गुहेश्वरी मर्चेण्ट बैंकिङ्गकाे १५ प्रतिशत बोनस सेयर पारित, हकप्रद किन्नेले पनि पाउने
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को सेयरधनीलाई १५.७९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । आइतबार(आज) सम्पन्न संस्थाको १६औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमोजिम संस्थाले आ.व. २०७३/०७४ को नाफाबाट १५.७९ प्रतिशत बोनस सेयर दिने भएको छ । उक्त सेयर हालै निष्काशन भई बाडँफाँड गरिएको ४० प्रतिशत हकप्रद सेयरमा समेत प्रदान हुने गरी पारित भएको सभामा जानकारी गराइएको छ । अर्थात संस्थाकाे ४० प्रतिशत हकप्रद किन्नेले पनि सो मात्राको बोनस सेयर पाउने संस्थाले बताएको छ । उक्त बोनस पश्चात संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । हाल सम्ममा निक्षेप २ अर्ब ७७ करोड रुपैयाँ तथा कर्जा २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । साथै, सोही अवधिमा संस्थाले १ करोड ३९ लाख रुपैयँँ संचालन मुनाफा कमाउन सफल भएको संस्थाबाट जारी विज्ञप्तीमा उल्लेख छ । हाल सम्म यस संस्थाको आठ वटा शाखा कार्यालय रहेको छ । साथै, संस्थाले आगामी दिनमा थप दुई शाखा कार्यालयहरु खोल्ने तयारी गर्दैछ ।
९ अंकले ओरालो लागेको बजारमा चिलिमेका लगानीकर्ताले कमाए सबैभन्दा बढी
काठमाडौं । आइतबारको नेप्से परिसूचक ९.१९ अंकले ओरालो लागेको छ । सो दिन बजार खुले पश्चात लगातार ओरालो लागेको परिसूचक बजार बन्द हुँदा भने १४३१ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । आइतबार कुल १५२ कम्पनीको ३२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन ९ लाख ७० हजार कित्ता सेयर किनबेच भएका छन् । झण्डै दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो दिन यस हाइड्रोका लगानीकर्ताले करिब ७ (अर्थात ६.९५)प्रतिशत कमाएका छन् । आइतबार यस कम्पनीका सेयर मूल्य ६२ रुपैयाँले बढेर प्रतिकित्ता ९५४ रुपैयाँ पुगेको छ । उता सेन्ट्रल फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा बढी (अर्थात ६.२९ प्रतिशत) गुमाएका छन् । सेयर बजारमा हाइड्रो र अन्य समूहको परिसूचक बाहेक बाँकी अन्य समूहको सूचक राताम्मे भएका छन् । हाइड्रो र अन्य समूहको परिसूचक क्रमशः ५५ र ३ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक ९७ अंकले ओरालो लागेको छ ।
महालक्ष्मी विकास बैंकले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । गत शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो मात्राको लाभांश दिने निर्णय गरेको हो । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई सो मात्राको नगद लाभांश वितरण गर्न लागेको हो । उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भै बैंकको साधारणसभाले अनुमोदन गरे पश्चात मात्र सेयरधनीलाई वितरण गरिने छ ।