कालिका माइक्रोक्रेडिट बैंकको २१.२१ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी १० करोड नाघ्यो

काठमाडौं । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको २१.२१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको हालै सम्पन्न आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । बैंकले सेयरधनीलाई हालको चुक्ता पुँजीमा सो मात्राको बोनस सेयर दिने भएको छ । हाल बैंकको चुक्ता पुँजी ८ करोड २५ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा २१.२१२१ प्रतिशत अर्थात १ करोड ७५ लाख रुपैंया बोनस पश्चात बैंकको पुँजी १० करोड रुपैयाँ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहोराले बताएका छन् । साथै, सभाले बोनस सेयरको कर बापतको ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश वितरणको लागि स्वीकृती दिएको छ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्वको लागि निर्वाचनबाट सञ्चालकहरुमा विश्वराज नेपाल र करुणा पोखरेल निर्वाचित भएका छन् । बैंकले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ अनुसार संस्थाको नाम कालिका लघुवित्त वित्तिय संस्था लिमिटेड रहने गरि संशोधन गरेको छ । बोनस सेयर पश्चात जारी पुँजी तथा चुक्ता पुँजीमा बृद्धि भएर संस्थाको कार्य क्षेत्र विस्तार गरि राष्ट्रिय स्तरको लघुवित्त वित्तिय संस्था बनाउनको लागि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।

सेयर बजार ओरालो लाग्ने क्रम जारी, नेप्से १६ अंकले घट्दा ३९ करोडको कारोबार

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबार उच्च अंकले ओरालो लागेको नेप्से सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ । सोमबार बजार खुलेको आधा घण्टासम्म परिसूचक उकालो लागेर १३१९ अंकमा पुगेको थियो । तर त्यसपछिको बजार भने निरन्तर ओरालो लागेको छ । अन्ततः नेप्से परिसूचक १६ दशमलब ६९ अंकले घटेर १२८७ दशमलब ७४ अंकमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा ३९ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५३ कम्पनीका ९ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार ट्रेडिङ र होटल समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ११९ अंकले ओरालो लागेको छ । उत्पादमूलक, जलविद्युत र माइक्रोफाइनान्स समूह क्रमशः ४६,४५ र ४३ अंकले घटेका छन् । ट्रेडिङ र होटल समूह क्रमशः ६ र २ अंकले बढेको छ ।

सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको होइनः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र नभनेको बताएका छन् । उनले सेयरबजार अनुत्पादक क्षेत्र भएको कुरा कुनै पनि सञ्चार माध्यममा  नबोलेको जिकिर गरेका हुन् । बीबीसीसंगको अन्तरवार्तामा खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको सार्वजनिक भएको थियो । तर उनले भने सेयर बजारलाई अनुत्पादक क्षेत्र नभएको दावी गरेका हुन् । आफुले नभनेको कुरालाई लिएर सेयर बजारमा चलखेल भएको आरोप पनि उनले लगाएका छन् । गोरखापत्र दैनिकबाट