धितोपत्र बोर्डको निर्देशनले इन्भेष्टमेन्ट कम्पनी सकसमा, धमाधम सेयर बिक्री गर्नुपर्ने बाध्यता

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको मंसिर ३ गते बसेको सञ्चालक समिति बैठकले एउटा निर्णय गर्याे ९ वटा बैंक, बीमा र लघुवित्त वित्तीय संस्थको सेयर बिक्री गर्ने । कम्पनी सचिव प्रताप अधिकारीका अनुसार कुमारी बैंक, नेशनल माईक्रोफाइनान्स लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्त, मेरो माईक्रोफाइनान्स लघुवित्त, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स (तत्कालीन महालक्ष्मी लाइफ), हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेशनल फण्ड म्यानेजमेन्ट र नेशनल लघुवित्तमा रहेको सेयर बिक्री गर्ने निर्णय भएको छ ।  रकम आवश्यक परेर एनआरएनले सेयर बिक्री गर्न लागेको भने होइन । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत असार ९ गते जारी गरेको एक निर्देशनका कारण बाध्य भएर ती कम्पनीको सेयर बिक्री गर्नु परेको अधिकारीले बताए । उनका अनुसार कुमारी बैंकको ५ लाख ३० हजार कित्ता, नेशनल माईक्रोफाइनान्सको १ लाख ७ हजार ४८४ कित्ता, नेरुडे मिर्मिरेको ७४ हजार १०६ कित्ता, मेरो माईक्रोफाइनान्सको १ लाख ६ हजार ४२४ कित्ता (२८ हजार २१५ कित्ता साधारण सेयरसहित), प्रभु महालक्ष्मीको ५ लाख ९४ हजार कित्ता, हाइड्रोइलेक्ट्रिसिटिको ४० हजार १ कित्ता, नेशनल फण्डको २ लाख २५ हजार कित्ता र नेशनल लघुवित्तको १ कित्ता गरी १६ लाख ७७ हजार १६ कित्ता सेयर बिक्रीमा राखिने छ ।  गत असार ९ गते धितोपत्र बोर्डले उर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संस्थाको संस्थापक सेयर बाहेक अन्य सेयर र आईपीओ प्राथमिक तथा दोस्रो बजार मार्फत खरिद नगर्न निर्देश दिएको थियो । साथै, यी बाहेक क्षेत्रमा लगानी गरिएको सेयर ६ महिनाभित्र बिक्री गर्न बोर्डले निर्देशन छ । धितोपत्र बोर्डको निर्देशनले लगानी गर्ने उद्देश्य राखेर सेयर बजारमा सूचीकृत रहेका एनआरएनसहित सीईडीबी होल्डिङ्गस, इमर्जीङ नेपाल र हाथवे इन्भेष्टमेन्ट नेपाललाई पनि यतिबेला तोकिएका क्षेत्र बाहेकका कम्पनीमा रहेको सेयर बिक्री गर्नुपर्ने बाध्यता छ ।  एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरन्जन फुयालका अनुसार धितोपत्र बोर्डको निर्देशन बमोजिम सेयर बिक्री प्रक्रिया अघि बढाइएको हो । बोर्डले तोकेको क्षेत्रभन्दा बाहिरि रहेका सेयर बिक्रीमा राखिएको उनको भनाइ छ । ‘केही समय अगाडि धितोपत्र बोर्डले नीति पुनरावलोकन गरेर इन्भेष्टमेन्ट कम्पनीलाई कुन–कुन क्षेत्रमा लगानी गर्ने भनेर क्षेत्र छुट्याएको छ । बोर्डबाट तोकेका क्षेत्रभन्दा बाहिरका सेयर बिक्री गर्न निर्देशन आएको थियो । धितोपत्र बोर्डको निर्देशन बमोजिम नै हामीले उक्त सेयर बिक्रीमा राखेका हौं,’ सीईओ फुयालले भने, ‘सूचीकृत कम्पनीहरुमा लगानी गर्न पाउने हो । तर, बोर्डले तोकेका हस्पिटालिटी, माइनिङ, हाइड्रो लगायत क्षेत्रका कम्पनीमा मात्रै लगानी गर्न पाइन्छ । त्यसकारण वित्तीय क्षेत्रका कम्पनीमा रहेको सेयर बिक्रीमा राखेका हौं ।’ उनका अनुसार एनआरएनको स्वामित्वमा रहेका सेयर बिक्रीका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकका रुपमा समेत नियुक्त गरिएको छ । अब मुक्तिनाथले लिलामीको सूचना निकालेर सेयर बिक्री प्रक्रिया अगाडि बढाउने उनले बताए । इन्भेष्टमेन्ट कम्पनीले फाइनान्सियल सेक्टरमा लगानी गर्नु राम्रो नमानिने भएकाले धितोपत्र बोर्डको उक्त निर्णय सही रहेको उनको भनाइ छ ।  ‘तर, यति धेरै संस्थापक सेयर बिक्रीमा राख्दा सहजै रुपमा बिक्री हुँदैन कि भन्ने चिन्ता छ । अहिले प्रमोटरको सेयर खरिदबिक्री पनि असाध्यै न्यून छ । हामी खुला माध्यमबाट नै जान लागेको छौं । तैपनि सहजै रुपमा सेयर बिक्री हुँदैन भन्ने चिन्ता छ,’ उनले भने, ‘६ महिना भित्र बिक्री गरिसक्न भनेको छ । राष्ट्र बैंकको निर्देशिकाले विद्यमान संस्थापकलाई नै ३५ दिनको समय दिनुपर्ने व्यवस्था गरेको छ । यदि प्रमोटरले किनेनन् भने मात्रै सर्वसाधारणका लागि बिक्री खुला गर्नुपर्छ । त्यसैले ६ महिनाभित्र बिक्री गर्न त्यति सम्भव छैन ।’ हाथवे इन्भेष्टमेन्ट नेपालका सीईओ सन्दीप शाह हाथवे इन्भेष्टमेन्टको पनि सेयर बिक्रीका लागि आन्तरिक प्रक्रिया अघि बढाइसकेको बताउँछन् । कम्पनीले आईपीओ जारी गर्नु भन्दा अगाडि नै खरिद गरेको सेयर रहेको सीईओ फुयालको भनाइ छ ।  ‘हामीले पनि सेयर बिक्रीका लागि आन्तरिक रूपमा छलफल गरिरहेका छौं । बैंक तथा वित्तीय संस्थामा आईपीओ जारी गर्नु भन्दा अगाडि नै सेयर खरिद गरेका हौं । आईपीओ जारी पछि थप लगानी गरेको छैनौं,’ सीईओ फुयालले भने, ‘हाथवेको इतिहास डेढ दशक बढी भइसक्यो । अब कति बिक्री हुन्छन् वा हुँदैनन् हामीले कोशिस गर्ने हो । सेयर बेचेर फाल्नेभन्दा पनि उपयुक्त लगानीकर्ता खोजेर बिक्री गर्न चाहेका छौं ।’ सीईओ फुयालका अनुसार सेयर बिक्रीबाट प्राप्त रकमलाई सञ्चित मुनाफामा जम्मा गरिनेछ । आफूहरू सेयर बिक्रीबाट पछि नहटेको तर, प्रक्रिया लामो भएकाले केही समय लाग्न सक्ने उनको भनाइ छ । ‘हामी बिक्री गर्नमा पछि हटेका छैनाैं । उचित मूल्य पायो भने बिक्री गर्ने हो । बैंक तथा वित्तीय संस्था र बीमाको संस्थापक सेयर बिक्री प्रक्रिया झण्झटिलो छ । बिक्री हुन्छ तर समय लाग्छ,’ सीईओ फुयालले भने,‘हामीले सेयर बिक्री गरेर जाँदा सम्बन्धित कम्पनी बिग्रिनु पनि भएन । सबै विषयलाई मध्यनजर गरेर सेयर बिक्री गर्ने हो ।’ नेपाल धितोपत्र बोर्ड सहायक प्रवक्ता तोलाकान्त न्यौपानेका अनुसार उर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित क्षेत्रका कम्पनीमा मात्रै लगानी गर्न पाउने व्यवस्था बमोजिम लगानी कम्पनीलाई आईपीओ जारी गर्न दिएको हो । लगानी कम्पनीले बोर्डको सर्त विपरीत लगानी गरेको भेटिएपछि ६ महिनाभित्र बिक्रीका लागि निर्देशन दिएको उनको भनाइ छ । ‘तत्कालनी समयमा लगानी कम्पनीलाई उर्जा, यातायात र सञ्चार क्षेत्रमा मात्रै लगानी गर्न पाउने व्यवस्था थियो । त्यतिले मात्रै नपुग्ने भएपछि ६ वटा क्षेत्र थपेका थियौं । तर, ती कम्पनीले बोर्डले तोकेको नियम उल्लङ्घन गरेपछि सेयर बिक्रीका लागि निर्देशन दिएको हो,’ उनले भने, ‘जुन क्षेत्रमा पुँजी आवश्यक हो, त्यतातिर पुँजी परिचालन होस् भनेर लगानी कम्पनीर्ला कडाई गर्न खोजेकै हो ।’  कुन कम्पनीकाे कति लगानी ? हाथवेले आव २०८१/८२ सम्म चन्द्रागिरि हिल्समा ७ हजार कित्ता साधारण सेयर लगानी गरेको छ । साथै, हाथवेका अनुसार नेपाल वेयर हाउजिङ्ग कम्पनीको १ लाख ५० हजार कित्ता, सानिमा मिडल तमोर हाइड्रोपावरको १ लाख ११ हजार ८३ कित्ता, सर्वोतम सिमेन्टको १ लाख २७ हजार ४५६ कित्ता, मिड सोलु हाइड्रोपावरको १ लाख कित्ता संस्थापक सेयर रहेको छ ।  कम्पनीका अनुसार सूचिकृत नभएको कम्पनीहरुमा डिस मिडिया नेटवर्कको ८ लाख १३ हजार ५४० कित्ता, लुम्बिनी केवलकारको ६ लाख २७ हजार ३१२ कित्ता, हाइलाइफ एग्रो एण्ड फुड्स ईण्डष्ट्रिजको १० लाख ५० हजार कित्ता, सर्वोत्तम स्टिल्सको १ लाख ८० हजार कित्ता र आध्यन्त फण्ड म्यानेजमेन्टको ५ लाख कित्ता संस्थापक सेयर रहेको कम्पनीले जनाएको छ ।  इमर्जीङ नेपालले प्रभु हेलिकप्टर, सभा पोखरी हाइड्रोपावर, इमर्जिङ्ग भेन्चर, केयर रेटिङ्ग्स, पिपुल्स इनर्जी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बैंकिङ फाईनान्स एण्ड इन्स्योरेन्स ईन्स्टिच्यूट अफ नेपाल र होटल एलिस द वण्डर इनमा लगानी गरेको जनाएको छ ।  कम्पनीका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्ममा नेपाल इनफ्रास्ट्रक्चर बैँकमा २७ करोड रुपैयाँ, बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपालमा ९९ लाख रुपैयाँ, केयर रेटिङ्ग्समा ५० लाख रुपैयाँ, पिपुल्स इनर्जिमा ५ करोड रुपैयाँ, होटल एलिस द वन्डर इनमा ८ करोड २५ लाख ६२ हजार ७ सय रुपैयाँ, इमर्जिङ्ग भेन्चरमा ६ करोड ५० लाख रुपैयाँ र सभा पोखरी हाइड्रोपावरमा २ करोड रुपैयाँ लगानी रहेको छ ।  सिईडिबि होल्डिङ्ग्सले आर्थिक वर्ष २०८०/८१ सम्ममा एलिभेसन इनर्जी म्यानेजमेन्ट, ईन्स्पायर क्लिन इनर्जी, खारे इन्भेष्टमेन्ट, कसुवा खोला हाइड्रोपावर, राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन, यूनिभर्सल पावर कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी र नेपाल पावर एक्सचेन्जमा लगानी गरेको छ ।  कम्पनीका अनुसार एलिभेसन इनर्जीमा ९ लाख १९ हजार कित्ता, ईन्स्पायर क्लिनमा ५२ लाख ३३ हजार १६२ कित्ता, खारे इन्भेष्टमेन्टमा ६४ लाख ६० हजार कित्ता, कसुवा खोलामा २ लाख ७ हजार ६३५ रुपैयाँ, राप्ती हाईड्रोमा १ लाख कित्ता, यूनिभर्सल पावरमा ४ लाख ७५ कित्ता, दोर्दी खोलामा १ लाख २० हजार कित्ता र नेपाल पावर एक्सचेन्जमा १० हजार कित्ता सेयर लगानी रहेको छ । 

