स्वावलम्बन विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य १२४२ रुपैयाँ

काठमाडौं । मंगलबार स्वावलम्बन विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्जले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४२ रुपैयाँ रहेको छ । जसको अधार मूल्य १२७४ रुपैयाँ रहेको थियो ।

नेप्से परिसूचक दोहोरो अंकले उकालो, ७१ करोडको सेयर किनबेच

काठमाडौं । सोमबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । आइतबार १६ अंकले उकालो लागेको नेप्से साताको दोश्रो दिन पनि दोहोरो अंकले बढेको छ ।  सोमबार नेप्से १३ अंकले उकालो लागेर १४९० अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा सोमबारको कारोबार रकममा झण्डै दोब्बरले वृद्धि भएको छ । सोमबार ७१ करोडको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ३१ करोड ७५ लाख रुपैयाँ बढी हो । आइतबारको बजारमा जम्मा ३९ करोडको करोबार भएको थियो । सोमबार १५८ कम्पनीको १७ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड २४ लाख २६ हजार रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३०० रुपैयाँ रहेको छ । त्यस्तै, प्रभु बैंकको पनि ५ करोड रुपैयाँको प्रमोटर सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक ७५ अंकले बढेको छ । होटल र विकास बैंक समूह ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले बढेको छ ।

सिभिल बैंकको मंसिर ५ गते बुक क्लोज, ४० प्रतिशत हकप्रद जारी गर्दै

काठमाडौं । सिभिल बैंकले आगामी मंसिर ५ गते बुक क्लोज गर्ने भएको छ । बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीले २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएकाे छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ७ अर्ब २५ करोड रुपैयाँ नाघ्ने छ ।