युनाईटेड इदी मर्दीको अध्यक्षमा केसी

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाईड्रोपावरको अध्यक्षमा प्रकाश केसी नियुक्त भएका छन् । माघ २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक केसीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । संस्थापक सेयरधनी केसीलाई माघ २१ गते बसेको संस्थाको बैठकले कम्पनीको रिक्त रहेको संचालक पदमा नियुक्त गरेको थियो । त्यसपछि सोहि दिन बसेको बैठकले उनलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको कम्पनी सचिव निरज पौड्यालले बताए ।

बीमा समितिकाे अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त

काठमाडौं । बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । पूर्व गृहसचिव सिलवाललाई सरकारले बीमा समितिको रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा सिलवाललाई नियुक्त गर्ने निर्णय हाे । उनकाे कार्यकाल चार वर्ष हुनेछ । गृह सचिवबाट अवकाश भए पनि  सिलवाल लामाे समय उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए । सिलवालकाे लागि बीमा नयाँ क्षेत्र हाे । बीमा क्षेत्रकाे नियामक निकायमा बीमा क्षेत्रकै व्यक्ति नियुक्तीकाे अपेक्षा बजारबाट भएकाे थियाे । तर सरकारले अन्य राजनीतिक नियुक्तीमा झै बीमा समितिकाे अध्यक्षमा पनि पूर्व प्रशासक छनाैट गरेकाे छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिकाे अध्यक्ष पद गत एक महिनायता रिक्त रहेकाे थियाे । यसअघि समितिको अध्यक्षको कार्यभार चिरञ्जीबी चापागाईंले सम्हालेका थिए । आफ्नो चार वर्षे कार्यकाल पूरा भएपछि उनी गत पुस २३ गतेदेखि बाहिरीएका थिए ।

स्वावलम्बन लघुवित्तको निमित्त सीईओमा चौलागाँई नियुक्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चन्द्रमणि चौलागाँई नियुक्त भएका छन् । माघ ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाकाे विभागीय प्रबन्धक चौलागाँईलाई निमित्त सीईओ पदमा नियुक्त गरेको हो । यससँगै संस्थाको अर्को निर्णय नभएसम्म चौलागाँईले संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् । माघ ८ गते बसेको बैठकले संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बश्यालले दिएका राजिनामालाई माघ ९ गतेदेखि लागू हुने गरि स्वीकृत गरेको थियो । बश्यालले गत पुस ८ गते नै आफ्नो राजिनामा पेश गरेका थिए ।