स्वावलम्बन लघुवित्तको २३ औं वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (बोनस सेयरको कर प्रयोजनको लागि) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।   वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड ९७ लाख ८३ हजार ८ सय ५६ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आव २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाबलगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । चालु आवको असोज मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख ६१ हजार ७ सय ४५ महिला ग्राहक सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।  सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम २१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ पुगेको छ भने सदस्यको बचत यस अवधिसम्ममा १४ अर्ब ३९ करोड १९ लाख रुपैयाँ रहेको छ ।  राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रूपमा कारोबार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा सर्वसुलभ, गुणस्तरिय र ग्राहकमुखी सेवा विस्तारको योजना साथ अगाडि बढेको संस्थाको जारी तथा चुक्ता पूँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।  साधारण सभाले संस्थाको सञ्चालक समितिमा रिक्त हुने सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकमा रविनकुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ।  साथै, आव २०८१/८२ को लेखापरीक्षण गर्नको लागि सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरूलाई मर्जर/प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

सन नेपाल लाइफको आठौं तथा नवौं साधारणसभा सम्पन्न, २०.२६३२ प्रतिशत लाभांश पारित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आठौं तथा नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार (आज)  सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन पारित गरेको छ ।  सभाले लेखापरीक्षकको प्रतिवेदनसहित एनएफआरएस बमोजिम तयार गरिएको दुवै आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सहितको वित्तीय विवरण सर्वसम्मत रूपमा स्वीकृत गरेको हो । साथै सभाबाट कम्पनीको आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति अनुमोदन गरिएको छ ।  सोही अवसरमा हाल कायम चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनार्थ समेत) गरी कुल २०‍.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतले पारित गरिएको छ ।

होटल गरिमाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । होटल गरिमाले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका ४० लाख कित्ताले हुन आउने ४० करोड रकम बराबरको आईपीओ जारी गर्न लागेको हो । यसका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरेको छ । सम्झौतापत्रमा होटल गरिमाको तर्फवाट प्रबन्ध सञ्चालक विनोद पौडेल र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।  सोल्टी होटल एण्ड रिसोट समूहबाट ब्यवस्थापन गरिएको यस होटलमा एउटा रोयल सुइट, आठवटा सुइट, आठवटा एक्जेक्युटिभ रुम, ५८ वटा डिलक्स रुम छन् भने ७ वटा स्टुडियो रुम छन् ।  होटलमा दुई व्यांकेट, तीनवटा सेमिनार हल, ‘नुवाड थाई’ ब्रान्डबाट व्यवस्थापन गरिएको स्पा, जिम तथा रेष्टुरेण्ट क्याफे लाउन्ज लगायत विभिन्न सुविधा छन् ।