नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र पोखराको लेकसाइडस्थित डालिया होटेलबीच ग्राहक तथा कर्मचारीलाई सहुलियत दिने उद्देश्यले सम्झौता भएको छ । बैशाख २४ गते सम्पन्न उक्त सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक तथा बैंकका कर्मचारीहरूले डालिया होटेलद्वारा प्रदान गरिने विभिन्न सेवामा १० प्रतिशतदेखि ३५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी तथा होटलका तर्फबाट बिक्री निर्देशक सिता रायमाझीले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट बैंकका ग्राहक तथा कर्मचारीहरू सहुलियतपूर्ण सेवाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाल बैंक लिमिटेडले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । आधुनिक प्रविधि र युवा जनशक्तिमार्फत गुणस्तरीय सेवा दिँदै बैंक प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको जनाएको छ । यसैबीच, नेपाल बैंक लिमिटेड र नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ स्थित कोटबारी होटेल प्रा.लि. बीच पनि छुट सम्बन्धी सम्झौता भएको छ । भदौ ११ गते सम्पन्न उक्त सम्झौताअनुसार बैंकका कर्मचारी, उनका परिवारका सदस्य तथा बैंकका ग्राहकहरूले कोटबारी होटेलका विभिन्न सेवामा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाउनेछन्  । सम्झौतामा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र होटलका तर्फबाट महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका छन् । 

रुसमा मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै

काठमाडौं । रुसमा मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै गएको भन्दै स्वास्थ्य विज्ञहरूले यसलाई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा औँल्याएका छन् । रुसी विज्ञान प्रतिष्ठानका शिक्षाविद् गेन्नादी ओनिश्चेन्कोका अनुसार मोटोपनाको दर बढ्ने गतिका आधारमा रुस विश्वका शीर्ष १० देशभित्र पर्न थालेको छ र निकट भविष्यमै अमेरिकासँग बराबरीमा पुग्न सक्ने अवस्था देखिएको छ । पछिल्लो तथ्यांकअनुसार मोटोपनाको संख्या धेरै भएका विश्वका शीर्ष ५० देशमध्ये पनि रुस समावेश रहेको उनले बताए । विशेषज्ञहरूका अनुसार रुसमा मोटोपना बढ्नुको मुख्य कारण अस्वस्थ खानपान र निष्क्रिय जीवनशैली हो । विशेषगरी फास्ट फुड, अत्यधिक चिनी र सेतो रोटीको बढ्दो प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको उल्लेख गरिएको छ । ओनिश्चेन्कोले कालो रोटी तथा सम्पूर्ण अन्नबाट बनेका रोटी स्वास्थ्यका लागि बढी लाभदायक हुने बताउँदै यस्ता खाद्य पदार्थमा कार्बोहाइड्रेटसँगै रेसा र वनस्पतिजन्य प्रोटिन पाइने जानकारी दिए । रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय अन्तःस्रावी अनुसन्धान केन्द्रकी निर्देशक तथा शिक्षाविद् नतालिया मोक्रिशेभाले बालबालिकामा पनि मोटोपनाको समस्या बढ्दै गएको बताए । उनका अनुसार बालबालिका डिजिटल उपकरणको अत्यधिक प्रयोगका कारण शारीरिक रूपमा कम सक्रिय भइरहेका छन्, जसले ऊर्जा खर्च कम भई तौलसम्बन्धी समस्या निम्त्याइरहेको छ । स्वास्थ्य विज्ञहरूले स्वस्थ भोजन, नियमित व्यायाम र सक्रिय जीवनशैली अपनाउन आग्रह गरेका छन् । रासस 

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  दश महिनामा चार लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । आन्तरिकतर्फ दुई लाख १९ हजार ८१७ पुरुष र दुई लाख २६९ जना महिला पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी बाह्यतर्फ ९० हजार ९५७ पुरुष र बाँकी महिला पर्यटक मुस्ताङ भित्रिएका प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे ।      म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका-४ घाँसास्थित प्रहरी चेक पोस्टमा प्रविष्ट भएको प्रहरी तथ्याङ्कअनुसार सबैभन्दा कम साउनमा १९ हजार ७९१ र सबैभन्दा बढी वैशाख महिनामा एक लाख पाँच हजार ५०३ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।      जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बस्यालका अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म कोरला सडकको म्याग्दी हुँदै एक लाख ३१ हजार ६७२ वटा विभिन्न प्रकारका सवारीसाधन मुस्ताङ भित्रिएका छन् । वसन्त ऋतुको आगमनसँगै अनुकूल पर्यटकीय याम चैत र वैशाख महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएका उनको भनाइ छ ।      यसैगरी हिउँदयाम अघिको असोजमा ७५ हजार ५९९ र कात्तिकमा ८३ हजार ७६६ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी तथ्याङ्कले देखाएको छ । बर्खायामको सुरुवाती समयको अनुकूल याममा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको हो ।       अनुकूल यामको मौका छोपेर उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक र नेपाली पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने गरेका प्रहरी चेक पोस्टमा प्रविष्ट तथ्याङ्कले देखाएको छ । मुस्ताङ भित्रिएका बाह्य पर्यटकको सङ्ख्यामध्ये ८० प्रतिशत बढी भारतीय पर्यटक हुने गरेका प्रहरी निरीक्षक बस्यालको भनाइ छ ।      गत आर्थिक वर्षमा सात लाख पाँच हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । गतवर्ष भित्रिएका पर्यटकमध्ये पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना बाह्य रहेका प्रहरी निरीक्षक बस्यालले जानकारी दिए । चालु आवको भदौमा जेनजी युवाको आन्दोलन, अमेरिका(इजराइल र इरानबीचको मध्यपूर्वको द्वन्द्वका कारण मुस्ताङको पर्यटनमा आशिंक असर पुगेको उनको बुझाइ छ । बर्सेनि बढ्दो क्रममा पर्यटन आगमन रहेको छ ।      मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा अवस्थित पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने उद्देश्यले भारतीय र नेपाली पर्यटक मुस्ताङ आउने गर्दछन् । यसका साथै कागबेनीधाममा श्राद्ध र तर्पण गर्ने, कोरला नाका र लोमान्थाङको अवलोकन गर्ने उद्देश्यले मुस्ताङमा पर्यटकको उपस्थित हुने गरेको हो । यहाँको पृथक प्रकारको भूगोल, जैविक विविधता, प्राचीन कला संस्कृति, रहनसहन, हिमाली सौन्दर्यता र यहाँको विशेष प्रकारको मौलिकताका कारण मुस्ताङमा पर्यटकीय आकर्षण बढ्दै गएको सरोकार भएकाहरूले बताएका छन् । रासस