२५ प्रतिशत बोनस सेयर घोषणापछि प्राइम लाइफको सेयर मूल्य घट्यो, हकप्रद सेयर लगत्तै आउने
काठमाडौं । सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा करिब ६ प्रतिशतले गिरावट आएको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७१ रुपैयाँले घटेको छ । गत बिहीबार प्रतिकित्ता २८९५ मा कारोबार भएको यस कम्पनीको सेयर प्रतिकित्ता २७२४ रुपैयाँमा किनबेच भयो । साउन १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो, जुन निर्णय आईतबार सार्वजनिक भएको हो । हाल कम्पनीले चुक्ता पूँजी ४८ करोड ८१ लाख छ । बोनस सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी ६१ करोड रुपैयाँ हुनेछ । कम्पनीले ४ वर्षको कमाईबाट २५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । सेयरधनीले अपेक्षा गरेको भन्दा कम बोनस सेयर घोषणा भएकाले मूल्य घटेको हुन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको भनाई छ । बोनस सेयरसँगै हकप्रद सेयरको घोषणा नभएकोले पनि मूल्यमा गिरावट आएको हुन सक्ने उनले बताए । ‘हकप्रद सेयर घोषणा भएको छैन, तर आगामी साधारणसभामा हकप्रद सेयरको प्रस्ताव लैजान्छौ । हकप्रद र बोनस सेयरबाट नै २ अर्ब चुक्ता पुँजी पुर्याउने हो’ उनले भने । २०७५ असारभित्रै २ अर्ब पुँजी पुर्याउने उनले बताए ।
प्राइम लाइफ इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय साउन १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णय अनुसार कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशतका दरले १२ करोड २० लाख ४० हजार रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो । साथै, सो बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि आवश्यक नगद लाभांश प्रस्ताव गरि बीमा समितिको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाठ अनुमोदन भएपश्चात उक्त लाभांश दिने कम्पनीले जनाएको छ ।
नेप्सेमा सामान्य अंकको वृद्धि, एक अर्ब १५ करोड रुपैयाँ बढीको सेयर कारोबार
काठमाडौं । बिहीबारको नेप्से परिसूचक सामान्य अंकले बढेको छ । परिसूचक एक दशमलब ५० अंकले बढेर १६४६ दशमलब ५३ अंकमा पुगेको छ । बजारमा एक अर्ब १५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन १४९ कम्पनीको १८ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी प्रभु इन्स्योरेन्सकोे सेयर कारोबार भएको छ । यस इन्स्योरेन्सको ५ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ सय २० रुपैयाँमा किनबेच भएको छ । बिहीबार काबेली विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन यस बैंकको सेयर मूल्य प्रतिकित्ता ६०५ रुपैयाँ छ । त्यस्तै, हिमालयन डिष्टीलरीको सेयर मूल्य प्रतिकित्ता ९.९५, लुम्बिनी विकास बैंकको ९.९० र कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ९.७९ प्रतिशतले बढेको छ ।