एकै दिनमा ६ प्रतिशत ! क्रिप्टोकरेन्सी बजारमा वर्षकै सबैभन्दा ठूलो गिरावट

काठमाडौं । पछिल्लो २४ घण्टामा क्रिप्टोकरेन्सीको दुनियाँमा हलचल मच्चिएको छ । क्रिप्टो मार्केट क्याप ६ प्रतिशतभन्दा धेरै घटेर ३ लाख करोड डलरभन्दा तल झरेको छ । बिटकोइन र इथेरियमसहित संसारका ठूला क्रिप्टोमा जबरजस्त गिरावट आएको छ । क्रिप्टोमा यो गिरावट केही दिनदेखि नै जारी छ । तर लामो समयपछि २४ घण्टामा यति ठूलो गिरावट देखिएको हो । कोइन मार्केटक्यापका अनुसार बिहीबार बिहान ९ः३० बजे क्रिप्टोकरेन्सीको मार्केट क्याप ३.१४ लाख करोड डलर थियो । आज बिहान ९ः३० बजे यो घटेर २.९५ लाख करोड डलर भएको छ । यसरी २४ घण्टामा ६ प्रतिशतभन्दा बढी गिरावट आएको छ ।  क्रिप्टोको ‘फियर एण्ड ग्रीड इन्डेक्स’ ११ मा झरेको छ, जसले बजारमा डरको माहोल रहेको संकेत गर्छ । यसको मतलब लगानीकर्ताहरू क्रिप्टोकरेन्सी बेचिरहेका छन् । यो इन्डेक्स शून्यदेखि १०० सम्म हुन्छ । इन्डेक्स शून्य नजिक जति हुन्छ, बजारमा डर त्यति नै धेरै भएको मानिन्छ । ठूला क्रिप्टोमा ठूलो गिरावट पछिल्लो २४ घण्टा बिटकोइनसहित धेरै ठूला क्रिप्टोका लागि निकै खराब रहेको रह्यो । यिनमा ७ प्रतिशतभन्दा बढी गिरावट आएको छ । यो ९० हजार डलरभन्दा धेरै तल झरेको छ । बिहीबार बिहान ९ः३० बजे बिटकोइन ७.१७ प्रतिशत गिरावटसहित ८५ हजार ७५० डलरमा कारोबार भइरहेको थियो । त्यस्तै, पछिल्ला ७ दिनमा बिटकोइन १३ प्रतिशतभन्दा बढी गिरावट आएको छ । इथेरियम, रिपल, सोलाना, कार्डानो आदिमा पनि २४ घण्टामा ७ प्रतिशतभन्दा बढी गिरावट आइसकेको छ । बिहान ९ः३० बजे इथेरियम ७.५३ प्रतिशत गिरावटसहित २ हजार ७९९ डलर, रिपल ७ प्रतिशत गिरावटसहित १.९७ डलर, सोलाना ७.२८ प्रतिशत गिरावटसहित करिब १३२ डलर र कार्डानो ७.८७ प्रतिशत गिरावटसहित ०.४२ डलरमा कारोबार भइरहेका थिए । कोइन मार्केट क्यापका अनुसार टप १०० सबै क्रिप्टो रातो संकेतमा कारोबार भइरहेका छन् अर्थात् सबै घाटामा छन् । धेरै क्रिप्टोमा २४ घण्टामै १० प्रतिशतभन्दा धेरै यहाँसम्म कि करिब २० प्रतिशतसम्म गिरावट आएको छ । टनकोइन, क्यान्टन, नियर प्रोटोकल, स्टार्कनेट, ड्यास, स्टोरी, मोर्फो, एमवाईएक्स फाइनान्स आदि यिनमध्ये परेका छन् । क्रिप्टो करेन्सीमा किन गिरावट ? डिजिटल मुद्रामा ठूलो गिरावट आउँदा बजार मूल्य अरबौं डलरले खुम्चिएको छ । बजार विश्लेषकहरू अमेरिकी फेडरल रिजर्भले निकट भविष्यमा ब्याजदर घटाउने सम्भावना न्यून देखिएको हुँदा जोखिमयुक्त सम्पत्तिमा लगानीकर्ता पछाडि हट्न थालेको बताउँछन् ।  यससँगै बजारमा ठूलो मात्रामा लिइएका उधारो पोजिसन (लेभरेज ट्रेड) मूल्य घटेपछि जबरजस्ती बन्द (लिक्विडेसन) हुन थालेका छन् ।  