तीन कम्पनीको सेयर मूल्य समायोेजन

काठमाडौं । सोमबार मात्रै तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले एक संस्थाको बोनस र दुई कम्पनीको हकप्रद सेयरपछिको सेयर मूल्य समायोजन गराएको हो । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६२१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३६० रुपैयाँ रहेको थियो । त्यस्तै, सोमबार नै गण्डकी विकास बैंकको २५ प्रतिशत हकप्रद सेयर जारी पश्चात मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७६ रुपैयाँ रहेको छ । त्यसैगरी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको पनि हकप्रद सेयर निष्काशन पश्चात नेप्सेले कम्पनीको सेयर मूल्य समायोजन गराएको छ । सामायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६८ रुपैयाँ रहेको छ ।

काँग्रेस सरकारलाई पत्याएन सेयर बजारले, ६ महिनामा ८५ अंकले ओरालो

काठमाडौं । उदार अर्थतन्त्रको प्रवर्तक बताउँदै आएको नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारका पालामा सेयर बजार ह्वात्तै घटेको छ । काँग्रेस सभापति शेर बहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ६ महिने अवधीमा सेयर बजार ८५.४६ अंकले घटेको हो । देउवा प्रधानमन्त्री भएको दिन अर्थात गत जेठ २४ गते १६२३.१३ अंकमा रहेको नेप्से परिसूचक हाल १५३७.६७ अंकमा झरेको छ । संसारभरका कम्युनिष्ट सरकारहरु सेयर बजार प्रति नकारात्मक हुने र बजार ओरालो लाग्ने परिस्थिती बन्दै आएको छ । तर नेपालमा भने खुल्ला बजार अर्थतन्त्रको हिमायती मानिएकै काँग्रेस नेतृत्वको सरकारका पालामा बजार निरन्तर ओरालो लागेको देखिन्छ । अर्काे संयोग के पनि छ भने नेपालको सेयर बजारमा हालसम्मकै उच्च बिन्दु भने कम्युनिष्ट सरकारकै पालामा कायम भएको देखिन्छ । काँग्रेसले सेयर बजारको स्वभाविक विकासक्रमका विरुद्ध कुनै निती नल्याए पनि बजार विस्तारका लागि पनि चासो नदेखाएको लगानी कर्ताहरुले बताउँदै आएका छन् । नागरिक दैनिकबाट

सगुनले शेयर खरिदको समय ७२ घण्टा थप्यो, डिसेम्बर ३ सम्म लगानी गर्न सकिने

काठमाडौं । सगुनले दोस्रो राउण्डको शेयर बिक्री म्याद थप गरेको छ । अमेरिकाको न्यूयोर्क समय अनुसार नोभेम्बर ३० तारिख मध्य रातमा सकिने समय सिमा तोकिए पनि विश्वभरबाट अत्याधिक संख्यामा लगानीकर्ताहरुको चाप तथा बिभिन्न देशहरुमा बैंक ट्रान्सफरमा समस्या देखिएकाले शेयर खरिदको समय ७२ घण्टा थप गरेको हो । अब अमेरिकी न्यूयोर्क समय अनुसार डिसेम्बर ३ तारिकको मध्य रातसम्म लगानी खुल्ला रहनेछ । शेयर लगानीका लागि विश्वभरबाट उत्साहजनक सहभागिता जुटेको सगुनले जानकारी दिएको छ । कम्पनीका अनुसार लगानी गर्ने म्याद गुज्रिनै लाग्दा विश्वभरबाटअत्याधिक संख्यामा लगानीकर्ताहरु शेयर खरिदको प्रकृयामा आएका छन् । अन्तिम समयमा बढेको अनपेक्षित चाप व्यवस्थापन,  केही देशहरुमा वायर ट्रान्सफर देखिएको समस्या र लगानीकर्ताको अनुरोधलाई सम्बोधन गर्नुपर्ने भएका कारण हाल खुल्ला रहेको शेयर बिक्री अवधीलाई ७२ घण्टाका लागि थप गरिएको जानकारी गराएको छ । सगुनले अमेरिकी कानुन जब्स एक्ट २०१२ अन्तर्गत दोस्रो चरण अन्तर्गत मिनी आइपिओ जारी गरेको हो । सगुनकको लगानीको प्रकृयामा प्रवेश गरेका तर व्यवहारिक र प्राबिधिक कठिनाइका कारण शेयर खरिद प्रकृया पूरा गर्न नपाएका लगानीकर्ताहरुको आग्रहलाई मध्यनजर गरेर ७२ घण्टाको समय थप गरिएको हो । अष्ट्रेलिया,  भारत लगायतका कतिपय देशहरुबाट बैंकिङ कारोबारमा समस्या आएको कारण त्यहाँको समस्या समाधान गर्न र हाम्रा लगानीकर्तालाई सहज वातावरण बनाउन थपिएको यो समय प्रयाप्त हुने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार शेयर विक्री कार्यक्रम न्यूयोर्क समय अनुसार नोभेम्बर ३० मध्य राती बाट जम्मा ७२ घण्टाको लागि थप गरिएको जानकारी छ । थपिएको समय अनुसार अब डिसेम्बर ३ तारिख मध्य रात (न्युयोर्क समय)सम्म म्याद रहनेछ । शेयर लगानीको प्रकृयामा प्रवेश गर्ने र थपिएको समय उपयोग गर्दै शेयर खरिद गर्न इच्छुक व्यक्तिहरुलाई थपिएको समय पर्याप्त हुने हाम्रो विश्वास छ । सगुनको साइटमा उपलब्ध फाराम भरेर लगानी प्रकृया पूरा गर्न अनुरोध गर्दै यो भन्दा अरु समय थप नहुने पनि जानकारी गराएको छ ।