आईएमई लाइफको १०.५२ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा बिहीबार काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिसहितको वित्तीय विवरण पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ । सभाले सञ्चालक समितिको प्रस्तावअनुसार आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको तत्काल कायम चुक्ता पूँजीको १०.५२६३२ प्रतिशतका दरले ५२ करोड ६३ लाख १५ हजार ७ सय ८९ रुपैयाँ नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा अभिलेख गर्ने निकायबाट कुनै संशोधनका लागि निर्देशन प्राप्त भएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट गरिएको खर्चसमेत अनुमोदन गरेको छ । सभामा अध्यक्ष डा. अर्यालले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर सुझाव र सहयोग गर्ने सेयरधनी, सञ्चालक, बीमित, नियमनकारी निकाय, पुनर्बीमा कम्पनी, कर्मचारी, अभिकर्ता, बैंक तथा वित्तीय संस्था तथा अन्य सम्पूर्ण शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरे ।

सानिमा रिलायन्स लाईफको १०.१७ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष रतन लाल केडियाले गरेका थिए । सभामा कम्पनीको आव ०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण रिपोर्ट र वित्तीय विवरण पारित गरिएको छ । साथै, संचालक समितिको प्रस्ताव अनुसार चुक्ता पूँजीको १०.१७८ प्रतिशत दरले ५१ करोड ४ लाख १८ हजार ९ सय ७० रूपैयाँ बराबरको नगद लाभांश करसहित वितरण गर्ने निर्णय पनि पारित भएको छ । यसैगरी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि स्वीकृत भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, ग्राहकमैत्री सेवा, शाखा विस्तार, सूचना प्रविधि प्रयोग र आन्तरिक नियन्त्रण प्रणालीका कारण कम्पनीले बीमा बजारमा सम्मानजनक स्थान ओगट्न सफल भएको जानकारी दिँदै मर्जरपछि आएका चुनौतीहरू व्यवस्थापन गरी कम्पनीलाई सबल र सक्षम बनाउन सफल भएको बताए । सभाध्यक्षले उपस्थित सेयरधनी, अतिथिहरू, नियामक निकायहरू, अभिकर्ता, बीमित र सञ्चारकर्मीलाई धन्यवाद दिँदै सभालाई समापन गरेका छन् ।

१२९ कम्पनीको सेयर मूल्य बढ्यो, ४ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २६४० बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १२९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको मूल्य घटेको छ । १५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।  बिहीबार ३२८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । एसवाई प्यानलको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बन्दिपुर केबलकारको १७ करोड, सान्भी इनर्जीको १५ करोड ८९ लाख, सागर डिस्टीलरीको १५ करोड र शिवम् सिमेन्टको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।    \ बिहीबारको कारोबारमा सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ ०.३०, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४०, हाइड्रोपावर ०.३२, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.४९, निर्जीवन बीमा ०.२६ प्रतिशतले बढेका छन् । फाइनान्स ०.४४, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०३, अन्य ०.०७ तथा व्यापार ०.२२ प्रतिशतले घटेका छन् ।