नेपाल बैंकर्स संघको उपाध्यक्षमा अनिल उपाध्याय, सदस्यमा सन्तोष कोइराला र दीपक कुमार दे निर्वाचित

काठमाडौं । नेपाल बैंकर्स संघ(एनबीए) को उपाध्यक्षमा अनिल कुमार उपाध्याय निर्वाचित भएका छन् । मंगलबार सम्पन्न संघको वार्षिक साधारणसभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपाध्यायलाई संघको उपाध्यक्ष पदमा चयन गरेको हो । साथै, सभाले माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एस.बि.आई. बैंकका सीईओ दीपक कुमार देलाई संघको कार्यकारिणी समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ । वार्षिक कार्यक्रमका प्रमुख प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र आर्थिक अवस्थाका बारेमा जानकारी दिंदै मूल्य वृद्धि दर नियन्त्रण भित्र रहेको, चालु खाता र शोधान्तर अवस्था वचतमा रहेको तथ्याङ्क प्रस्तुत गर्दै विदेशी मुद्राको संचिति पनि निकै राम्रो अवस्थामा रहेको बताए । गभर्नरले नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई प्राथमिकतामा राखेको जानकारी गराउँदै ‘क्युआरकोड’ भुक्तानीलाई थप प्रभावकारी ढङ्गले अघि बढाउन बैंकहरुलाई निर्देशन दिनुका साथै बैंकहरु मर्जरमा जान चाहेमा राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने आश्वासन समेत दिए । संघले प्रत्येक वर्ष बैंकिङ्ग क्षेत्रमा योगदान दिनुहुने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर तथा तथा नबिल बैंकको पूर्व अध्यक्ष सत्येन्द्र प्यारा श्रेष्ठलाई सम्मानित गरेको छ । सम्मान-पत्र ग्रहण पश्चात् उनले सबै प्रति कृतज्ञता व्यक्त गर्दै अहिलेको चुनौतीपूर्ण अवस्थावाट वाहिर आउन एकजुट भएर लाग्नुपर्ने बताए । यस्ताे बन्याे एनबीएकाे नयाँ कार्यसमिति

पूर्व अर्थमन्त्री डा.खतिवडा अमेरिकाकोे राजदुतमा नियुक्त

काठमाडौं । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा अमेरिकाकाे राजदूतमा नियुक्त भएका छन् । उनलाई आज राष्ट्रपति कार्यालयले अमेरिकाको आवासिय राजदुतमा नियुक्त गरेको हो । यसअघि मन्त्रिपरिषद् बैठकले उनलाई अमेरिकाको लागि राजदुतमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदकाे सिफारिस अनुसार राष्ट्रपति कार्यालयले उनलाई अमेरिकाकाे लागि राजदूतमा नियुक्त गरेकाे हाे । ‘नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा डा. युवराज खतिवडालाई सुयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासिय राजदूतमा नियुक्त गरिएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको सीईओमा राजेश कुमार श्रेष्ठ नियुक्त

काठमाडौं । गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । उनलाई आगामी माघ १ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरिएको हो । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । बैठकले श्रेष्ठलाई माघ १ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओ एवं कम्पनी सचिव पदमा नियुक्त गरेको हो । यससँगै, सीईओ श्रेष्ठले माघ १ गतेदेखि संस्थाको सीईओ र कम्पनी सचिवको कार्यभार सम्हाल्ने छन् । बैंकिङ क्षेत्रमा मात्रै २५ वर्षको कार्य अनुभव हासिल गरिसकेका श्रेष्ठले बीमा क्षेत्रको पनि ८ वर्ष अनुभव हासिल गरेका छन् । श्रेष्ठले १७ वर्ष नेपाल बैंकमा काम गरेका थिए । नेपाल बैंक छोडेपछि उनले ३ वर्ष एनसीसी बैंकमा काम गरेका थिए । एनसीसी बैंकपछि उनले ५ वर्षसम्म महालक्ष्मी फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । महालक्ष्मी फाइनान्सपछि उनी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । एशियनमा उनी ८ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । श्रेष्ठले आफ्नो २ कार्यकाल पूरा भएपछि गत साउन २१ गतेदेखि एशियन लाइफ इन्स्योरेन्स कम्पनी छोडेर बसेका थिए । गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका दिनेशलाल श्रेष्ठ केही दिनअघि मात्रै एशियन लाइफ इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर आएका थिए । राजेशकुमार श्रेष्ठले छोडेको एशियन लाइफको सीईओ पदको जिम्मेवारी दिनेशलाल श्रेष्ठले सम्हाल्न लागेका छन् भने दिनेशलाल श्रेष्ठले छोडेको गुहेश्वरी मर्चेन्टको सीईओ पदको जिम्मेवारी राजेशकुमार श्रेष्ठले सम्हाल्न लागेका छन् ।