सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन् ।  सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई १३ औं आईजीपीमा नियुक्त गरेको हो । पौडेलले वैशाख १९ गतेदेखि कार्यभार सम्हाल्नेछन् । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अनिवार्य अवकाशमा जाँदैछन् ।   

कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । यसअघि सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सांसद भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने प्रस्ताव गरेको थियो ।  सोही प्रस्ताव आज बस्ने संसदीय दलको बैठकमा पेश गरी अनुमोदन गर्ने सोलुखुम्वुका सांसद प्रकाशसिंह बस्नेतले जानकारी दिए । बैठकमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरूको उपस्थिति रहेको छ ।   हाल प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८ जना सांसद रहेका छन् ।

संघीय निजामती सेवा विधेयक सुधार्न राय र सुझाव संकलन गर्दै मन्त्रालय

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदामाथि राय, सुझाव तथा पृष्ठपोषण दिन सरोकारवाला निकाय, राष्ट्रसेवक कर्मचारी र आम नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै विधेयकलाई थप प्रभावकारी, व्यावहारिक र सर्वस्वीकार्य बनाउन सुझाव संकलन सुरु गरेको जनाएको छ । मन्त्रालयका अनुसार संघीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्न तयार पारिएको संघीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदा २०८३ वैशाख ११ गते मन्त्रालयको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको थियो । उक्त मस्यौदाप्रति हालसम्म तीन हजारभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्राप्त सुझावहरूसँगै विभिन्न सामाजिक सञ्जालमा व्यक्त भएका प्रतिक्रिया समेत संकलन गरी विश्लेषण गरिरहेको जनाएको छ । विधेयकलाई अझ प्रभावकारी बनाउन प्राप्त सुझावलाई व्यवस्थित रूपमा अध्ययन तथा विश्लेषण गर्न प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा कार्यसमूह गठन गरिएको छ । उक्त कार्यसमूहले प्रारम्भिक मस्यौदामा उठेका विषयहरूको अध्ययन गरी उपयुक्तता र औचित्यका आधारमा आवश्यक सुधारसहित अन्तिम रूप दिन सहयोग गर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयले यसअघि उपलब्ध गराइएको सुझाव लिंकबाहेक थप सुझाव, राय तथा पृष्ठपोषण [email protected] इमेलमार्फत तथा ह्वाट्सएप नम्बरहरूमा समेत पठाउन सकिने जनाएको छ । यस विषयमा सम्बन्धित सबैलाई सक्रिय सहभागिताका लागि मन्त्रालयले अनुरोध गरेको छ ।