पुरानो भ्याट नलिने सहमतिपछि आइतबारबाट सेयर कारोबार खुल्ने
काठमाडौं । अर्थ मन्त्रालयले ब्रोकर कम्पनीहरुसँग पुरानो कारोबारको भ्याट नलिने मौखिक सहमति गरेपछि आइतबारदेखि सेयर कारोबार खुल्न भएको छ । शनिबार राजश्व सचिव शिशिर ढुंगाना र ब्रोकर एसोसियसनबिच भएको छलफलमा त्यस्तो सहमति भएको हो । सहमतिसँगै आइतबारबाट सेयर कारोबार नियमित रुपमा सञ्चालन हुने ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले बताए । ‘अर्थ सचिवले हाम्रो समस्या समाधान गर्ने आश्वासन दिनु भएको छ, अब आइतबारबाट सेयर कारोबार खुल्छ’, ब्रोकर एसोसियसनका अध्यक्ष रेग्मीले भने । आन्तरिक राजश्व विभागले महालेखा परिक्षकको रिपोर्टका हवाला दिँदै ब्रोकर कम्पनीहरुसँग चार आर्थिक बर्षको कमिसनमा भ्याट असुल्ने भन्दै पत्राचार गरेको थियो । ब्रोकरहरुले लगानी कर्तासँग आफुहरुले भ्याट असुली नगरेकाले विभागलाई भ्याट नतिर्ने भन्दै असार १५ गते बिहिबार सेयर कारोबार बन्द गरेका थिए ।
सानिमा माई हाइड्रोलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा माई हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले हाइड्रोलार्ई एक अर्ब ५ करोड रुपैयाँ बराबरको एक करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
पोखरा फाइनान्सलाई एफपीओ निष्कासन गर्न बोर्डको अनुमति, प्रतिकित्ता मूल्य २१० रुपैयाँ
काठमाडौं । पोखरा फाइनान्सलाई फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले बिहीबार ९ लाख ८३ हजार ६८२ कित्ता एफपिओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता २ सय २० रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ । सो मात्राको एफपीओ पछि फाइनान्सको पूँजी ५५ करोेड ८४ लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता २४० रुपैयाँमा कारोबार भएको छ ।