सांग्रिला डेभलपमेन्ट बैंकले ११.८० प्रतिशत लाभांश दिने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११.८० प्रतिशत लाभांश दिने भएको छ । बैंकले आफ्ना सेयरधनीलाई गत वर्षको मुनाफाबाट र ८० प्रतिशत हकप्रद सेयर पश्चात कायम भएको पुँजीबाट सो मात्राको लाभांश दिन लागेको हो । ८० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ४४ करोड रुपैयाँ पुगेको थियो । कम्पनीले उक्त पुँजीको २.५० प्रतिशत अर्थात ६ करोड ११ लाख रुपैयाँ बोनस सेयर वितरण गर्न लागेको हो । साथै, ९.३० प्रतिशत(अर्थात २२ करोड ७४ लाख रुपैयाँ बराबरको) नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ । कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।
एभरेष्ट इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र ६ लाख नगद लाभांश दिने, संस्थापक र सर्वसाधरणलाई हकप्रद शेयर जारी गर्दै
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले राजधानीमा सोमबार २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनकाे लागि ६ लाख ३९ हजार रूपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले बोनस शेयर पश्चात हुन आउने कुल चुक्ता पूँजीमा कम्पनीका शेयरधनीहरुलाई १ः१.०५ संस्थापक शेयर कायम हुने गरी हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, त्यसपश्चात कायम हुने सम्पूर्ण शेयरधनी(संस्थापक र सर्वसाधरण) लाई १ः३ हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाले शेयरधनीहरुबाट समितिमा प्रतिनिधित्व गर्न ५ जना सञ्चालकहरु निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा राजिव सापकोटा, भुबल राई, हेमराज थापा, रामप्रसाद खनाल तथा एन्जिला विष्ट गिरी रहेका छन् ।
लगानीकर्ताले विश्वास गुमाउँदा २७ अंकले बजार घट्यो, १ अर्ब ५० कराेडकाे काराेबार
काठमाडौं । लगातार १० दिनदेखि उकालो लाग्दै आएको सेयर बजार सोमबार आएर घटेको छ । निरन्तर बढेपछि सोमबार करेक्सन भएपनि घट्न थालेपछि लगानीकर्ताले धमाधम बिक्री बढाउदा यसको असर बजारमा परेको हो । सोमबारकाे बजार २७.६४ अंकले घटेको छ । बजार घटेर नेप्से परिसूचक १ हजार ४१० अंकमा झरेको छ । बजार घट्ने संकेत पाएपछि लगानीकर्ताले नाफा जोगाउन धमाधम सेयर बिक्रीका लागि ब्रोकरमा बुक गर्न थालेपछि यसको असर बजारमा परेको एक ब्रोकरले बताए । आइतबार ५० अंकले बढेर एैतिहासिक उछाल आएको सेयर बजार सोमबार दोहोरो अंकले घटेको छ । बजारमा मागभन्दा बढी आपूर्ति भएपछि सेयर बजार ओरालो लागेको विश्लेषकहरु बताउँछन् । सोमबार परिसूचकमा गिरावट भएतापनि सेयर कारोबारमा भने सकारात्मक संकेत देखिएको छ । दोहोरो अंकले घटेको बजारमा पनि १७० कम्पनीको १ अर्ब ५१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ८८ अंकले घटेको छ । त्यस्तै, फाइनान्स र ट्रेडिङ समूह क्रमशः ९ र ५ अंकले ओरालो लागेका छन् भने बाँकी समूहको सूचक दोहोरो अंकले घटेका छन् । सोमबार नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ ।