समस्याग्रस्त सहकारी गाभ्न महानगरको पहल, दर्ता खारेजीका सर्त सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले समस्याग्रस्त सहकारीहरू एकआपसमा गाभ्नका लागि सर्तहरू अगाडि बढाएको छ । कामपा क्षेत्राधिकार भई सञ्चालनमा रहेका सहकारी संस्थाले सहकारी ऐन २०७४ को दफा ६६ बमोजिम सहकारी संस्था विघटन र दर्ता खारेजी गर्ने सम्बन्धमा सम्बनधीत संस्थाको विभिन्न सर्तहरू अघि सारेको छ ।   सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार लगातार दुई वर्षसम्म कुनै कारोबार नगरी निष्कृय रहेको अवस्था भएमा र साधारण सभाको तत्काल कायम रहेका दुई तिहाई बहुमत सदस्यको निर्णयबाट संस्थाको निर्णय गरी दर्ता खारेजीको स्वीकृतका लागि इच्छुक संस्थाले प्रक्रिया अघि बढाउन सक्ने छ ।     त्यसका लागि कामपाले सम्बन्धित संस्थको लेटर प्याड सहकारीको विघटन दर्ता खारेजीसम्बन्धी निवेदन, वडा कार्यलयबाट व्यवसाय कर तथा वहाल कर चुक्ताको प्रमाणपत्र, साधारणसभाबाट दुई तिहाई सदस्यले सहकारी विघटनरदर्ता खारेजीको निर्णयको प्रमाणित प्रतिलिपी, शेयर सदस्यको विवरण, ऋणीको विवरण, बचतकर्ताको विवरण, हालसम्मको सञ्चालक समितिको तीनपुस्ते विवरण र ऋण लगानी बाहेकका अन्य चल अचल सम्पत्तिको विवरण विभागका प्राप्त भएमा मात्र कानुनी रूपमा प्रक्रिया अघि बढाइने प्रमुख काफ्लेले जानकारी दिए ।    पछिल्लो समय कामपा सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन छ हजार बचतकर्ताले आवेदन  पनि परेको बताइएको छ । विभागका अनुसार आगामी एक महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको छ । साथै ठूला बचतकर्ताका हकमा ऋण असुली प्रक्रिया अघि बढाउँदै बचत फिर्ता गर्न समन्वय भइरहेको पनि प्रमुख काफ्लेले जानकारी दिए । सहकारी विभागले उजुरी दर्ता, सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने कार्य गर्दै आएको छ । सहमति हुन नसकेमा आवश्यक कारबाहीका लागि सिफारिस गरिने विभागले जनाएको छ । हाल कामपामा एक हजार ९१२ सहकारी रहेको छ । ५० प्रतिशत सहकारीले मात्रै नियमित रूपमा वार्षिक साधारणसभा गरेको प्रतिवेदन पेस गर्ने गरेका छन् । दर्ता भएका तर नियमित रूपमा साधारणसभा नगर्ने सहकारीलाई कामपाले कानुनी कारबाही प्रक्रिया अघि बढाउने भएको छ । 

राजधानी नजिकै पनि मोबाइलमा नो नेटवर्क, फोन गर्न डाँडो चढ्नुपर्ने

काठमाडौं । राजधानी नजिकै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै पनि भरपर्दो सञ्चार सुविधाबाट वञ्चित छन् । सञ्चार सेवाको कमजोर पहुँचका कारण स्थानीय बासिन्दाले दैनिक जीवनदेखि आकस्मिक अवस्थामा समेत विभिन्न समस्या भोग्दै आएका छन् । महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीका अनुसार गाउँपालिकाले सञ्चार सेवा विस्तारका लागि पटक–पटक सम्बन्धित निकाय तथा नेपाल दूरसञ्चार प्राधिकरणसँग पहल गरे पनि अपेक्षित सुनुवाइ हुनसकेको छैन । उनले गाउँपालिकाका अधिकांश क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए ।  महाङ्काल गाउँपालिकामा साविकका बुखेल, मानिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर र ठुलादुर्लुङ गाविस समेटेर ६ वटा वडा कायम गरिएका छन् । यी वडाका धेरैजसो बस्तीमा मोबाइल नेटवर्क कमजोर रहेको स्थानीयको गुनासो छ । कतिपय स्थानमा घरभित्र बसेर फोन गर्न वा इन्टरनेट चलाउन नसकिने अवस्था रहेको छ भने नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने बाध्यता अझै कायम छ । अध्यक्ष केसीले स्थानीयवासीले सञ्चार समस्याबारे निरन्तर गुनासो गर्ने गरेको बताउँदै वर्षौंदेखि समस्या समाधानका लागि प्रयास गरिए पनि सम्बन्धित निकायको पर्याप्त ध्यान नपुगेको बताए । उनका अनुसार कतिपय गाउँमा रातिको समयमा समेत घरबाहिर निस्केर नेटवर्क खोज्दै फोन गर्नुपर्ने अवस्था छ । गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले गाउँपालिकाको केन्द्र गोटिखेलस्थित कार्यालय परिसरमै सञ्चार सेवाको समस्या रहेको जानकारी दिइन् । उनले फाइबर नेट जडान तथा सबै वडामा गुणस्तरीय सञ्चार सेवा विस्तारका लागि विभिन्न निकायमा पटकपटक निवेदन दिइएको भए पनि हालसम्म समाधान ननिस्किएको बताइन् ।  उपाध्यक्ष गोलेका अनुसार सञ्चार सेवाको अभावले विशेषगरी विपद् व्यवस्थापन र स्वास्थ्य सेवामा गम्भीर असर परेको छ । वर्षायाममा बाढीपहिराको जोखिम बढ्ने भएकाले समयमै सूचना आदानप्रदान हुन नसक्दा स्थानीय बासिन्दा थप जोखिममा पर्ने गरेका छन् । बिरामीको अवस्था गम्भीर हुँदा एम्बुलेन्स वा सम्बन्धित निकायसँग तत्काल सम्पर्क गर्न कठिन हुने समस्या पनि रहेको उनको भनाइ छ । सञ्चार सेवा कमजोर हुँदा गाउँपालिकाको प्रशासनिक कामकाजमा पनि असर परेको छ । विद्युत् अवरुद्ध भएको अवस्थामा आवश्यक कागजात तथा सिफारिस सम्बन्धित निकायमा पठाउन समस्या हुने गरेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । डिजिटल प्रविधिमा आधारित सरकारी सेवाको विस्तार भइरहेका बेला आधारभूत सञ्चार पूर्वाधारको अभावले सेवा प्रवाहमा चुनौती थपिएको छ । प्राकृतिक स्रोत, धार्मिक तथा सामाजिक महत्वका क्षेत्रहरूले सम्पन्न महाङ्काल गाउँपालिकाको मुख्य आर्थिक आधार कृषि व्यवसाय हो । स्थानीय आम्दानीको अर्को प्रमुख स्रोत वैदेशिक रोजगारी रहेको छ । पछिल्ला वर्षहरूमा आधुनिक जीवनशैलीतर्फ आकर्षण बढ्दै गए पनि सञ्चार पूर्वाधारको कमजोर अवस्थाले विकासका सम्भावनामा असर पारेको स्थानीयवासी बताउँछन् । दक्षिण ललितपुरका ग्रामीण क्षेत्रमा सञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखी आवश्यक टावर, फाइबर नेटवर्क तथा अन्य प्रविधि जडानका लागि सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने स्थानीय जनप्रतिनिधिहरूको माग छ ।

