महानगरको छात्रवृत्तिबाट ३० हजार ७ सय ७९ विद्यार्थी लाभान्वित

काठमाडौं । काठमाडौं महानगरले आफ्नो पालिका भित्रका विद्यालयमा ३० हजार ७ सय ७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गरेको जनाएको छ । महानगरपालिकाले प्रदान गरेको छात्रवृत्तिमा शैक्षिक सत्र २०८१ मा ३० हजार ७ सय ७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्राप्त गरेका हुन् । जसमा छात्रा छात्रवृत्तिमा ५ हजार ८ सय ९५, दलित छात्रवृत्तिमा १ हजार ३ सय २२, अपाङ्ग र आवासीय छात्रवृत्ति ४ सय ५५ जनाले अवसर प्राप्त गरेका छन् ।  यस्तै, संस्थागत विद्यालयहरूमा कक्षा १ देखि १० सम्म १९ हजार ३ सय ६ जना र कक्षा ११ र १२ मा ३ हजार ८ सय १ जना छात्रछात्राले छात्रवृत्ति प्राप्त गरेका छन् । शिक्षा विभागले गएको वर्षको प्रगतिहरूको विषयमा जानकारी गराउने क्रममा यो विवरण उपलब्ध गराएको हो ।  यस्तै, महानगरले कक्षा १ देखि १२ सम्मका ५६ हजार ३ सय १ जनालाई निःशुल्क पाठ्यपुस्तक प्राप्त गरेको बताएको छ । ५८ हजार ७ सय ३९ जना विद्यार्थीले नियमित दिवा खाजा पाएका छन् भने स्यानिटरी प्याड प्रयोग गर्नु पर्ने उमेर समूहका १७ हजार ६ सय ८९ जना छात्राले निःशुल्क स्यानिटरी प्याड प्राप्त गरेका छन् ।  महानगरले २०८१ मा शिक्षातर्फ ३ अरब २९ करोड ४७ लाख ७७ हजार रुपियाँ बजेट विनियोजन गरिएको थियो । यसको ५३.८ प्रतिशत अर्थात १ अरब ७७ करोड ३४ लाख ४२ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।  यसमा आन्तरिकतर्फको नियमित कार्यक्रममा १ अरब ४ करोड ८५ लाख २७ हजार विनियोजन गरिएकोमा त्यसको ३० प्रतिशत अर्थात् ३१ करोड ५६ लाख ५ हजार खर्च भएको छ ।  ‘गरी खाने शिक्षा महानगरको इच्छा’  कार्यक्रमका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएकोमा ५ करोड १ लाख ६६ रुपैयाँ अर्थात् ८.४ प्रतिशत खर्च भएको छ ।  शिक्षा क्षेत्रका स्वर्णीम योजनाका लागि ११ करोड १४ लाख रुपैयाँ विनियोजन भएकोमा ४ करोड ३२ लाख अर्थात् ३८.८ प्रतिशत खर्च भएको छ  । संघीय सशर्त अनुदानबाट १ अरब ४२ करोड ३४ लाख ५० हजार रुपियाँ प्राप्त भएकोमा यसको ९२.९ प्रतिशत अर्थात १ अरब ३२ करोड २२ लाख रुपैयाँ खर्च भएकाले विभागले जनाएको छ । शुक्रबारे कार्यक्रम काठमाडौं महानगरले सुरु गरेको पुस्तक रहित शुक्रबारे कार्यक्रम अन्तर्गत कक्षा ४ देखि ८ सम्मका १८ हजार २१८ जना छात्रछात्रा सहभागी भएको पाइएको छ भने शिक्षामा सीप कार्यक्रमअन्तर्गत ५ हजार ११ जनाले कक्षा लिएका छन् । यस्तै, ७७ वटा विद्यालयमा प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति गरिएको छ ।  सुन्दर विद्यालय निर्माणका लागि ८२ वटा विद्यालयलाई अनुदान प्रदान गरिएको छ  । महानगरपालिकाभित्रका आधारभूत विद्यालय २६ वटा, माध्यमिक विद्यालय ५८ वटा, विशेष विद्यालय ४ वटा,  वैकल्पिक विद्यालय २३ वटा, धार्मिक विद्यालय ११ वटा, सामुदायिक सिकाइ केन्द्र २८ वटा, संस्थागत विद्यालय ४२५ वटा गरेर जम्मा शैक्षिक संस्थाहरू ७८४ वटा छन् ।  प्रारम्भिक बाल विकास केन्द्रमा ५ हजार ३३२ जना विद्यार्थीले अध्ययन गरेका छन् । आधारभूत तहअन्तर्गत कक्षा १ देखि ५ सम्म १६ हजार ५ सय ५२ जना र कक्षा ६ देखि ८ सम्म १४ हजार २१३ जना विद्यार्थीले अध्ययन गरेका छन् ।  माध्यमिक तहअन्तर्गत कक्षा ९ र १० मा १२ हजार ८९६ जनाले र कक्षा ११ र १२ मा १२ हजार ६४० जना र स्रोत कक्षामा ४ सय ५५ जना विद्यार्थीले अध्ययन गरेका छन् भने यस वर्ष सामुदायिक विद्यालयहरूमा ६२ हजार ८८ जना र संस्थागत विद्यालयहरूमा २ लाख २१ हजार ६४४ जना गरी २ लाख ८३ हजार ७३२ जना विद्यार्थीले अध्ययन गरेका छन्  ।