लेभरेज ट्रेड भनेको सानो पूँजी प्रयोग गरेर धेरै ठूलो रकमजस्तै प्रभाव पार्नेगरी गरिएको ट्रेड हो । लेभरेजले ट्रेडरलाई ब्रोकर वा एक्सचेन्जबाट धितो पूँजी लिएर आफ्नो वास्तविक लगानीभन्दा धेरै गुणा ठूलो पोजिशन लिन अनुमति दिन्छ । उदाहरणका लागि यदि तपाईंले १०० डलर लगानी गर्नुभयो र दशौं गुणा लेभरेज प्रयोग गर्नुभयो भने तपाईंले १०० को नभई १ हजार डलर बराबरको ट्रेड गर्न सक्नुहुन्छ । ट्रेड एक्सचेन्ज स्रोतहरूका अनुसार एकै दिनमा लाखौं डलरका पोजिसनहरू लिक्विडेट भएका छन् । विश्लेषकहरूका अनुसार पछिल्लो महिना देखिएको मूल्यवृद्धिबाट धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री बढाएपछि बजारको उत्साह पनि कमजोर भएको छ । यसले मनोवैज्ञानिक असर घटाउँदै प्यानिक सेलिङ (सोच, विचारबिना, मूल्य घट्दै जाँदा पनि तुरुन्तै आफ्नो सम्पत्ति बेच्ने) को वातावरण बनाएको छ । प्राविधिक कारणले पनि बजार झनै कमजोर बनेको बताइन्छ । बिटक्वाइनले महत्त्वपूर्ण समर्थनस्तर (सपोर्ट लेभल) भत्काएपछि स्वचालित बिक्री अर्डरहरू सक्रिय भएर अर्को श्रृंखलाबद्ध गिरावट सुरु भएको हो । बजारमा तरलता (लिक्विडिटी) कमी देखिनाले ठूला विक्रेताहरूको कारोबारले समेत मूल्य माथि टिक्न नदिएको विश्लेषण छ । सबै क्रिप्टो डुब्दा जीक्यास चम्कियो, २ महिनामा १२०० प्रतिशतभन्दा बढी रिटर्न इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउने दौडमा रूस, भारतसँग समुद्री व्यापार बढाउन पहल

होटलमा लगानी थप्दै भीआईपी व्यवसायी, यी हुन् काठमाडौंमा बन्दै गरेका पाँचतारे होटल

काठमाडौं । काठमाडौं उपत्यकाको दृश्य पछिल्लो समय क्रेन र कंक्रिटको हलचलले बदलिएको छ । उपत्यकामा दर्जनभन्दा बढी पाँचतारे होटलहरू एकपछि अर्को निर्माण भइरहेका छन् । नयाँ परियोजनाहरू नक्सा पासको तयारीमा छन् भने केहीले २०२५ भित्रै सञ्चालनमा ल्याउने लक्ष्य लिएका छन् । तीव्र रूपमा बढ्दै गएको निर्माणले उपत्यकाको होटल बजारमा नयाँ प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको छ ।  लगानीकर्ताको उत्साह ठूलो छ, तर बजार भने त्यति सहज छैन । कोभिड-१९ महामारीपछि नेपालको पर्यटन क्षेत्र पूर्ण रूपमा उठ्न सकेको छैन । राजनीतिक तथा नीतिगत अस्थिरता र आर्थिक सुस्तताले सबैभन्दा बढी प्रभावित भएको होटल क्षेत्रको चुनौतीलाई सामना गर्दै ठूला व्यवसायीहरू होटल क्षेत्रमै लगानी बढाइरहेका छन् ।  अहिले पनि राम्रै होटल सञ्चालन गरिरहेका अधिकांश व्यवसायीहरुले थप नयाँ परियोजना सुरु गरिरहेका छन् । उनीहरूले चुनौतीमै बलियो सम्भावना देखेर एकपछि अर्को नयाँ होटल परियोजना सुरु गरिरहेका छन् । विदेशबाट फर्किएर स्वदेशै केही गर्छु भनेर एकपछि अर्को नयाँ परियोजनामा हात हालिरहेका कर्मा तेञ्जिङ हुन् वा लामो समय होटल क्षेत्रमै क्रियाशील रहेर बन्द भइसकेको अन्नपूर्ण होटलको सेयर बिक्री गरेर नयाँ सेयरधनी भित्र्याएकी सिर्जना राणाहरू नै किन नहुन् सबैले होटल क्षेत्रमा नयाँ अवसर र सम्भावना देखेका छन् ।  नेपाली व्यवसायीमाझ आकर्षक छवि बनाएका सिद्धार्थ राणा, होटल मेरियट सञ्चालन गरेर सफल व्यवसायीको परिचय बनाएका शशिकान्त अग्रवाल र आफूलाई अर्बपति भनेर चिनाउन मन पराउने विनोद चौधरीहरूले एकपछि अर्को नयाँ होटलमा लगानी थप्दा यो क्षेत्रमा थुप्रै अवसर रहेको बुझाइ अधिकांश व्यवसायीको छ ।  