प्रुडेन्सियल इन्स्योरेन्सको बोनस र माउन्ट मकालुको हकप्रद सेयर सूचिकृत

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र माउन्ट मकालु डेभलपमेन्ट बैंकको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । बुधबार मात्रै यी दुई कम्पनीको क्रमशः बोनस र हकप्रद सेयर नेप्सेमा थपिएको हो । प्रुडेन्सियल इन्स्योरेन्सको ८ लाख ५५ हजार ३६० कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, माउन्ट मकालुको ३ लाख ४५ हजार ८०० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।

लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा, बजार सामान्य अंकले बढेपनि कारोबारमा गिरावट

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरु ‘पर्ख र हेर’ अवस्थामा रहेका छन् । केहीदिन अघिसम्म बजार निरन्तर घट्दै गएपछि लगानीकर्ताहरु सेयर किनबेच गर्न डराएका छन् । त्यसैले केहीदिन यता सेयर बजारमा कारोबार रकममा गिरावट आएको हो । पछिल्लो २ दिनयताको बजारमा नेप्से परिसूचकमा केही सुधार आएपनि कारोबार रकममा भने गिरावट आएको छ । बुधबारको बजारमा पनि जम्मा १८ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५ करोड रुपैयाँ घटी हो । मंगलबारको बजारमा कुल २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बुधबारको सेयर बजारमा दिनभर सामान्य उतारचढाव आएको छ । उतारचढाव आएको बजार अन्तमा ४ दशमलब ०६ अंकले बढेर १२८५.९६ अंकमा पुगेको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.९६ अंक बढेर २७३ दशमलव ७३ अंकमा पुगेको छ । बजारमा बीमा समूहको परिसूचक २९ अंकले उकालो लागेको छ । होटल २६, फाइनान्स ६ र उत्पादनमूलक समूह ०.८८ अंकले ओरालो लागेका छन् भने बाँकी समूहको सूचक सामान्य अंकले बढेका छन् । सो दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको एकैदिन एक करोड ५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।  

प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । बुधबार प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १२.५० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ । समायोजन पश्चात यस इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७२६.७९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ५५१.११ रुपैयाँ रहेको थियो ।