सिटिजन्स बैंकबाट ३ जना संस्थापक सेयरधनी बाहिरिँदै, मूल्य १ सय रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंकबाट एकैपटक ३ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकबाट विभिन्न ३ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको २ लाख ९० हजार ५३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार संस्थापक सेयरधनी बासुदेव घिमिरेले १ लाख ६३ हजार ६५१ कित्ता, नेत्रलाल बनले  ७५ हजार ७७२ कित्ता र झविन्द्र भण्डारीले ५१ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरको मूल्य न्यूनतम् प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ ।  बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले न्यूनतम मूल्यभन्दा बढी कबुल गरी आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरे सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिने बैंकले जनाएको छ । 

सोलु हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला, १ लाख कित्ता आवेदन दिन सकिने

काठमाडौं । सोलु हाइड्रोपावरले आज पुस २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेपश्चात् आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले २ करोड कित्ता सेयर जारी गरेको हो । जसमध्ये १ अर्ब रुपैयाँको १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० लाख कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित राखि बाँकी रहेको ८२ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतामा १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले माघ ४ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा माघ १४ गतेसम्म आवेदन दिने सम लम्बिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, ६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २६३५ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ७५ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  सोमबार ३३३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । राधी विद्युतको ३१ करोड, मन्जुश्री फाइनान्सको २७ करोड, श्रीनगर एग्रीटेकको २५ करोड र शिवम् सिमेन्टको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल र श्रीनगर एग्रीटेकको सेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको हो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार समूह सबैभन्दा धेरै १.१६ प्रतिशतले घटेको छ । विकास बैंक ०.०२, होटल तथा पर्यटन ०.१० प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.२५, फाइनान्स ०.५३, हाइड्रोपावर ०.११, लगानी ०.४२, जीवन बीमा ०.१८, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.१४, अन्य ०.२९ प्रतिशतले घटेको छ ।