एभरेष्ट बैंकले ३४ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ८ अर्ब नाघ्ने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सेयरधनीलाई ३४.७४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई ३३ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.७४ प्रतिशत नगद गरि सो मात्राको लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणा कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको बैठकलाई नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड रुपैयाँ रहेको छ । ३३ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ । शुक्रबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६ रुपैयाँ रहेको छ ।

माछापुच्छ्रे बैंकको एक लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको एक लाख ६० हजार कित्ता हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नेप्सेले शुक्रबार मात्र यस बैंकको सो मात्राको सेयर सूचिकृत गराएको हो । हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । शुक्रबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१४ रुपैयाँ रहेको छ ।

सेयर बजार १५ अंकले ओरालो

काठमाडौं । बिहीबारको सेयर बजार १५.७३ अंकले ओरालो लागेर १४८९ अंकमा झरेको छ । सो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । बजारमा कुल ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । दोहोरो अंकले ओरालो लागेको बजारमा सबै समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६९ अंकले ओरालो लागेको छ । त्यस्तै, फाइनान्स, अन्य समूह र ट्रेडिङ समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ४.९६ प्रतिशतले घटेको छ ।