँदीको मूल्य प्रति किलो १ लाख ७० हजार ४१५ भारतीय रुपैयाँ पुगेको थियो— वर्षको सुरुदेखि ८५ प्रतिशत वृद्धि । तर भारतको ८० प्रतिशत चाँदी आयातमा निर्भर छ । यूएई र चीनले माग बढ्दै जाँदा आपूर्ति गरिरहेका छन्, तर ब्रिटेन भारतको ऐतिहासिक प्रमुख आपूर्तिकर्ता हो । तर लण्डनका सुरक्षित भण्डारण वर्षौंदेखि खाली हुँदै गएका छन् । जुन २०२२ मा ३१ हजार २३ मेट्रिक टन चाँदी थियो जबकि मार्च २०२५ सम्म झरेर २२ हजार १२६ मेट्रिक टन मात्र बाँकी—करिब एक–तिहाइले कमी । ओ’कनल भन्छिन्, ‘भण्डारणमा के भइरहेको छ, धेरैलाई थाहा छैन । लण्डनमा त प्रायः कुनै उपलब्ध चाँदी नै बाँकी थिएन ।’ अक्टोबरमा कसैले चाँदी उधारो लिन निकै भिडन्त भयो—‘लिज दर’ अत्यन्तै महँगो भयो । ‘एक समयमा एक रातका लागि चाँदी उधारो लिन वार्षिक दर २०० प्रतिशत बराबर पथ्र्यो—धेरै व्यापारीहरू तनावमा थिए,’ ओ’कनल बताउँछिन् । दीर्घकालीन अभावः ईभी, एआई र सौर्य ऊर्जा सिल्भर इन्सिच्युटको वल्र्ड सिल्भर सर्भे २०२५ ले देखाउँछ कि पछिल्लो दशकदेखि चाँदी खानी उत्पादन घट्दो क्रममा छ विशेषगरी मध्य र दक्षिण अमेरिका क्षेत्रमा । ओ’कनलका अनुसार गत १२ महिनामा अतिरिक्त आपूर्ति हुनुपर्नेमा उल्टिएर अभाव बनेको छ । विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोग, कृत्रिम बौद्धिकता (एआई) र फोटोभोल्टाइक (सौर्य प्यानल) ले चाँदी अभाव भएको हो । सिम्सका अनुसार सामान्य ईभीमा २५ ग्राम चाँदी हुन्छ, ठूला ईभीमा ५० ग्रामसम्म । तर यदि ‘सोलिड–स्टेट सिल्भर ब्याट्री’ आए, एउटा ईभीलाई १ किलो वा अझ बढी चाँदी चाहिन सक्छ । चाँदीको ताप प्रशोधन क्षमता र विद्युत् सञ्चार क्षमता अन्य धातुभन्दा धेरै उच्च छ । ईभी, एआई र नवीकरणीय ऊर्जाको माग बढेसँगै चाँदीको मूल्य दीर्घकालीन रूपमा अझै चम्किने देखिन्छ । सिम्स भन्छन्, ‘चाँदी बहुमूल्य र औद्योगिक धातु दुवैको गुण भएका कारण यसको उपयोगिता बढ्दैछ, ब्याट्री, सौर्य प्यानल, प्रविधि सबैतिर यसको माग बढिरहेकै छ ।’ (सीएनबीसीबाट अनूदित तथा सम्पादित)

डा. डिल्लीराम पोख्रेल : त्रिविका गोल्ड मेडलिष्ट, राजाकी छोरीका प्रतिस्पर्धी

काठमाडौं । इलाम सुन्नासाथ अधिकांशको मनमा चियाबारीले ढाकिएका पहाड, सदाबहार हरियाली र मन लोभ्याउने शान्त वातावरणको तस्बिर उभिन्छ । पूर्वी नेपालको यो पहाडी भू-भाग जलवायु, प्राकृतिक विविधता र मनमोहक दृश्यावलोकनका कारण आकर्षणको केन्द्र बनेको छ । चिया बगानहरू, हरेक ऋतुमा फेरिँदै जाने हरियालीका रङ्गहरू, घुम्ती-घुम्ती बाटाहरू, स्वच्छ हावा र सुन्दर पहाडी दृश्य इलामकाे पहिचान बनेकाे छ । यही प्राकृतिक सौन्दर्य र मिहिनेती जनजीवनमा जन्मिएका हुन् नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेल । इलाम नगरपालिका-५ (तत्कालीन द्वारभट्टे गाउँ पञ्चायत वडा नम्बर १ तोरीबारी) मा विसं २०३२ मा जन्मिएका पोख्रेल गाउँमै हुर्किए । गाउँमै बाल्यकाल बित्यो । गाउँकै आदर्श माध्यमिक विद्यालय इलाम (इलाम हाइस्कुल) बाट २०४७ सालमा एसएलसी (हालको एसईई) पास गरे ।  