प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । प्रोटेक्भिट माइक्रो इन्स्योरेन्स, भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बीमा दाबी अन्तर्गतको रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ । शनिबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल लगायत जनप्रतिनिधिहरूको उपस्थितिमा भरतपुर शाखाका प्रमुख कुमार उप्रेतीले ३७ लाख ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा आगजनी गरिएका गाउँपालिकाका एक स्कर्पियो र एक बोलेरो गाडीको क्षतिपूर्तिस्वरूप सो बीमा रकम प्रदान गरिएको हो । प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सले सेवा प्राप्तिकर्ताको जोखिम न्यूनीकरण तथा दाबी भुक्तानी प्रक्रियामा द्रुत, पारदर्शी र दिगो सेवा प्रवाह गर्नेजन्य प्रतिवद्धता पुनः व्यक्त गरेको छ ।

पद्मकन्या कलेजको क्यान्टिनमा महानगरको छापा, कमजोर खाद्य स्वच्छता भेटियो

काठमाडौं । पद्मकन्या कलेजको क्यान्टिन र छात्राबासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर देखिएको छ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभूत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिए । यो कलेज महानगरपालिकाको वडा नम्बर २८ बागबजारमा पर्छ ।  अनुगमनमा देखिएको अवस्थाका विषयमा जानकारी दिँदै फुड टेक्नोलोजिष्ट अशोक पराजुली भन्छन्, ‘बागेश्वरी चमेनागृहका नामबाट सञ्चालित यस ठाउँमा सरसफाइको अवस्था सामान्य देखियो । जालीदार टोपी (हेयर नेट), पञ्जा, एप्रोनको उचित प्रयोग पाइएन । तयारी खाद्य पदार्थ नछोपी राख्ने गरेको, फ्राइ गर्ने कराइ अत्यन्त पुरानो रहेको, आगोजन्य जोखिम न्युनीकरणका उपकरणहरुको व्यवस्था नभएको देखियो । यो चमेना गृहले व्यवसाय दर्ता गरेको पाइएन ।’ अनुगमनका क्रममा चमेना गृहबाट म्याद गुज्रिएको ७ सय ग्राम चाउमिन नष्ट गरिएको थियो ।  कलेजकै आवासीय छात्राहरूका लागि सञ्चालनमा रहेको भोजनगृहमा पनि सरसफाइ कमजोर थियो । स्टोर कोठामा खाद्य सामग्री अव्यवस्थित रूपमा भण्डारण गरिएको थियो । भान्सामा रहेको धुवाँ निकास गर्ने पङ्खा बिग्रिएको र खाना बनाउने ठाउँमा कालो जमेको फोहर थियो । भान्छामा कीरा नियन्त्रण गर्ने कुनै विधि अपनाइएको देखिएन । यो भोजनगृह पीके चमेना गृह एण्ड रेस्टुरेन्टले सञ्चालन गरेको छ ।  कलेजमा राखिएको पानी शुद्धिकरण प्रविधि (वाटर ट्रिटमेन्ट प्लान्ट)मा पानी थिएन । प्लान्ट वरिपरि धुलैधुलो र फोहोर थियो । कलेजका छात्राहरूले पिउने पानीको एमोनिया परीक्षण गर्दा एमोनिया फ्री (रहित) देखिएको, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत बुद्धबहादुर कुँवरले जानकारी दिए ।  कमजोरी देखियो । यसलाई सुधार गर्छौँ । अनुगमनपछि कलेजका सहायक प्राचार्य विमला नेपालले बताइन् ।  अनुगमन टोलीले कलेजको क्यान्टिन र छात्रावासको भोजनगृहलाई कीट नियन्त्रण प्रणाली राख्न, सरसफाइ र स्वच्छतामा ध्यान दिन, लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्न, अनुमति प्राप्त उद्योगबाट उत्पादन भएका वस्तु मात्र प्रयोग गर्न, खाद्य अनुज्ञा अनुमति प्राप्त वस्तु मात्र विक्री वितरण गर्न, आगो जोखिम न्यूनीकरणका उपकरण जडान गर्न निर्देशन दिएको छ ।  अनुगमनका क्रममा टोलीले वडा बागबजारमा सञ्चालित विमला स्विट्स एण्ड चार्ट हाउस र बज्रयोगिनी भोजनालय एण्ड खाजा घरको समेत अनुगमन गरेको थियो । विमला स्वीट्स एण्ड चार्ट हाउसले मिठाइजन्य खाद्यवस्तु विक्री वितरणका लागि अनुमति नलिएको फाष्टफुड सञ्चालनको अनुमतिमा नै मिठाइजन्य वस्तु विक्री वितरण गरेको पाइएकोले मिठाइजन्य वस्तु विक्री वितरणको व्यवसायिक अनुमति लिन निर्देशन दिइएको छ । यी दुवै खाद्य सेवा प्रदायकहरुले, मसीजन्य कागज ब्यागमा प्याकिङ गर्ने गरेको, सरसफाइको अवस्था सामान्य रहेको, आगोजन्य जोखिम न्युनीकरणको उपकरणहरू जडान नगरिएको, फोहोर फाल्ने डष्टबिन नछोपी राखिएको, कीट व्यवस्थापनमा ध्यान नदिएको देखिएको छ ।  

जेनजी आन्दोलनकारीले दमकल समेत छोडेनन्, अपाङ्गता भएकाहरू बोक्ने बस पनि जलाए : चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरपालिकाको काम नगरवासीलाई संरक्षण गर्ने र दिनचर्या झनै राम्रो बनाउने रहेको बताएका छन् । आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले ललितपुर महानगरपालिकाको सबैभन्दा महत्वपूर्ण काम नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उनीहरुको दिनचर्या राम्रो पार्ने र कसरी उहाँहरुको इन्कम जेनेरेशनमा कसरी टेवा पुर्याउने ? भन्ने रहेको बताए । जेनजी आन्दोलनका क्रममा ललितपुर महानगरपालिकाले दमकलको सेवा ललितपुर नगर क्षेत्रमा मात्रै नभइ काठमाडौं महानगरपालिकामा समेत दिएको बताए । सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानहरुमा ७९ पटक दमकलको सेवा दिएको उनको भनाइ छ । उनले भने, ‘ललितपुर महानगरपालिकाले सबैभन्दा महत्वपूर्ण काम भनेको नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उहाँहरुको दिनचर्या राम्रो पार्ने र कसरी उहाँहरुको इन्कम जेनेरेशनमा हामीले कसरी टेवा पुर्याउने ? भन्ने नै हाम्रो काम हो । ललितपुर महानगरपालिकाको दमकलको सेवा ललितपुर नगर क्षेत्रमा होइन, काठमाडौंको हिल्टन होटल, सिंहदरबार, सर्वोच्च, पाल्र्यामेण्ट बिल्डिङ्ग लगायतमा ७९ पटक दमकलको सेवा प्रवाह गरेका छौँ ।’ उनले मन्त्रीक्वार्टर जलेर फोन आएपछि दमकल पठाएको तर आन्दोलनमा सहभागी भएकाहरुले बाधा सिर्जन गरेको बताए । प्रमुख महर्जनले नगरवासीका लागि गर्नुपर्ने आवश्यक कामहरु आफूहरुले क्रमशः पूरा गरिरहेको बताए । आगो निभाउन गएको दमकललाई समेत आन्दोलनकारीले आगो लगाएको बताए । अब अत्याधुनिक दुई वटा दमकल खरिद गर्ने निर्णय समेत गरेको बताए । अपाङ्गता भएका व्यक्तिहरुका लागि खरिद गरेको गाडीमा समेत आगजनी भएकाले अब झनै अत्याधुनिक गाडी किन्ने जानकारी दिए ।