धितोपत्र बोर्डले लिन्च स्टक मार्केटलाई किन लगायो ५० हजार जरिवाना ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल/निक्षेप सदस्य लिन्च स्टक मार्केट लिमिटेडलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । उक्त कम्पनीले हितग्राही खाता खोल्दा प्राप्त विवरण तथा कागजातको आवश्यक जाँचबुझ नगरेको र ग्राहक परिचय विवरणमा त्रुटी देखिएकोले सो मात्राको जरिवाना लगाएको हो । बोर्डले छानविन गर्ने क्रममा यस कम्पनीले झुठा विवरणको आधारमा डिपि एकाउन्ट खोली सेयर कारोवार गरेको भेटेपछि सो मात्राको जरिवाना लगाएको हो । बोर्डले धितोपत्र सम्वन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (४) व्यवस्था पालना नगरेकोले उक्त स्टक मार्केटलाई कारवाही गरेको बताएको छ । धितोपत्र दलालले ग्राहकको लागि कारोबार गर्नुअघि व्यक्ति वा संस्थागत ग्राहकको क्रमशः पूर्ण विवरण सहितको अभिलेख राख्नुपर्ने, निक्षेप सदस्यले हितग्राहीसँग सम्झौता गर्नुपर्ने छ । त्यसपछि मात्र धितोपत्र खाता खोल्ने, हितग्राही खाता खोल्नुभन्दा अगाडि बोर्ड/केन्द्रीय निक्षेप कम्पनीले निर्धारण गरे बमोजिमको लगानीकर्ता पहिचान प्रकृया पूरा गर्नुपर्ने छ । साथै, ग्राकहको सही रुपमा पहिचान तथा सो को सम्पुष्टि भरपर्दो स्रोतवाट कागजात तथ्याङ्क वा जानकारीका आधारमा खाता खोल्ने वा व्यवसायीक सम्वन्ध स्थापना गर्नुपर्ने बोर्डले जनाएको छ ।

१८ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी, क-कसले कति कमाए ?

काठमाडौं । मंगलबारको सेयर बजारमा विभिन्न १८ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् । सो मध्ये महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरको मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको छ । यी तीन वटै कम्पनीका सेयरधनीले एकैदिन १० प्रतिशत बढी कमाएका छन् । महिला सहयात्रा माइक्रोफाइनान्सको सेयर मूल्य प्रतिकित्ता ७७०, प्रुडेन्सियल इन्स्योरेन्सको ८४७ र र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरको मूल्य १० हजार २९७ रुपैयाँ रहेको छ । त्यस्तै, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले क्रमशः ९.९७, ९.९७ र ९.९६ प्रतिशत कमाएका छन् । त्यसैगरी, डिप्रोक्स डेभलपमेन्ट बैंकको ९.९४, आरएसडीसी लघुवित्त वित्तीय संस्था र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ९.९३ र यूनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)को ९.९१ प्रतिशतले सेयर मूल्य बढेको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ९.८८, फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.८५, सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.८३ र नेरुडे लघुवित्त विकास बैंकको ९.५६ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, लघुवित्त लगानी तथा विकास बैंक, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा क्रमशः ९.४६, ९.३५, ९.१७ र ९.०८ प्रतिशत कमाएका छन् । कुल १६६ कम्पनीको कारोबार भएको थियो । सो मध्ये १३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने बाँकी कम्पनीको मूल्यमा वृद्धि भएको छ । सबैभन्दा बढी सहयोगी विकास बैंकको सेयर मूल्य ४.५९ प्रतिशतले घटेको छ ।

सेयर बजार ३३ अंकले बढ्दा सबैभन्दा बढी कारोबार सूर्या लाइफ इन्स्योरेन्सको, यस्तो छ कारण

काठमाडौं । लगानीकर्ताको विश्वास बढ्न थालेपछि मंगलबारको सेयर बजारमा उछाल आएका छ । मंगलबार बजार बढेर ३३.६१ अंक बढेर नेप्से परिसुचक १ हजार ३३१ मा पुगेको छ । मंगबार बजार बढ्दा सबै क्षेत्रमा हरियाली देखिएको छ । मंगलबार ९५ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ३७ करोड ७२ लाख रुपैयाँ बढी हो । सोमबारको बजारमा ५७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ ।मंगलबार व्यापार बाहेक, बैंक, वित्त, बीमा, जलविद्युत, उत्पादन र लघुवित्त समूहको सेयर मूल्य बढेको छ । कारोबार रकममा उच्च वृद्धि देखिएको सो दिनको बजारमा यस कम्पनीको मात्रै ५ करोड ९८ लाख बराबरको सेयर किनबेच भएको छ । चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद निष्कासन गर्ने भएपछि लगानीकर्ता सूर्या लाइफमा झुम्मिएका हुन् । कम्पनीको करिब १००० रुपैयाँको प्रतिकित्ता सेयर १०० रुपैयाँमा आउने भएपछि सेयर लगानीकर्ताहरु यस कम्पनीमा झुम्मिएका हुन् । कम्पनीको आज हकप्रद सुरक्षित गर्ने अन्तिम दिन भएकाले सेयर कारोबार बढेको हो । कम्पनीले जारी गरिरहेको उक्त हकप्रद सेयरको म्याद भोलिदेखि बन्द हुँदैछ ।