उपत्यकामा पाँचतारे होटलहरूको संख्या बढेसँगै प्रत्यक्ष रूपमा सेवा प्रतिस्पर्धा, रोजगारी र सहायक व्यवसायहरू विस्तार हुने अपेक्षा छ । चुनौती धेरै भए पनि लगानीकर्ताले उपत्यकाको भविष्यमा विश्वास गर्दै ‘फाइभ–स्टार रेस’लाई तीव्र बनाइरहेका छन् । त्यसैले त सुपरमार्केट व्यवसायमै व्यस्त मीनबहादुर गुरुङ र शिक्षाक्षेत्रमै सक्रिय उमेश श्रेष्ठहरू पनि हस्पिटालिटीमा छिरेका छन् । उसो त व्यवसायी शेष घलेले सुविधा सम्पन्न होटल शेराटन निर्माण गर्छु भनेर तम्सिएको वर्षौं बित्यो । उनले हालसम्म होटल शेराटनको निर्माण सम्पन्न गरिसकेका छैनन् । उनी सो परियोजनामा समयमै सफल हुन नसके पनि व्यवसायीको लगानीका लागि आकर्षणको क्षेत्र भने हस्पिटालिटी नै देखिएको छ । होटल विभागका अनुसार काठमाडौंमा एक दर्जन बढी पाँचतारे होटलहरू निर्माणाधीन अवस्थामा छन् । आज हामीले काठमाडौंमा निर्माणाीधीन अवस्थामा रहेका पाँचतारे होटलको बारेमा सामग्री तयार गरेका छौं ।  ‘द ओबरोय काठमाडौं’ काठमाडौंको रविभवनमा ७ अर्ब रुपैयाँ बढी लगानीमा सुविधा सम्पन्न पाँचतारे होटल निर्माणाधीन अवस्थामा छ । होटलको निर्माण कार्य सुरु भइसकेको छ ।  सिप्रभ्य होटल एन्ड रिसोर्ट प्रालिले ७ अर्ब १२ करोड ४० लाख रुपैयाँ लगानीमा लम्जरियस होटल ‘द ओबरोय काठमाडौं’ होटल निर्माण गर्न लागेको हो । उक्त होटल सन् २०२९ को जुनसम्ममा निर्माण सम्पन्न गरी व्यावसायिक कारोबार गर्ने योजना बनाएको छ ।  कम्पनीअनुसार यो होटल निर्माण सम्पन्न सन् २०२६ को डिसेम्बरसम्ममा सम्पन्न हुनेछ । व्यवसायिक कारोबार भने सन् २०२९ बाट गर्ने कम्पनीले लक्ष्य लिएको छ । कम्पनीले ७५ वटा लक्जरियस कोठाको सुविधासहित होटल निर्माण गर्ने भएको छ । कम्पनीले प्रतिकोठाको लागत ९ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । कम्पनीमा सिद्धार्थ राणाको सबैभन्दा बढी स्वामित्व रहेको छ । कम्पनीमा राणाको ६० प्रतिशत र एम/एस सूर्य इन्टरप्राइजेज प्रालि र एम/एस एसआर होल्डिङको २०/२० प्रतिशत स्वामित्व छ । होटल निर्माणका लागि कम्पनीले ४ अर्ब २७ करोड ४० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि रेटिङ गराइसकेको छ । समिट होटल ललितपुरको कुपण्डोल हाइटमा चौधरी समूह, एनई समूह र समिट समूहको संयुक्त लगानीमा आधुनिक पाँचतारे समिट होटलसहितको अपार्टमेन्ट निर्माणाधीन अवस्थामा छ । यो होटल व्यवस्थापन मेरियट इन्टरनेशनलको पाँचतारे लक्जरी ब्रान्ड ‘सेन्ट रिजिस’ले गरेको छ ।  यो परियोजनामा जग्गासहित साढे ७ अर्ब लगानी रहेको छ ।  होटलमा १० हजारभन्दा बढी कोठाहरू रहेका छन् । २ वटा अपार्टमेन्टमा समिट रेसिडेन्सेस् र समिट सिग्नेचर रेसिडेन्सेस् रहने छ ।  