महानगरले कार्यालय खर्च घटाएर पुँजीगत खर्चमा जोड दियो : प्रमुख शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्व दिएर बढाउने नीति अपनाएको बताएका छन् । काठमाडौं महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रमुख शाहले बहाल करको क्षेत्र विस्तार गरिएको र नागरिकबाट सङ्कलित राजस्व नागरिककै सामूहिक हितमा प्रयोग भइरहेको स्पष्ट पारे । उनले महानगरको कार्यसम्पादन र प्रगतिबारे कार्यक्रममार्फत जानकारी दिए । प्रमुख शाहका अनुसार महानगरबाट धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको छ । ६२ चोकमा हाईमास्ट लाइट जडान गरिएका छन् । साथै पाँच हजार ३१८ पोलमा १३ हजार ३४० बत्ती जडान गरी रात्रिकालीन सहरी सौन्दर्य विस्तार गरिएको छ । गत आर्थिक वर्षमा दुई अर्ब ८६ करोड बराबरका पूर्वाधार योजना सम्पन्न भएका छन् । करिब ९१ करोडको लागतमा सम्पदा संरक्षणका काम हुँदा २७६ मूर्त सम्पदा आयोजना र १२५ अमूर्त सम्पदा कार्यक्रम सञ्चालन गरिएका प्रमुख शाहले जानकारी दिए । महानगर प्रमुख शाहका अनुसार महानगरले हालसम्म रु २३ अर्ब बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिसकेको छ । आगामी दिनमा करिब दुई खर्ब बराबरको एक हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य रहेको उनले बताए । उनले स्थानीय स्रोतसाधन र सीपको अधिकतम प्रयोग गर्दै रैथाने सीपलाई आयमा रूपान्तरण गर्न ‘एक वडा–एक कार्यक्रम’ सञ्चालन भइरहेको जानकारी दिए । महानगर प्रमुख शाहले आर्थिक, सामाजिक र पूर्वाधार विकास, सुशासन तथा प्रशासनिक सुधार महानगरका नियमित कार्यक्षेत्र भएको बताए । उनले प्राकृतिक सम्पदा र मानव–निर्मित सृजनाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमार्फत सहरको सांस्कृतिक पहिचान जोगाउने, सहरी स्वच्छता र सरसफाइ विस्तार गर्ने तथा एकीकृत पूर्वाधार विकासमार्फत सेवा प्रवाहलाई सहज र चुस्त बनाउने महानगरको दायित्व भएको बताए । महानगरले स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधार कार्यक्रमलाई थप प्राथमिकतासहित कार्यान्वयनमा ल्याएको जनाएको छ । स्वास्थ्यतर्फ एक हजार ८६ विपन्न नागरिकलाई उपचारका लागि सिफारिस गरिएको, २१० जनाको निःशुल्क उपचार गरिएको तथा ३२ वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्रसहित ३५ स्वास्थ्य संस्था र जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको प्रमुख शाहले जानकारी दिए । यस्तै, विद्युतीय शासनअन्तर्गत इ–सिफारिस र इ–कार्यालय प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यसैगरी १५२ आगलागीका घटना र १४३ जोखिमयुक्त रुख व्यवस्थापन गरिएको महानगरले जनाएको छ । सहरी योजना आयोगमार्फत १६४ योजनाको विस्तृत डीपीआर तयार गरिएको छ भने ६ अर्ब ३३ करोड ५८ लाखको लागत अनुमान भएका २५१ योजना बोलपत्रमार्फत खरिद हुँदा एक अर्ब २३ करोड बचत भएको उनले जानकारी दिए । 