शिक्षामा मुक्तिनाथ विकास बैंकको साथ, देशभरका १ हजारभन्दा बढी विद्यार्थी लाभान्वित

काठमाडौं । मुक्तिनाथ विकास बैंकले देशका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत १ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री तथा अध्ययन सहयोग उपलब्ध गराएको छ । बैंकले आर्थिक रूपमा विपन्न तथा शैक्षिक सामग्रीको अभावमा रहेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालय पोसाक, स्कुल ब्याग, स्टेशनरी सामग्री, खेलकुद सामग्री तथा एक शैक्षिक वर्षको अध्ययन खर्चसमेत सहयोग गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत मोरङ, महोत्तरी, अर्घाखाँची, डडेलधुरा, रुपन्देही, उदयपुर, झापा, नवलपरासी, सर्लाही र कञ्चनपुरका सामुदायिक विद्यालयका विद्यार्थीलाई विभिन्न प्रकारका शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ । साथै, सामाजिक संस्था ‘अस्तित्व नेपाल’सँगको सहकार्यमा आगलागीबाट प्रभावित (बर्न सर्भाइभर) तथा आर्थिक रूपमा कमजोर ६ जना बालबालिकाको एक वर्षको अध्ययन खर्च पनि बैंकले व्यहोरेको छ । यसका अतिरिक्त सुर्खेत, रुपन्देही र महोत्तरीका विद्यालयलाई डिजिटल स्मार्ट बोर्ड, सिलिङ फ्यान तथा खेलकुद सामग्रीसमेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार उक्त सहयोगले आर्थिक अभावका कारण पठनपाठनमा समस्या भोगिरहेका विद्यार्थीको अध्ययनलाई सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । शिक्षा सामाजिक तथा आर्थिक रूपान्तरणको आधार भएकाले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बैंकले जनाएको छ ।

शुल्क नतिर्ने मेडिकल तथा डेन्टल कलेजको दर्ता रोक्ने काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विद्यार्थी भर्ना शुल्कलगायतका शीर्षकमा आफूलाई बुझाउनुपर्ने बाँकी रकम नतिर्ने मेडिकल तथा डेन्टल कलेजका विद्यार्थीको प्रोभिजनल दर्ता तथा विदेशी नागरिक चिकित्सक शिक्षकको दर्ता प्रक्रिया रोक्ने चेतावनी दिएको छ । काउन्सिलले जारी गरेको सूचनामा नेपालमा चिकित्सा शिक्षा सञ्चालन गरिरहेका विभिन्न प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरूले विद्यार्थी भर्ना शुल्क तथा अन्य विभिन्न शीर्षकमा काउन्सिललाई बुझाउनुपर्ने शुल्क लामो समयदेखि भुक्तानी नगरेको जनाएको छ।  यसअघि काउन्सिलले २०८२ चैत २७ गते  र २०८३ वैशाख २४ गते बक्यौता रकम तिर्न सूचना जारी गरेको थियो। काउन्सिलका अनुसार सूचना जारीपछि केही प्रतिष्ठानले आफ्नो बक्यौता रकम बुझाए पनि पटक–पटक ताकेता गर्दा समेत केही मेडिकल तथा डेन्टल कलेजले हालसम्म बक्यौता रकम भुक्तानी गरेका छैनन् ।  काउन्सिलले जारी गरेको सूचनामा यसपटकको सूचना र पत्राचारलाई समेत बेवास्ता गरी तोकिएको समयभित्र बक्यौता रकम नतिर्ने प्रतिष्ठान तथा मेडिकल र डेन्टल कलेजका विद्यार्थीको प्रोभिजनल दर्ता र विदेशी नागरिक चिकित्सक शिक्षकको दर्ता प्रक्रिया रोकिने स्पष्ट गरिएको छ । त्यस्तै, दर्ता प्रक्रिया रोकिँदा विद्यार्थी, चिकित्सक वा संस्थालाई पर्न जाने असुविधा तथा क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित प्रतिष्ठान तथा मेडिकल–डेन्टल कलेज स्वयंले वहन गर्नुपर्ने पनि काउन्सिलले जनाएको छ ।

एनआईसी एशिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रोजेक्टर सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका चार सामुदायिक विद्यालयलाई सूचना प्रविधिसम्बन्धी शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले डडेलधुरा, रुकुम पश्चिम र अछाम जिल्लाका चार विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर तथा प्रोजेक्टर उपलब्ध गराएको जनाएको छ । सहयोग प्राप्त गर्ने विद्यालयमा डडेलधुराको श्री भुवनेश्वरी माध्यमिक विद्यालय, रुकुम पश्चिमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालय, अछामको श्री मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र श्री अन्नपूर्ण माध्यमिक विद्यालय रहेका छन् । बैंकका अनुसार विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै सूचना प्रविधिमा पहुँच विस्तार गर्ने उद्देश्यले विद्यालयहरूको आवश्यकताअनुसार प्रोजेक्टर, प्रिन्टर, ल्यापटप तथा डेस्कटप कम्प्युटर हस्तान्तरण गरिएको हो । सामग्री सम्बन्धित शाखा प्रमुखहरूले विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकलाई औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरेका थिए । बैंकले उपलब्ध गराएको सामग्रीबाट विद्यालयको पठनपाठन, प्रशासनिक कार्य तथा सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।