बीमा समितिकाे अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त
काठमाडौं । बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । पूर्व गृहसचिव सिलवाललाई सरकारले बीमा समितिको रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा सिलवाललाई नियुक्त गर्ने निर्णय हाे । उनकाे कार्यकाल चार वर्ष हुनेछ । गृह सचिवबाट अवकाश भए पनि सिलवाल लामाे समय उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए । सिलवालकाे लागि बीमा नयाँ क्षेत्र हाे । बीमा क्षेत्रकाे नियामक निकायमा बीमा क्षेत्रकै व्यक्ति नियुक्तीकाे अपेक्षा बजारबाट भएकाे थियाे । तर सरकारले अन्य राजनीतिक नियुक्तीमा झै बीमा समितिकाे अध्यक्षमा पनि पूर्व प्रशासक छनाैट गरेकाे छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिकाे अध्यक्ष पद गत एक महिनायता रिक्त रहेकाे थियाे । यसअघि समितिको अध्यक्षको कार्यभार चिरञ्जीबी चापागाईंले सम्हालेका थिए । आफ्नो चार वर्षे कार्यकाल पूरा भएपछि उनी गत पुस २३ गतेदेखि बाहिरीएका थिए ।
स्वावलम्बन लघुवित्तको निमित्त सीईओमा चौलागाँई नियुक्त
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चन्द्रमणि चौलागाँई नियुक्त भएका छन् । माघ ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाकाे विभागीय प्रबन्धक चौलागाँईलाई निमित्त सीईओ पदमा नियुक्त गरेको हो । यससँगै संस्थाको अर्को निर्णय नभएसम्म चौलागाँईले संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् । माघ ८ गते बसेको बैठकले संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बश्यालले दिएका राजिनामालाई माघ ९ गतेदेखि लागू हुने गरि स्वीकृत गरेको थियो । बश्यालले गत पुस ८ गते नै आफ्नो राजिनामा पेश गरेका थिए ।
आईसीएफसी फाइनान्सको अध्यक्षमा रामबाबु पन्तकाे निरन्तरता
काठमाडौं । आईसीएफसी फाइनान्सको अध्यक्षमा रामबाबु पन्तले निरन्तरता दिने भएका छन् । संस्थाको सभाबाट निर्विरोध निर्वाचित भएका संस्थापक सञ्चालक पन्त अध्यक्षमा सर्वसम्मतीले चयन भएसँगै उक्त पदमा निरन्तरता दिने भएका हुन् । माघ ५ गते बसेको संस्थाको सञ्चालक समितिको २७४औं बैठकले उनलाई अध्यक्ष पदमा नियुक्त गराएको हो । यससँगै नवनियुक्त अध्यक्ष पन्तले माघ ५ गतेदेखि नै आफ्नो नयाँ कार्यकालकाे कार्यभार सम्हालेका छन् ।