'महानगरमा कल सेन्टर र हेलो सरकारमार्फत प्राप्त नौ हजारभन्दा बढी गुनासामध्ये अधिकांश फछ्र्यौट गरिएका छन् । तीस हजार ३२३ ज्येष्ठ नागरिकलाई मासिक चार हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ', उनले भने । प्रमुख शाहले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाको प्रभावकारी कार्यान्वयनबाट महानगरवासीलाई काठमाडौंमा बसोबास गरेको गर्व हुने वातावरण बनाइने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि उनले सङ्घ, प्रदेश, विकास साझेदार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्यको अपेक्षा व्यक्त गरे। 

महानगरको मेलामा मौलिक नेपाली खानाका परिकारहरू पस्किँदै प्रेसिडेन्ट सेकुवा

काठमाडौं । ‘स्वाद स्वास्थ्य र आतिथ्यता सँग–सँगै’ भन्ने मूल मन्त्रसहित नेपाली आतिथ्यता क्षेत्रमा स्थापित प्रेसिडेन्ट सेकुवा काठमाडौं महानगरको ३१ औं महानगर स्थापना दिवसको अवसरमा आयोजना हुने  रैथाने मौलिक खाद्य स्वच्छता मेला–२०८२ मा सहभागी भएको छ । प्रेसिडेन्ट नेपाली मौलिक खानाको पहिचान, स्वाद र संस्कृतिलाई आधुनिक व्यवस्थापन र स्वच्छतासँग जोड्दै अगाडि बढिरहेको छ । आइतबार (आज) नारायण चौरमा सञ्चालन हुने उक्त मेलामा प्रेसिडेन्ट बिजनेस ग्रुप अन्तर्गतको प्रेसिडेन्ट सेकुवाले आफ्ना विभिन्न आउटलेटमा लोकप्रिय बनेका रैथाने तथा मौलिक नेपाली खानाका परिकारहरू  खसीको पक्कु, सिस्नो अकबरे चिकन, सिस्नुको मम पाल्पाको बटुक र गुल्मीको दही चुकौनी प्रदर्शनीमा राखेको छ ।  परम्परागत सेकुवा संस्कृतिलाई आधुनिक किचन, स्वच्छता मापदण्ड र गुणस्तरीय सेवासँग जोड्दै प्रेसिडेन्ट सेकुवाले नेपाली खानालाई केवल स्थानीय स्तरमै सीमित नराखी ब्रान्डको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।  सस्तो मूल्यमा उच्च गुणस्तरको खाना र सेवा प्रदान गर्दै आएको प्रेसिडेन्ट सेकुवा आज शहरदेखि मोफसलसम्म खानाका पारखीहरूको रोजाइ बन्दै गएको छ । प्रेसिडेन्ट बिजनेस ग्रुपका कर्पोरेट डाइरेक्टर काशी भण्डारीका अनुसार पछिल्लो समय उपभोक्ताहरू स्थानीय र मौलिक खानातर्फ पुनः आकर्षित हुँदैछन् । प्रेसिडेन्ट सेकुवाको उद्देश्य व्यापारसँगै नेपाली खानाको पहिचान जोगाउँदै नयाँ पुस्तासम्म पुर्‍याउनु हो । प्रयोग, खाद्य स्वच्छतामा कडाइ र स्वादमा निरन्तरता नै प्रेसिडेन्ट सेकुवाको मूल मन्त्र रहेको ग्रुपको भनाइ छ । महानगरका अनुसार मेलामा ३२ वटै वडाबाट कम्तीमा एक–एक वटा स्थानीय रैथाने खाद्य स्टल समावेश गरिनेछ। यसले उपभोक्तालाई एउटै स्थानमा विभिन्न भूगोल र समुदायका परिकार चाख्ने अवसर प्रदान गर्नेछ । स्थानीय मौलिक खाद्य स्वच्छता मेला केवल खानाको प्रदर्शनी मात्र नभई नेपाली स्वाद, संस्कार र संस्कृतिको उत्सव भएको आयोजकको भनाइ छ ।  मेलाको उद्घाटन तथा अवलोकन कार्यक्रममा जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी, खानाका पारखी तथा सर्वसाधारणलाई उपस्थित भई नेपाली मौलिक खानाको प्रवर्द्धनमा हातेमालो गर्न आयोजकले आग्रहसमेत गरेको छ।