श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको हकप्रद माघ १५ देखि
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर माघ १५ देखि बिक्रि सुरु हुने भएको छ । कम्पनीले प्रति १० कित्ता बराबर ८.३ कित्ताको अनुपातमा एक सय रुपैंयाँ दरका २८ लाख ६८ हजार २ सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । पुस २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जबाट सेयर खरिद गरेका लगानी कर्ताहरुले हकप्रद सेयर भर्न पाउँनेछन् ।
पञ्चकन्या हाइड्रोपावरले माघ ५ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले माघ ५ गतेदेखि ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द माघ १९ गतेसम्मपछि हुने छ । न्युनतम २० र अधिकतम ५ हजार ५ सय कित्तासम्म दरखास्त दिन पाउने कम्पनीले जनाएको छ । स्थानियबासिन्दाको आईपीओ बाँडफाँडपछि सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गर्न लागेको आईपीओ मध्ये सन्दकपुर गाउँपालिकाका स्थानियबासिन्दालाई ६ करोड ६ लाख रुपैयाँ बराबरको ६ लाख ६ हजार र इलाम नगरपालिकाका बासिन्दालाई ४ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ पाउने निष्कासन तथा बिक्रीप्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । सेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म बिक्री र हस्तान्तरण गर्न नपाइने व्यवस्था गरिएको सनराइजले जनाएको छ । कम्पनीले इलाममा ६ मेगावाटको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
लाभांश नदिने सानिमामाई हाइड्रोपावरको बढी सेयर कारोबार, यस्तो छ कारण
काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडको मंगलबार बढी सेयर कारोबार भएको छ ।सानिमाको प्रतिसेयर ४७३ रुपैयाँमा ५ करोड ५२ लाख ७३ हजार रुपैयाँ बराबरको १ लाख १७ हजार १७६ कित्ता सेयर किनबेच भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएपनि लगानीकर्ताको भीड सानिमामाईमा लागेको छ । गत आर्थिक वर्षमा सानिमामाईले २९ करोड रुपैयाँ खुदनाफा गरेको थियो । लाभांश ७ प्रतिशत मात्र हुने भएपछि कम्पनीले गत आर्थिक वर्षमा गरेको खुदनाफा संचित कोषमा राखेर १४ मेगावाट क्षमताको मैलुङखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीको साधारणसभा आउदो शुक्रबार हुदैछ । सानिमामाईले सुनकोसी हाइड्रोपावरलाई गाभ्ने प्रस्ताव सभाबाट पारित हुदैछ । कम्पनी गाभ्ने र नयाँ आयोजनामा थप लगानी बढ्ने अनुमानका आधारमा लगानीकर्ताले सानिमामाईको सेयर खरिद गरेका हुन् । कम्पनीको चुक्तापुँजी २ अर्ब ११ करोड रुपैयाँ छ ।