नेकपामा कार्यविभाजन टुंग्याउने तयारी, आज बस्ने बैठकले अन्तिम रूप दिने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेताहरूको कार्यविभाजन टुंग्याउने तयारी गरेको छ । यसका लागि केन्द्रीय संयोजन समितिको बैठक बसिरहेको कार्यालय सचिव गणेशमान पुनले जानकारी दिए । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक कार्यविभाजनलाई लिएर देखिएको विवादका कारण स्थगित गरिएको थियो । केही शीर्ष नेताहरूबीच विभागीय जिम्मेवारीमा असहमति देखिएपछि थप गृहकार्य गरेर पुनः बैठकमा प्रस्ताव पेस गर्ने निर्णय गरिएको एक नेताले जानकारी दिए । यसैबीच, बैठकले पार्टीको एकता महाधिवेशन आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने कार्यतालिका पनि अनुमोदन गरिसकेको छ । यस्तो छ प्रस्तावित कार्यविभाजन पार्टीभित्र सहमति जुटाउने प्रयासस्वरूप नेताहरूको कार्यविभाजनको प्रस्ताव तयार पारिएको बैठकमा सहभागि एक नेताले जानकारी दिए । बैठकमा प्रस्तुत गरीएको प्रतावमा पुष्पकमल दाहाललाई संयोजकसहित सम्पूर्ण पार्टी कार्यको समन्वय गर्ने जिम्मा दिइएको बताइएको छ। माधवकुमार नेपालले सहसंयोजक जिम्मेवारी पाउदा झलनाथ खनालले नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मा पाएका छन् । खनाल उक्त जिम्मेवारीप्रति सन्तुष्ट नभएको बैठकमा रहेका एक नेताले जानकारी दिए । खनालले संगठन या विदेश विभागको अपेक्षा गरेका थिए । संगठन विभागको जिम्मेवारीको अपेक्षा अर्का नेता वामदेव गौतमले पनि गरेका थिए । तर जिम्मा वर्षमान पुनलाई दिएर गौतमलाई उत्पादन तथा रोजगारी विभागको जिम्मा दिने तयारी भइरहेको छ । पाँचौं वरीयताका नेता नारायणकाजी श्रेष्ठलाई अनुगमन तथा मूल्यांकन विभागको प्रस्ताव गरीएको छ । अग्नि सापकोटा, गंगानारायण श्रेष्ठलाई क्रमश स्थानिय तह र सास्कृतिक विभागको जिम्मेवारी दिने तयारी गरिएको ती नेताले जानकारी दिए । पछिल्लो समय भेपमा सुन तस्करीको आरोपमा मुद्दा खेपिरहेका कृष्णबहादुर महरालाई राष्ट्रिय सुरक्षा विभागको जिम्मा दिने तयारी रहेको छ । डा. गंगालाल तुलाधारले बागमती प्रदेशको इन्चार्जको जिम्मा पाउने प्रस्ताव हुँदा गिरिराजमणि पोखरेललाई शिक्षा विभाग र गोपाल किरातीलाई नीति अनुसन्धान प्रतिष्ठानको उपप्रमुख भएर रहनेछन् । आजको बैठकमा ४५ जना वरिष्ठ नेताहरूको कार्य विभाजन टुंगो लगाउने गरी छलफल भइरहेको छ ।
नेकपाको राष्ट्रिय महाधिवेशन मंसिर ११ बाट सुरु हुने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने घोषणा गरेको हो । बैठकले महाधिवेशनलाई लक्षित गर्दै चरणबद्ध कार्यतालिका समेत सार्वजनिक गरेको छ । नेकपाले सार्वजनिक गरेको कार्यक्रमअनुसार केन्द्रीय महाधिवेशनअघि जेठ मसान्तसम्म प्रदेश, पालिका, वडा तथा जनवर्गीय संगठनहरूका समायोजन सम्पन्न गरिनेछ । नेकपामा तत्कालीन नेकपा एकीकृत माओवादी, एकीकृत समाजवादीसहित एक दर्जन घटक सामेल भएका छन् । त्यसपछि असार र साउन महिनामा श्रम शिविर सञ्चालन तथा सदस्यता नवीकरण अभियान चलाइने नेकपाका कार्यालय सचिव गणेशमान पुनले जानकारी दिए । पार्टीले भदौ १५ गतेसम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने तालिका निर्धारण गरेको छ । उक्त सबै प्रक्रिया पूरा भएपछि मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गरिने कार्यालय सचिव पुनले जानकारी दिए ।
नेता गुरुङको नेतृत्वमा संविधान संशोधनका लागि नेकपाको कार्यदल गठन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको तयारी अघि बढाउँदै मस्यौदा कार्यदल गठन गरेको छ । पार्टीभित्रै संविधान संशोधनका विषयमा आवश्यक अध्ययन, छलफल तथा प्रस्ताव तयार पार्ने उद्देश्यले कार्यदल गठन गरिएको नेता गुरुङले जानकारी दिए । गठित कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहेका छन् । कार्यदलले वर्तमान संविधानका प्रावधानहरूमा आवश्यक संशोधनका विषय पहिचान गर्ने, सरोकारवालासँग छलफल गर्ने तथा ठोस प्रस्ताव तयार पारेर पार्टी नेतृत्वसमक्ष पेश गर्ने जिम्मेवारी पाएको नेता गुरुङले बताए । उनका अनुसार संविधान संशोधनको बहसलाई संस्थागत ढंगले अघि बढाउन नेकपाले यो कदम चालेको हो । पार्टीले कार्यदलमार्फत तयार पार्ने प्रस्तावलाई आगामी राजनीतिक प्रक्रियामा अघि बढाउने रणनीति लिएको नेता गुरुङले बताए ।