यो त्यही विद्यालय हो, जहाँबाट देशले पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि एमालेका नेता स्वर्गीय सुवास नेम्वाङजस्ता पात्रहरू जन्मायो । त्यही कक्षाकोठा, त्यही काठे डेस्क, त्यही बिहानको घण्टी । आज पनि उनको स्मृतिमा तिनै तस्बिरहरू आउँछन् । २०४७ साल । गाउँको साधारण परिवेशमा बसेर प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण हुनु भनेको त्यतिबेलाको समयमा केवल ‘उपलब्धि’ मात्र थिएन, त्यो एक किसिमको सामाजिक पहिचान, सम्मान र भविष्यको ढोका खुल्ने संकेत जस्तै थियो । तर, उपलब्धिसँगै अर्को यथार्थ पनि उस्तै दृढताका साथ उभियो कि अब त साइन्स (विज्ञान) पढ्नै पर्छ भन्ने गाउँ र समाजको अपेक्षा । त्यो अपेक्षा उत्साहभन्दा बढी भार थियो । किनकि गाउँको जीवनले दिएको कडा दिनचर्या, खेतबारीको काम सबैभन्दा माथि उठेर पढाइमा अब्बल बन्नु सजिलो थिएन । तर, डिल्लीराम पोख्रेलका लागि गाउँले जीवन कुनै बाधा थिएन । खेतको कामले सिकाएको धैर्यता, घरायसी जिम्मेवारीले दिएको अनुशासन र पहाडी जीवनले पस्किने कठिनाइहरूबाट जन्मिएको दृढता । यी सबैले पछि उनले पार गर्ने थुप्रै उकालोहरूको आधार बने । ‘एसएलसी दिने हामीहरू धेरै थियौं । म मात्रै फस्ट डिभिजनमा पास भएँ, त्यतिखेर फर्स्ट डिभिजन पास गर्नेलाई साइन्स पढ्नु पर्ने दबाब हुन्थ्यो,’ उनले विगत स्मरण गर्दै भने । एसएलसीमा ७५ प्रतिशत अंक ल्याएर जिल्ला टपर बनेका डिल्लीराम विज्ञान पढ्न देशको राजधानी होमिए । तर, विडम्बना काठमाडौंमा कोठाभाडामा लिएर उच्च शिक्षा अध्ययन गर्न त्यति सहज थिएन । सामान्य किसान परिवारका उनलाई धेरै सेवासुविधा दिएर काठमाडौंमा पढाउन सक्ने अवस्था थिएन । त्यसैले उनले छात्रवृत्ति र छात्रावासको खोजी गर्न थाले । तर, सरकारबाट सेवा सुविधा पाउन पनि तत्कालीन समयमा ठूलो राजनीतिक पहुँचको खाँचो पर्थ्याे । ‘काठमाडौं आएपछि बस्नका लागि समस्या थियो । किनभने मेरो पारिवारिक स्थिति सामान्य किसान परिवार हो । धेरै खर्च गरेर पढ्न सक्ने अवस्था थिएन,’ उनले आफ्नो विगत सुनाउँदै भने ‘त्यतिबेला पनि अहिलेको जस्तै राजनीतिक अस्थिरता थियो । अमृत साइन्स क्याम्पस (अस्कल)मा होस्टेल बस्न पनि राजनीतिक पहुँच चाहिन्थ्यो । विभिन्न राजनीतिक दल, संगठनको मान्छेहरूले शक्ति प्रयोग गरेर होस्टेल बस्थे । तर, म भाग्यमानी रैछु, एसएलसीमा जिल्ला फस्ट भएकाले होस्टेलमा बस्न पाएँ ।’ होस्टेलमै बसेर विज्ञान विषय पढेका पोख्रेललाई थप अध्ययन गर्न फेरि आर्थिक अभावको पीर थियो । पारिवारिक अवस्थाका कारण उनले राम्रो विषय लिएर पढ्न सक्ने अवस्था थिएन । त्यसपछि आफ्नो गन्तव्य परिवर्तन गर्दै उनी काठमाडौंबाट आफ्नै गाउँ फर्किए । आफ्नै परिवेशमा झरे ।  ‘होस्टेल बसेर आईएस्सी पढेँ । तर, पारिवारिक स्थिति कमजोर भएकाले काठमाडौंमै बसेर डाक्टर वा राम्रो विषय लिएर पढ्न सक्ने अवस्था थिएन । काठमाडौंबाट फेरि गाउँ फर्किएर इलाम क्याम्पसमा मानविकी संकाय अर्थात् बीए अर्थशास्त्र र गणित विषय लिएर स्नातक अध्ययन गरेँ,’ उनले सुनाए, ‘गाउँकै महेन्द्ररत्न बहुमुखी क्याम्पसमा पढेँ । तत्कालीन राजा स्वर्गीय वीरेन्द्रकी छोरी स्व. श्रुति शाह बोर्ड टप भइन्, म दोस्रो भएँ ।’ उनी स्नातकमा श्रुतिका प्रतिस्पर्धी बने । पोख्रेलको धेरै पढ्ने इच्छा थियो । स्नातकमा अर्थशास्त्र र गणित पढ्दा उनले केही समय इलामको निजी विद्यालयमा पढाउन थाले । बोर्डिङमा पढाउँदा केही पैसा आर्जन गरेपछि उनी डिग्री हासिल गर्ने उद्देश्यका साथ फेरि काठमाडौंमा आए । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागमा अर्थशास्त्र विषय लिएर भर्ना भए ।  ‘आफ्नै खर्चमा काठमाडौं पढ्न आएँ । बिहान कलेज जान्थेँ । १० बजेपछि बल्खुको कमल बोर्डिङमा पढाउँथे । १० बजे नै आउनुपर्ने भएकाले एउटा क्लास भने छुट्थ्यो,’ उनले भने, ‘विद्यालयमा जहिले पनि फस्ट हुन्थेँ । त्यो ट्रेण्ड काठमाडौं आएर पनि कायम राखेँ । स्नातकोत्तर पहिलो वर्षमा पनि पहिलो नै भएँ ।’  जापानमै छँदा गोल्ड मेडलिष्ट स्नातकोत्तर दोस्रो वर्षको नतिजा आइसकेको थिएन, जापान जाने अवसर आयो । जापानको ओशाका सांघायू युनिभर्सिटीले त्रिभुवन विश्वविद्यालयसँग सम्झौता गरेर अर्थशास्त्र र व्यवस्थापनका उत्कृष्ट विद्यार्थीलाई ६ महिनाका लागि एउटा कोर्स (ननडिग्री रिसर्च कोर्स) दिने अभ्यास थियो । अर्थशास्त्र विभागबाट २ जना र व्यवस्थापन विभागबाट २ जना गरेर ४ जना जापान पुगे ।  ‘सेकेण्ड इयरको पढाइ सकिएको थियो । तर, रिजल्ट आएको थिएन । हामीले छात्रवृत्तिमा जापानको ओशाकामा जाने अवसर पायौं । म जापान रहँदा नै रिजल्ट आयो । सेकेण्ड इयर पनि प्रथम भएँ र मास्टर्समा गोल्ड मेडलिष्ट हुन सफल भएँ,’ अर्थशास्त्रमा गोल्ड मेडलिष्ट हुँदाको अनुभव सुनाउँदै उनले भने, ‘एमए इकोनोमिक-२०५७ को गोल्ड मेडलिष्ट भएपछि म जापानबाट फर्किएँ ।’ त्यसपछि सुरु भयो राष्ट्र बैंकको यात्रा  तत्कालीन समयमा नेपाल राष्ट्र बैंकले टियू टपरलाई सोझै राष्ट्र बैंकमा रोजगारी दिने व्यवस्था थियो । जबकि पोख्रेलले त्यतिबेलासम्म पनि केन्द्रीय बैंक देखेका थिएनन् । उनले राष्ट्र बैंकको उक्त अवसर प्राप्तका लागि निवेदन दिए र पहिलो नम्बरमा नाम निकाले ।  ‘विगतदेखि राष्ट्र बैंकले गोल्ड मेडलिष्टलाई सोझै प्रवेश दिन्थ्यो । व्यवस्थापन र अर्थशास्त्रको गोल्ड मेडलिष्टमध्येबाट २ जनालाई राष्ट्र बैंकले जागिर दिन्थ्यो । त्यतिबेला पुरानासहित ६ जना गोल्ड मेडलिष्टको आवेदन परेको थियो । मेरो एक नम्बरमा नाम निस्कियो भने बामदेव पौडेलजीको दोस्रो नम्बरमा । बामदेवजी अहिले क्यानडामा प्रोफेसर हुनुहुन्छ,’ राष्ट्र बैंकमा प्रवेश गर्दाको क्षण सम्झिँदै उनले भने ।  विसं २०५८ मा सहायक निर्देशकमा राष्ट्र बैंक प्रवेश गरेका उनले पहिलो वर्ष नियमन विभागमा काम गरे । राष्ट्र बैंक प्रवेश गरेको एक वर्ष थियो, उनी फेरि पीएचडी स्कलरसिपमा जापान उडे ।  ‘जापानी राजदूतावासले प्रत्येक वर्ष स्कलरसिप खुलाउँथ्यो । राष्ट्र बैंकमा एक वर्ष भइसकेको थियो, दूतावासले स्कलरसिप खुलाएको बेलामा पीएचडीका लागि आवेदन दिएँ र नाम निस्कियो । त्यसपछि म पढ्नका लागि सन् २००२ मा जापान गएँ । करिब ४ वर्ष जति जापान बसेर आएँ । ओशाका यूनिभर्सिटीमा इकोनोमिक्समा पीएचडी गरें । त्यसपछि राष्ट्र बैंकको जागिरलाई निरन्तरता दिएँ,’ उनले सुनाए ।  बैंकर्स ट्रेनिङ सेन्टर (बीटीसी) मा डेढ वर्ष, जनकपुर कार्यालयमा १३ महिना, पोखरा कार्यालयमा १५ महिना र करिब २ वर्ष गभर्नर कार्यालयमा काम गरेका उनले अधिकांश समय राष्ट्र बैंकको अनुसन्धान विभागमा बिताए । गभर्नर कार्यालयमा रहँदा सहायक प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी निभाएका उनले अन्तर्राष्ट्रिय विभाग पनि हेर्थे । र, विसं २०८२ जेठ १३ गते कार्यकारी निर्देशकमा बढुवा भएपछि ५ महिना बैंकिङमा विभागमा रहेर काम गरेका उनी हाल मौद्रिक व्यवस्थापन विभागमा छन् । विवाह गर्न जापानबाट फर्किए  डा. डिल्लीराम पोख्रेल आजकल काठमाडौंको धुम्बाराहीमा बस्छन् । राष्ट्र बैंकको जागिरले जग्गा जमिन किनेर काठमाडौंमा घर बनाउन त्यति सम्भव छैन । उनले पैसाको जोहो गर्दै जग्गा किने । जग्गाको भाउ बढेपछि बिक्री गरेर घर बनाए । ‘राष्ट्र बैंकमा आएपछि काठमाडौंमा घर बनाएँ । राष्ट्र बैंकले कर्मचारीहरूलाई कर्जा दिन्छ, त्यही सुविधा उपभोग गरेर काठमाडौंमा घर बनाएको हुँ,’ उनले सुनाए, ‘कर्जा लिएर जग्गा किनियो । त्यो जग्गाको भाउ बढ्यो । क्यापिटल गेन भयो । त्यसैबाट घर बनाउन सजिलो भयो । पैतृक सम्पत्ति पनि थिएन । इलामको सम्पत्तिले भ्याउँदैनथ्यो ।’ ‘२०६० सालमा जापानमा थिएँ । जापानमा छँदा छुट्टीमा आएको बेला विवाह गरेँ,’ उनले पारिवारिक कुरा सुनाउँदै भने ।  राष्ट्र बैंकलाई के दिए ?  पोख्रेललाई राष्ट्र बैंकले ठूलो प्लेटफर्म दियो । काम गर्ने अवसर दियो । तर, तपाईंले राष्ट्र बैंकका लागि के दिनु भयो भन्ने प्रश्नमा उनले भने, ‘मैले आफूले सकेको राष्ट्र बैंकलाई धेरै दिएँ जस्तो लाग्छ । जुन तहमा काम गरियो, त्यो अनुसारको योगदान गरेको छु । जीडीपी प्रोजेक्सन, मनिटरिङ प्रोजेक्सन, मनिटरिङ सर्भे लगायतमा योगदान दियौँ । सैद्धान्तिक रुपमा जे पढेका थियौं, त्यो हामीले अभ्यास गर्याैं र नतिजा पनि राम्रो आयो ।’ उनी पढिसकेपछि अर्थशास्त्री वा प्राध्यापक बन्न चाहन्थे । तर, परिस्थितिले राष्ट्र बैंकमा ल्याएको उनले सुनाए ।  ‘म पढेपछि के गर्छु भनेर सोच्थेँ, त्यो बेलामा कुनै कलेजमा पढाउँछु भन्ने थियो । तर, परिस्थितिले घुमाउँदै राष्ट्र बैंकमा ल्यायो । तर, यहाँ आइसकेपछि आउनुपर्ने ठाउँ राष्ट्र बैंक पो रहेछ भन्ने महसुस भयो । शैक्षिक विषय अभ्यास गर्ने ठाउँ राष्ट्र बैंक रहेछ,’ उनले अनुभव सुनाउँदै भने, ‘यदि म लेक्चरर थिएँ भने पढ्थेँ वा पढाउँथे मात्रै होला । तर, राष्ट्र बैंकमा पढ्ने हो र पढेको कुरा कार्यान्वयन गर्ने हो ।’  ‘कलेजमा पढ्दा अर्थतन्त्र, जीडीपी क्याल्कुलेसन, मौद्रिक सर्वेक्षण, मनिटरिङ पोलिसीबारे सैद्धान्तिक ज्ञान मात्रै हासिल गरेका थियौं,’ उनले भने, ‘तर, राष्ट्र बैंकमा आएपछि साँच्चै मौद्रिक नीति कसरी काम गर्दाे रहेछ, कसरी बनाइँदो रहेछ भनेर बुझ्ने अवसर पनि पायौं । त्यसैले जुन तहमा रहेर काम गर्याैं, त्यसमा बेस्ट दिएका छौं ।’ त्याे अविस्मरणीय क्षण  उनले राष्ट्र बैंकमा काम गर्छु भन्ने सोचका थिएनन् । पढाइ राम्रो थियो । तर, आर्थिक स्थिति कमजोर भएका कारण व्यापार व्यवसाय गर्ने अवस्था थिएन । स्नातकोत्तरपछि अध्यापन तथा अनुसन्धानकर्ता सोचेका थिए । उनी कर्ममा विश्वास गर्छन् । तर, धेरै कर्म गर्ने मान्छेले फल नपाएको पनि देखेका छन् । त्यसैले उनी कर्मसँगै भाग्यमा पनि उत्तिकै विश्वास गर्छन् । त्यसैले उनले राष्ट्र बैंक प्रवेशको पललाई अविस्मरणीय क्षणका रुपमा लिन्छन् । ‘मैले आर्थिक अनुसन्धान विभागमा धेरै काम गरें । म सम्झिन्छु- हामीले कुल गार्हस्थ उत्पादन भनेर पहिलोपटक काठमाडौं उपत्यकाको जीडीपी निकालेका थियौं । नेपालमै पहिलो पटक क्षेत्रीय वा कुनै क्षेत्रलाई लिएर जीडीपी क्याल्कुलेसन गरेका थियौं । अहिले क्षेत्र, प्रदेश, क्षेत्र क्षेत्रको जीडीपी निकालिन्छ,’ उनले भने । ‘अनुसन्धान विभागमा बस्दा धेरै रिपोर्टका काम गरियो । मौद्रिक नीतिलाई कसरी सुधार गर्न सकिन्छ, मौद्रिक नीति तर्जुमा गर्दा के कस्ता गर्नुपर्ने हो, कार्यविधिमा धेरै काम गर्याैं,’ उनले भने ।  पछिल्लो समय ब्यालेन्स अफ पेमेन्ट (बीओपी) को पाँचौं संस्करणबाट छैटौं संस्करणमा माइग्रेट हुने कार्य चलिरहेको थियो । आर्थिक अनुसन्धान विभागमा रहँदा उनले त्यसमा पनि विशेष योगदान पुर्याएको सम्झिन्छन् ।  बोर्डिङको तलब र राष्ट्र बैंकको तलब  उनले जुन बेला जेजस्तो अवसर पाएर काम गरे त्यसमा उनी सन्तुष्ट छन् । बोर्डिङमा पढाउँदा मासिक चार हजारको हाराहारीमा उनको तलब थियो । तर, अहिले राष्ट्र बैंकमा उनले लाखौं तलब लिन्छन् । उनी विगतमा त्यसमै सन्तुष्ट थिए । आज थप सन्तुष्ट छन् ।  ‘जुनबेलामा मैले बोर्डिङमा पढाएँ, त्यो बेलाको समयमा पैसाको भ्यालू पनि थियो । मैले सुरुमा इलाममा पढाउँदा मासिक  ३५ सय/४ हजार रुपैयाँ तलबमा काम गरें,’ उनले भने, ‘म राष्ट्र बैंकमा सुरुमा आउँदा ९/१० हजार रुपैयाँ तलब थियो । बोर्डिङको भन्दा दोब्बर हो । तर, समय परिस्थिति फरक थियो । इलाममा गाउँमा बस्दा थियो भने काठमाडौंमा डेरामा बसेर । डेराको खर्च पनि तिर्नुपर्थ्याे ।’ केन्द्रीय बैंक जस्तो संस्थामा काम गर्ने अवसर पाउँदा उनी सन्तुष्ट छन्, खुसी छन् । अहिले राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशक छन् । राष्ट्र बैंकले तीमध्येबाट दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने व्यवस्था छ । त्यसमा लागि पोख्रेल आफू अब्बल ठान्छन् । 

४३ करोड नयाँ नोट छाप्न २ अर्ब ४३ करोड रुपैयाँ लागत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गरेको पहिलो निर्णय कार्यान्वयनमा आएको छ । पौडेलले राष्ट्र बैंकको गभर्नरको पदभार ग्रहण गर्दै गत जेठ ७ गते ५० रुपैयाँ र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने निर्णय गरेका थिए ।  पौडेलको पहिलो निर्णय बमोजिम राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ दरका ४३ करोड थान र २१ अर्ब रुपैयाँ बराबरको ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्ने प्रक्रिया अघि बढेको हो । दुबै दरका नयाँ नोटमा हालका गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार १ हजार रुपैयाँ दरका ४३ करोड नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर अर्थात् पछिल्लो विनिमय दर अनुसार २ अर्ब ४३ करोड रुपैयाँ लागत लाग्नेछ । उक्त लागतका आधारमा एउटा १ हजार रुपैयाँको एउटा नोट छाप्न ५.६५ रुपैयाँ लागत लाग्ने राष्ट्र बैंक स्रोतले जनाएको छ ।  यस्तै, ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डरल अर्थात् १ अर्ब ४८ करोड रुपैयाँ लागत लाग्ने विभागले जनाएको छ । सो लागतका आधारमा एउटा ५० रुपैयाँको नोट छाप्न ३.५२ रुपैयाँ लागत लाग्ने राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार ५० रुपैयाँ र १ हजार रुपैयाँ दरका नयाँ नोट डिजाइन, छपाई तथा आपूर्तिको लागि चीनको बेइजिङमा रहेको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनसँग सम्झौता भएको छ ।  ५० रुपैयाँ दरका नयाँ नोट छाप्न गत कात्तिक २५ गते र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्न मंसिर ११ गते चाइना बैंकनोट प्रिन्टिङसँग सम्झौता भएको विभागले जनाएको छ । विभागका अनुसार ५० रुपैयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि गत साउन ९ गते र १ हजार रुपैयाँका नोटका लागि भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।