बैंक अफ काठमाण्डूले ६१ लाख कित्ता एफपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य ३१० रुपैयाँ

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)ले ६१ लाख ५८ हजार ०६७ कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा २१० रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ३१० रुपैयाँमा एफपिओ निष्कासन गर्ने भएको छ । बैंकले कुल एक अर्ब ९० करोड ९० लाख ७७० रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको हो ।

नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, कारोबार भएका सबै समूह हरिया

काठमाडौं । मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा मंगलबार परिसूचक १३ दशमलब ५१ अंकले उकालो लागेर १६५० अंकमा पुगेको छ । सोमबार परिसूचक जम्मा ८ अंकले उकालो लागेको थियो । त्यस्तै, परिसूचक सँगै कारोबार रकममा पनि केही वृद्धि भएको छ । मंगलबार बजारमा ६१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ करोड रुपैयाँ बढी हो । मंगलबार १४२ कम्पनीको १ लाख कित्ता सेयर किनबेच भएको छ । मंगलबार कारोबार भएका सबै (अर्थात ७ वटा) समूह हरिया देखिएका छन् । सबैभन्दा बढी हाइड्रेपावर समूहको परिसूचक ११५ अंकले उकालो लागेका छन् । त्यस्तै, बीमा , विकास बैंक र होटल समूहका परिसूचक क्रमशः ६६, २५ र २२ अंकले उकालो लागेका छन् । बैंक, फाइनान्स र अन्य समूहको परिसूचक भने सामान्य अंकले उकालो लागेका छन् ।

एसबीआई बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०२९ रुपैयाँ मात्र

काठमाडौं । मंगलबार नेपाल एसबीआई बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ४० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०२९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १०५० रुपैयाँ रहने छ ।