साताभर नेप्से १५.७८ अंकले घट्यो, कारोबार २१ अर्ब रुपैयाँ
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताभर १५.७८ अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २७०१.३२ अंकमा रहेको नेप्से यो साता २६८५.५४ अंकमा झरेर कारोबार बन्द भएको हो । साताको पहिलो कारोबार दिन सोमबार नेप्से ३३.२८ अंकले घटेको थियो । त्यसपछि मंगलबार ४.६४ अंक र बुधबार ७.७९ अंकले घट्यो । बिहीबार पनि १६.२९ अंकको गिरावट आयो । शुक्रबार भने बजारमा सामान्य सुधार देखियो । शुक्रबार नेप्से १२.९६ अंकले बढे पनि साताभरको समग्र नतिजा भने नकारात्मक रह्यो । साताभर नेप्सेमा २१ अर्ब १९ करोड ६१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । पाँच दिनमा ४ करोड ५९ लाख १ हजार ५२६ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा सोमबार सबैभन्दा बढी ५ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । शुक्रबार सबैभन्दा कम ३ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ ।
मार्जिन कारोबार सुरू गर्दै डाइनामिक र कोहिनुर, बैंकबाट लिए साढे ३ अर्ब ऋण
काठमाडौं । डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४) र कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ३५) ले चालु आर्थिक वर्ष २०८३/८४ देखि मार्जिन कारोबार सेवा सञ्चालन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा निर्देशिका लागू गरेसँगै दुवै कम्पनीले सेवा सञ्चालनको तयारी तीव्र बनाएका हुन् । मार्जिन कारोबारका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न दुवै कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया अघि बढाएका छन् । डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिजले करिब १ अर्ब ५० करोड रुपैयाँ र कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजले २ अर्ब रुपैयाँ ऋण जुटाउने तयारी गरिरहेका छन् । डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिजले गत आर्थिक वर्ष २०८२/८३ मा १८ करोड १२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २८ करोड रुपैयाँ तथा आर्थिक वर्ष २०८०/८१ मा १२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनी नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त धितोपत्र दलाल तथा निक्षेप सदस्य हो । कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापना भएको यस संस्थाले धितोपत्र खरिद-बिक्री सहजीकरण गर्दै मुख्य रूपमा दलाली शुल्कबाट आम्दानी गर्दै आएको छ । कम्पनी नेपाल स्टक एक्सचेन्जको कारोबार सदस्य तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको निक्षेप सदस्यसमेत हो । हाल कम्पनीका दुई शाखा सञ्चालनमा रहेका छन् । कम्पनीको नेतृत्व कार्यकारी अध्यक्ष मधु जोशी र कार्यकारी निर्देशक रमेश कुँवरले गरिरहेका छन् । सन् २०२६ जुन मसान्तसम्म कम्पनीसँग ६३ हजार ४८१ सक्रिय ग्राहक रहेका छन् । कम्पनीको कुल सञ्चालन आम्दानीमध्ये करिब ९८ प्रतिशत हिस्सा धितोपत्र दलाली शुल्कबाट प्राप्त हुने गरेको छ भने बाँकी आम्दानी निक्षेप सदस्य सेवा लगायतका स्रोतबाट हुने गरेको जनाएको छ । यस्तै, कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजले गत आर्थिक वर्ष २०८२/८३ मा १३ करोड ६२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २१ करोड ३० लाख रुपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा १० करोड ७० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा ७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त धितोपत्र दलाल तथा निक्षेप सदस्य रहेको कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज कम्पनी ऐनअन्तर्गत २०६४ साल कात्तिकमा स्थापना भएको हो । कम्पनीले धितोपत्र खरिद-बिक्री सहजीकरणबाट दलाली शुल्क आर्जन गर्नुका साथै आफ्नो लगानी पोर्टफोलियोबाट लाभांश तथा पुँजीगत लाभसमेत प्राप्त गर्दै आएको छ । कम्पनीको नेतृत्व सञ्चालक समितिका अध्यक्ष भरत रनाभाटले गरिरहेका छन् भने सञ्चालकमा बिनिता रनाभाट रहेकी छन् । सन् २०२६ जुलाईसम्म कम्पनीसँग एक लाख २१ हजार १२५ सक्रिय ग्राहक रहेका छन् । साथै, गत आर्थिक वर्षमा कम्पनीले आफ्नो बजार हिस्सा बढाएर १.९८ प्रतिशत पु¥याएको छ भने ९२ धितोपत्र दलाल कम्पनीमध्ये १२औँ स्थानमा उक्लिएको जनाएको छ । दुवै कम्पनीले मार्जिन कारोबार सेवा सञ्चालनसँगै ब्याज आम्दानीको नयाँ स्रोत थपिने अपेक्षा गरेका छन् । यसबाट दलाली शुल्कमा रहेको उच्च निर्भरता क्रमशः घट्दै आम्दानीका स्रोत विविधीकरण हुने विश्वास गरिएको छ ।
सेयर बजारमा सुधार, नेप्से २६८५ बिन्दुमा
काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९६ अंकले बढेर २६८५ बिन्दुमा पुगेकाे हो । नेप्सेका अनुसार १७८ कम्पनीको सेयर मूल्य बढ्दा ८५ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३३७ कम्पनीको ८८ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडिको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै ग्लोबल आइएमई बैंकको १५ करोड, सेन्ट्रल फाइनान्सको १४ करोड, रिलाइन्स स्पिीनिङको ११ करोड र कर्पोरेट डेभलपमेन्ट बैंकको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एभरेष्ट कलरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ ।