कमिसन कटौतीका कारण नेप्सेको नाफा घट्यो

काठमाडौँ, शेयर दलाललाई दिइँदै आएको कमिसनमा व्यापक कटौती गरिएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)को नाफा खस्किएको छ । नेप्सेले आव २०७३/७४ मा  ३७ करोड २० लाख ८५ हजार  रूपैयाँ खुद नाफा गरेकाे छ । आव २०७२/७३ मा नेप्सेले  ४७ करोड ४९ लाख ६० हजार  रूपैयाँ  नाफा गरेको थियो । ब्रोकर कम्पनीलाई दिइँदै आएको कमिसनमा ३० प्रतिशतको कटौतीका कारण नेप्सेको नाफामा कमी आएको हो । नेपाल धितोपत्र बोर्डले शेयर दलाल कम्पनीलाई शेयर कारोबारबापत दिइँदै आएको कमिसनमा भारी कटौती गरेपछि नेप्सेको नाफा घटेको प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए ।  नेप्सेले गत आवमा  ४६ करोड ७८ लाख २३ हजार ६७ धितोपत्र कारोबारबाट आम्दानी गरेको छ भने अघिल्लो वर्ष  ६९ करोड ६१ लाख ९४ हजार रूपैयाँ आम्दानी गरेको थियो । गत आवमा १०१ वटा संगठित संस्थाले धितोपत्र निस्काशन गरी  ५९ अर्ब ३९ करोड ५४ लाख रूपैयाँ बराबरको पूँजी परिचालन गरेका छन् । प्राथमिक बजारतर्फ रकमका आधारमा अघिल्लो आवको तुलनामा परिचालित रकममा करिब २१२ .६३ प्रतिशतले वृद्धि भएको छ भने पूँजी परिचालनकर्ता संगठित संस्थाको संख्यामा ८३.६४ प्रतिशतले वृद्धि भएको छ । यस्तै दोस्रो बजारमा आव २०७२/७३ मा १ खर्ब ६३ अर्ब ९५ करोड रूपैयाँ बराबरको धितोपत्रको कारोबार भएकोमा आव २०७३/७४ मा २४.९० प्रतिशतले वृद्धि भई र२ खर्ब ४ अर्ब ७९ करोड रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । परिणामस्वरुप दैनिक औषत कारोबार अघिल्लो वर्षको तुलनामा  ७० करोड ३६ लाखबाट बढेर  ८९ करोड तीन लाख रूपैयाँ पुगेको छ । कारोबार संख्यातर्फ आव २०७२/०७३ मा ८ लाख ३६ हजार ९०२ वटा कारोबारबाट ३० करोड २० लाख २० हजार कित्ता शेयर खरिद बिक्री भएकोमा आव २०७३/७४ मा १३ लाख ५५ हजार ५८५ कित्ता शेयर कारोबारबाट ३९ करोड ३५ लाख ३८ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । अघिल्लो आवको तुलनामा ६९.९८ प्रतिशतले वृद्धि भएको छ भने कारोबार भएको शेयर कित्तामा गणना गर्दा २९.९९ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ । घट्यो बजार पूँजीकरण  आव २०७२/७३ मा १८ खर्ब ९० अर्ब रूपैयाँ  रहेको नेपालको धितोपत्र बजार पूँजीकरणका १.७९ प्रतिशतले कमी आई आव २०७३/७४ मा  १८ खर्ब ५६ अर्ब रूपैयाँ कायम भएको छ । आव २०७२/ ७३ मा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २२९ रहेकोमा आव २०७३/७४ मा थप १२ कम्पनी सूचीकृत भएका छन् । यस्तै ३३ कम्पनी एक आपसमा गाभिएर तथा प्राप्ति भई उक्त संख्या २०८ कायम भएको छ । समीक्षा वर्षमा कूल १७३ कम्पनीको रु ३५ अर्ब १७ करोड बोनस शेयर र ७३ कम्पनीको  ३० अर्ब ४६ करोड ४८ लाख रूपैयाँ बराबरको हकप्रद शेयर सूचीकृत गरिएको छ । परिणामस्वरुप समीक्षा वर्षको अन्त्यमा कूल १ खर्ब ३६ अर्ब ३४ करोड ६९ लाख बराबरका शेयर सूचीकृत भएका छन् । यस अवधिमा ३ अर्बको तीन वटा सामूहिक लगानी कोषको एकाइ, ५७ करोड २२ लाख बराबरको तीन कम्पनीका थप शेयर र ६२ अर्बको तीन प्रकारका सरकारी ऋणपत्रसमेत सूचीकृत भएको नेप्सेले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । नेप्सेमा आव २०७२/ ७३ मा १३१ सूचीकृत कम्पनी क वर्गमा वर्गीकृत भएकोमा आव २०७३/७४ मा १११ कम्पनी क वर्गमा वर्गीकृत छन् । आव २०७२/७३ को अन्त्यमा १ हजार ७१८ दशमलव १५ पुगेको नेप्से परिसूचक समीक्षा वर्षको अन्त्यमा १ हजार ५८२ दशमलव ६७ झरेको छ । उक्त परिसूचक अघिल्लो आवको तुलनामा ७.८९ प्रतिशतले घटेको हो । पचास प्रतिशत नगद लाभांश बाँडिदै  नेप्सेको ३६ औँ वार्षिक साधारणसभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार आजको साधारणसभाले  १५ करोड लाभांश वितरण गरेको छ । जसअनुसार सरकारलाई कूल लाभांशको ५८ प्रतिशतअर्थात ८ करोड ७० लाख रूपैयाँ जानेछ । यसैगरी नेपाल राष्ट्र बैंकले कूल लाभांशको ३५ प्रतिशत अर्थात ५  करोड ३५ लाख पाउने छ भने एनआइडिसी डेभलपमेन्ट बैंकले ६  प्रतिशतअर्थात ९० लाख नाफा पाएको छ ।  नेप्सेमा सरकार, राष्ट्र बैंक र एनआइडिसी डेभलपमेन्ट बैंकसहित केही शेयर दलालको शेयर रहेको छ । रासस

रुरल माइक्रोफाइनान्सले १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने भएको छ । शुक्रबार सम्पन्न कम्पनीको १९औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको सो प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा मिलनकुमार राई र भिमप्रसाद तिमल्सिनालाई निर्विरोध चयन गरेको छ । यस संस्थाको अधिकृत पुँजी एक अर्ब रुपैयाँ र चुक्ता पुँजी ७२ करोड ६७ लाख रुपैयाँ रहेको छ । माइक्रोफाइनान्सले आव २०७३/७४ को अन्तसम्ममा २१ अर्ब ३९ करोड ऋण लगानी गरेको छ ।

नेपाल इन्स्योरेन्सले एक करोड ४३ लाख लाभांश दिने, हकप्रद किन्नेले पनि पाउने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई एक करोड ४३ लाख ८० हजार ५०६ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको एक करोड ३६ लाख ६१ हजार ४८४ रुपैयाँ बोनस र कर प्रयोजनको लागि ७ लाख १९ हजार ०२५ रुपैयाँ बराबरको नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हकप्रद सेयर जारी पश्चात कायम हुने चुक्ता पुँजीमा सो मात्राको लाभांश दिन लागेको हो । यस कम्पनी हाल शतप्रतिशत(१ः१) हकप्रद सेयर निष्कासन गर्ने प्रक्रियामा रहेको छ । सो मात्राको हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ६० करोड ३९ लाख रुपैयाँ पुग्ने छ । कम्पनीले उक्त पुँजीको २.२६१९२ प्रतिशत बोनस सेयर दिने भएको हो । हाल (हकप्रद जारी गर्नु अघि)कम्पनीको पुँजी ३० करोड १९ लाख रुपैयाँ रहेको छ । कम्पनीले वितरण गर्न लागेको बोनस यस पुँजीको ४.५२ प्रतिशत हो । तर हकप्रद पश्चात कायम हुने पुँजी(६० करोड ३९ लाख रुपैयाँ)लाई हिसाब गर्दा बोनस दर घटेर २.२६ प्रतिशत हुन पुगको कम्पनीले जनाएको छ । साथै, सो मात्राको बोनस कम्पनीकाे १०० प्रतिशत हकप्रद किन्नेले पनि पाउने छन् ।