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका रूपमा फैलिँदै गएको भन्दै टोलटोलमा मनोसामाजिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कामपा स्वास्थ्य विभागले ‘ह्यापी माइन्ड’सँगको सहकार्यमा काठमाडौंमा सञ्चालन गरेको मनोसामाजिक स्वास्थ्य शिविर र टोलका विभिन्न ठाउँमा पुगेर विभिन्न उमेर समूह र पेसासँग सम्बन्धित व्यक्तिहरूसँग कुराकानीसमेत गरेको कामपा स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिए । शिविर जेठ ३० गतेदेखि असार ८ गते सोमबारसम्म चलेको थियो । स्वयम्भू भगवान् पाउ, कमलपोखरी, पञ्चमुखी हनुमान मन्दिर खरिबोट, बौद्ध स्तुप परिसर, इटुम्बहाल, चिवाद्यो आँगन, गहनापोखरी, हाँडीगाउँ डबली, न्हुःघ जोशी देगल मन्दिर परिसर गरी नौ ठाउँमा शिविर सञ्चालन गरिएको थियो ।  शिविरमा आएर सेवा लिनेमा उमेरगत रूपमा हेर्दा १० वर्ष र अधिकतम् ८४ वर्ष उमेर व्यक्तिलाई परामर्श प्रदान गरियो । यसमध्ये सबैभन्दा धेरै १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्ति थिए । यस्तै लैङ्गिकताका आधारमा ५५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक ५५५ जना महिला र ४०५ जना पुरुष सहभागी थिए ।  मनोसामाजिक शिविरबाट प्राप्त भएको तथ्याङ्कले सहरमा मानसिक स्वास्थ्य अब व्यक्तिगत समस्यामात्र नभई एउटा भयावह ‘जनस्वास्थ्य सङ्कट’का रूपमा विकसित हुँदै गएको महर्जनले जानकारी दिए ।  ‘मानसिक स्वास्थ्य समस्या मनभित्रै र घरभित्रै लुकाउने विषयका रूपमा हेर्नु हुँदैन । शरीरमा लागेको रोग जसरी उपचार गराइन्छ, त्यसरी नै मनमा लागेको रोगको पनि उपचार गराउनुपर्छ,’ महर्जनले भने, ‘सहरमा सबै मानिस कुनै न कुनै मानसिक समस्यामा गाँजिएकै छन् । सबैलाई कुनै न कुनै रूपको उपचार चाहिएको छ । यसका केही उपचार व्यक्ति आफैंले गर्न सक्छन् । केही परिवारबाट सम्भव छ । केही समाजबाट र केही चाहिँ स्वास्थ्यकर्मीबाटै उपचार गराउनुपर्छ ।’ सहरमा मानसिक स्वास्थ्य समस्याको तथ्याङ्कगत अवस्थाले, बढ्दो अवस्था घटाउन विद्यालयमा मानसिक स्वास्थ्य परामर्शदाताको व्यवस्था, अभिभावकलाई सचेतना, युवाहरूका लागि रोजगारीको सुनिश्चितता र ज्येष्ठ नागरिकका लागि सामाजिक सक्रियताका कार्यक्रमलाई सम्बन्ध भएका निकायले ध्यान दिनुपर्ने बताइएको छ । नत्र सहर एक दिन ‘मानसिक समस्याको मौन महामारी’मा पर्ने जोखिम रहेको बताइएको छ ।