अपार्टमेन्टका भवन ग्राउन्डबाहेक १७ तलाको रहनेछ । विश्वका शौखिन खर्चालु पर्यटकलाई लक्षित गरेर यो ब्रान्ड ल्याउन लागिएको कम्पनीले जनाएको छ । ‘फोर प्वाइन्ट्स बाई शेराटन’  काठमाडौंको ठमेलमा मनाङ हस्पिटालिटी प्रालिले ‘फोर प्वाइन्ट्स बाई शेराटन’  ब्रान्डअन्तर्गत पाँचतारे होटल पुनःनिर्माण गर्न लागेको छ । कम्पनीले ठमेलकै पुरानो होटल वैशालीको जग्गा र भवन खरिद गरेर पुनःनिर्माण गरी पाँचतारे होटल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । यो होटलमा सबैभन्दा धेरै सेयर मनाङ हस्पिटालिटीका अध्यक्ष कर्मा तेन्जिङको रहेको छ । उनको यो होटलमा ६३ प्रतिशत सेयर स्वामित्व रहेको छ । कर्मा तेन्जिङ कर्मा ग्रुपका अध्यक्षसमेत हुन् । उनको घरजग्गा, शिक्षा र हस्पिटालिटी लगायत क्षेत्रमा लगानी रहेको छ । तेन्जिङ अर्थशास्त्रमा विद्यावारिधि गरेका एक अनुभवी व्यवसायी हुन् । कम्पनीले म्यारियट इन्टरनेशनललाई होटलको व्यवस्थापन दिने उल्लेख गरेको छ । कम्पनीले कुल २ अर्ब ६७ करोड ७० लाख लागतमा होटल पुनःनिर्माण गर्न लागेको हो । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी रहनेछ । कम्पनीले होटलको पुनःनिर्माण गरे सन् २०२७ मा आंशिक र २०२८ मा पूर्ण व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । कम्पनीले बैंकबाट दीर्घकालीन २ अर्ब र अल्पकालीन अवधिको लागि ३ करोड गरी कुल २ अर्ब ३ करोड रुपैयाँको कर्जाका लागि रेटिङ पनि गराइसकेको छ । हाल यो योजना पुनःनिर्माणको प्रारम्भिक चरणमा रहेको छ। ले मेरेडिएन काठमाडौंको महाराजगञ्जमा ‘ले मेरिडिएन’ निर्माणाधीन छ । शैक्षिक, पदयात्रा तथा आरोहणजस्ता पर्यटनसम्बन्धी व्यवसायहरूमा संलग्न कर्मा तेञ्जिङले ४ अर्ब २ करोड रुपैयाँ लागतमा ‘ले मेरिडियन’ होटलको निर्माणको प्रक्रिया अगाडि बढाएका हुन् । होटलको व्यवस्थापनमा लक्जरी होटल म्यानेजमेन्ट (बीभीआई) रहेको छ । होटल २ तलाको बेसमेन्टसहित १२ तला र १७० कोठा हुनेछन् । होटलमा क्यासिनो, ठूलो ब्यांक्वेट हल, मिटिङ हल, स्वीमिङ पुल, जीम, साउना, स्पा, रेष्टुरेन्ट तथा बारलगायत आधुनिक सुविधा हुनेछन् । कर्मा ग्रुपले सन् २०२६ को अन्त्यसम्म होटल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेको छ ।  होटलसँगै कर्मा ग्रुपले २ अर्ब रुपैयाँको लगानीमा अपार्टमेन्ट पनि बनाउँदैछ । उक्त ग्रुपले महाराजगञ्जमा १६२ युनिटको कर्मा रेसिडेन्सी अपार्टमेन्ट बनाउने भएको हो । अपार्टमेन्टमा पनि होटलमा जस्तै सुविधा उपलब्ध हुनेछन् । जीम, साउना, स्वीमिङ पुल, कम्युनिटी हल, खुला ठाउँलगायत सुविधा अपार्टमेन्टमा बस्नेले उपभोग गर्न पाउनेछन् । अन्नपूर्ण होटल  पाँच दशक पुरानो नेपालको पहिलो पाँचतारे होटेल अन्नपूर्ण पुनःनिर्माणको कार्य भइरहेको छ । यो होटल कोरोना भाइरसको महामारी सुरु भएपछि २०७६ चैतमा भएको लकडाउनपछि नै होटेल व्यावसायिक सञ्चालनमा छैन । काठमाडौंको दरवारमार्गमा अवस्थित यो  होटलकोे सञ्चालक सिर्जना राणा हुन् । दरवारमार्गमा करिब ४४ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा अहिले मीनबहादुर गुरुङ र उमेश श्रेष्ठ पनि लगानीकर्ता थपिएका छन् ।  