चीनका राजदूतसँग प्रधानमन्त्री शाहको छलफल, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार (आज) उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए । राजदूत माओमिङले पनि प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।

ठगीधन्दामा टिकटकको ‘लक्ष्मी कलेक्सन’, सामान किन्न खोज्दा बैंक खातै रित्तियो

काठमाडौं । सामाजिक सञ्जालमा आकर्षक सामानको विज्ञापन देखाई ग्राहकलाई ह्वाट्सएपसम्म पु‍र्याउने र त्यसपछि बैंक खातामै पहुँच बनाएर रकम निकाल्ने ठगीको जोखिम बढ्दै गएको छ । यस्तै घटनामा ‘लक्ष्मी कलेक्सन स्टोर’ नामक टिकटक अकाउन्टबाट सामान खरिद गर्न लागेका केही उपभोक्ता ठगीमा परेको भन्दै प्रहरीमा पुगेका छन् । महिला तथा बालबालिकालाई लक्षित कपडा, जुत्ता लगायतका सामग्रीका १७३ वटा भिडियो पोस्ट गरिएको उक्त टिकटक अकाउन्टमा भिडियोमा न आवाज सुनिन्छ, न अनुहार देखिन्छ।  भिडियोको शैली हेर्दा एआईबाट निर्मित सामग्रीजस्तो देखिए पनि हजारौं उपभोक्ताले ती भिडियोको कमेन्टमा सामान खरिदबारे जिज्ञासा राखेको देखिन्छ । ग्राहकको जिज्ञासामा स्टोरको तर्फबाट अधिकांश अवस्थामा ह्वाट्सएप नम्बरमात्र उपलब्ध गराइएको पाइएको छ। ह्वाट्सएपबाट सम्पर्क गरी सामान खरिद गर्ने भन्दै रकम पठाएका केही ग्राहक पछि ठगीमा परेका हुन् । नवलपरासी पूर्वको हुप्सेकोटकी नानुमाया विक पनि यही जालोमा परेको उजुरीमा उल्लेख छ ।  उनले उक्त स्टोरले दिएको माध्यमबाट सामान खरिदका लागि रकम पठाइन् । तर, सामान नआएपछि उनले स्टोरमा गुनासो गरिन् । स्टोरले रकम प्राप्त नभएको भन्दै बैंक स्टेटमेन्ट पठाउन भन्यो । उनले विश्वास गरेर बैंक स्टेटमेन्ट पठाएपछि त्यसमा रहेको विवरण प्रयोग गरी उनको बैंक खाताबाट रकम निकालिएको पाइएको छ । यसरी उनको खातामा रहेको रकम नै निकालिएको उजुरीमा उल्लेख छ ।  काठमाडौंको बौद्धका छिरिङ लिम्जोम लामा पनि यही स्टोरको सम्पर्कमा पुगेपछि ठगीमा परेको प्रहरीले जनाएको छ । दुवैजनाले प्रहरीमा उजुरी दिएका छन् । तर, उनीहरूको रकम फिर्ता हुने वा नहुनेबारे यकिन भइसकेको छैन । अनलाइन खरिद गर्दा केमा ध्यान दिने ? सामाजिक सञ्जालमा देखिएको विज्ञापनकै आधारमा अनलाइनबाट सामान खरिद गर्दा उपभोक्ता थप सचेत हुनुपर्छ । सामान खरिद गर्नुअघि बिक्रेताको वास्तविक पहिचान, व्यवसाय सरकारी निकायमा दर्ता भए/नभएको तथा आधिकारिक सम्पर्क विवरण जाँच गर्नु पर्दछ । अनलाइन कारोबार गर्दा अपरिचित व्यक्तिले पठाएका लिंकमा क्लिक नगर्न, ओटीपी, बैंकिङ पासवर्ड, कार्डसम्बन्धी विवरण तथा अन्य संवेदनशील व्यक्तिगत जानकारी कसैलाई पनि उपलब्ध नगराउन प्रहरीले समेत आग्रह गर्दै आएको छ । सामान खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिनु पनि महत्त्वपूर्ण हुन्छ । २५० रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गर्दा प्यान वा भ्याट नम्बर उल्लेख भएको बिल लिने उपभोक्तालाई सरकारले प्रोत्साहन गर्ने व्यवस्था समेत गरेको छ । त्यसैले सामाजिक सञ्जालमा देखिएको आकर्षक विज्ञापनकै भरमा सामान खरिद गर्नुको सट्टा बिक्रेताको आधिकारिकता जाँच गर्ने, सुरक्षित माध्यमबाट भुक्तानी गर्ने र अनिवार्य रूपमा बिल लिने गर्नुपर्दछ । हेर्नूहोस् भिडियो :

हरि ढकाललाई सांसद घतानीको प्रश्न– सिंहदरबार जलाएर पुगेन र ?

काठमाडौं । नेकपा (एमाले)की सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारूढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद घतानीले आपत्ति जनाएकी हुन् । सांसद ढकालले आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने तर्क गरेका थिए । त्यसप्रति आपत्ति जनाउँदै सांसद घतानीले ‘सिंहदरबार जलाउनु नै पर्याप्त भएन र ?’ भन्दै प्रश्न गरिन् । उनले सिंहदरबारको इतिहास मेटाउने चलखेल बन्द गर्नसमेत चेतावनी दिइन् । सांसद घतानीले जनतामा बढ्दो निराशाप्रति सरकार गम्भीर नबनेको आरोप लगाइन् । उनले बजारमा देखिएको ग्यास अभाव तत्काल समाधान गर्न, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तथा सहकारीपीडितको बचत फिर्ताको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन् । किसानलाई रासायनिक मल र बजार उपलब्ध गराउन तथा युवालाई रोजगारी र व्यापारीलाई सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन पनि उनले सरकारसँग माग गरिन् । उनले भनिन्, ‘जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले ढुक्क बनाएको छ ? प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयोस् । ग्यासको अभाव तत्काल समाधान गरियोस् । स्वास्थ्य बीमा कार्यक्रम पुनः प्रभावकारी बनाइयोस्, ताकि गरिब तथा विपन्न नागरिक उपचारबाट वञ्चित हुन नपरोस् ।’  सांसद घतानीले सुकुम्बासी, सहकारीपीडित, किसान, शिक्षक, दलित र युवाका समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन् । ‘सबैको एउटै प्रश्न छ– सरकार हामीलाई कहिले देख्छ ? राज्य छ भन्ने अनुभूति नेपाली नागरिकले कहिले पाउने ? अन्त्यमा सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त भएन र ? अब यसको नाम मेटाएर यसको इतिहास नै मेटाउने चलखेल हुँदैछ । बन्द गरियोस्,’ उनले भनिन् । जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले ढुक्क बनाएको छ भन्ने प्रश्न सांसद घतानीले सरकारसमक्ष राखेकी छन् ।