एनएमबि बैंकको नाफा ४ अर्ब नाघ्यो, व्यवसाय विस्तार ९.३३ प्रतिशत बढ्यो
काठमाडौं । एनएमबी बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा ४०.६० प्रतिशत बढेर ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशत बढेर ९ अर्ब ४२ करोड ६२ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ८ अर्ब २ करोड ८ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ५९ करोड ८ लाख ६८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३ अर्ब ३ करोड ४० लाख ६७ हजार रुपैयाँ, सञ्चालन नाफा ६ अर्ब ११ करोड ७५ लाख ६ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब १८ करोड ४५ लाख ८६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १० अर्ब ८८ करोड ४५ लाख १८ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ७५ करोड ९ लाख ४१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ९.०८ प्रतिशत रहेको छ । २२ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ९० करोड १७ लाख ३४ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन १२.१७ प्रतिशत बढेर ३ खर्ब १५ अर्ब ११ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी ९.३३ प्रतिशत बढेर २ खर्ब ४९ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले २ खर्ब ८० अर्ब ९२ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २८ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ८२.७७ प्रतिशत रहेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १४.८० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २०.१८ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात ११.८५ गुणा छ भने प्रतिसेयर नेटवर्थ १८१.१५ रुपैयाँ छ । बैंकको खराब कर्जा ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ ।
सेयर बजारमा साढे ४ अर्बको कारोबार
काठमाडौं । सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.९३ अंकले घटेर २६८१ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार १०० कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३४९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिडि पावरको २० करोड, ग्लोबल आइएमईको १९ करोड, सप्तकोशी डेभलपमेन्टको १७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एभरेष्ट कलरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
मर्जरका लागि सामुदायिक र सञ्जीवनी लघुवित्तबीच सहमति
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने तथा गाभिने (मर्जर) प्रक्रिया सुरु भएको छ । दुवै संस्थाबीच साउन १८ गते मर्जर प्रयोजनका लागि प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । सामुदायिक लघुवित्तले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाउँदै मर्जर प्रक्रिया सुरु भएको जानकारी गराएको छ । कम्पनीका अनुसार नेपाल राष्ट्र बैंकको गाभ्ने तथा गाभिने सम्बन्धी निर्देशिका, २०७९ अनुसार प्रक्रिया अघि बढाइएको हो । मर्जर प्रक्रिया पूरा भई सम्बन्धित साधारणसभा सम्पन्न नहुन्जेल आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का गरिदिन नेप्सेसँग अनुरोध गरिएको छ ।