इन्टरकन्टिनेन्टल काठमाडौं  लाजिम्पाटस्थित होटल सांग्रिलालाई इन्टरकन्टिनेन्टल काठमाडौंको रूपमा पुनस्र्थापना गर्न लागिएको छ । लामो समयदेखि बन्द रहेको यो होटलको व्यवस्थापन बेलायतको इन्टरकन्टिनेन्टल होटल्स ग्रुपले गरेको छ । २२४ कोठा क्षमता भएको यो होटल अलडे डाइनिङ, स्वीमिङ पुल, बिजनेस सेन्टर, इन्डोर आउटडोरको सुविधा रहेको छ । होटल लालचन काठमाडौंको बाँसबारीमा होटल लालचान निर्माणाधीन अवस्थामा रहेको छ । कम्पनीका अनुसार निर्माण कार्य ६० प्रतिशत सम्पन्न भइसकेको छ । ५ रोपनी जग्गामा निर्माण भइरहेको यो होटलको १४ तला रहने छ ।  लालचन समूहले निर्माण गर्न लागेको यो होटल तीन अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको छ । कम्पनीले २ अर्ब ३४ करोड ऋणको रेटिङ गरिसकेको छ । ग्रुपको नेतृत्व सोमबहादुर लालचनले गर्दै  आएका छन् ।  कम्पनीका अनुसार होटलको पहिलो तल्लामा किचन र मिटिङ हल रहनेछ । यसैगरी, होटलको दोस्रो तल्लामा स्पा, स्विमिङ पुल, मिटिङ हल र जिम हल बन्नेछ । तेह्रौँ तलामा रेष्टुराँ र लाउन्ज रहने छ ।  मोक्सी मेरियट  काठमाडौंको कमलादीमा निर्माण भएको मोक्सी मेरियट सञ्चालनमा आउने तयारीमा छ । करिब दुई अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त होटलका सञ्चालक शशिकान्त अग्रवाल हुन् ।  इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटलमार्फत निर्माण भएको होटल मेरियट मोक्सी ब्राण्डमा आधारित छ । दुई रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त होटलमा एक सय वटा कोठाहरु छन् । होटलमा क्याफेटेरिया, बार, स्वीमिङ पुल, साउना स्टीम, हेल्थ क्लबलगायतका सुविधा हुने छ । यो होटल युवावर्ग र विदेशी पहुना लक्षित हो ।  ‘मन्नत’ बुटिक  सेक्योर हस्पिटालिटीले होटल मन्नत ब्राण्डमा सञ्चालन गर्ने भएको हो । कोभिड महामारीलगायत विभिन्न कारणले गर्दा समयमै होटल निर्माण सम्पन्न हुन नसकेको जनाएको छ । होटल दिलकुमार श्रेष्ठले निर्माण थालेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल २.२ किलोमिटर दुरीमा रहेको छ । कम्पनीका अनुसार हालसम्म हालसम्म ८५ प्रतिशत भौतिक र ९० प्रतिशत वित्तीय प्रगति भएको छ । होटल आगामी जनवरीमा सफ्ट लञ्च गर्ने लक्ष्य व्यवस्थापनले लिएको छ । आगामी २०२६ को जुनदेखि होटल पूर्ण क्षमतामा सञ्चालनमा आउने व्यवस्थापनले जनाएको छ । कोभिड महामारीपछि समय लम्बिँदा लागत पनि बढेको सेक्योर हस्पिटालिटीले जनाएको छ । ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापकको स्वपुँजी(इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ । सेक्योर्डले ९९ करोड ४७ लाख रुपैयाँ ऋणको रेटिङसमेत गराइसकेको छ । होटलमा सुविधाजनक बैठक हल, सम्मेलन हललगायत अन्य सुविधाहरू समावेश छन् ।