१२ अर्ब १९ करोड रुपैयाँको हकप्रद सेयर आउँदै, २४ कम्पनीले मागे अनुमति

काठमाडौं । बजारमा कुल १२ अर्ब १९ करोड ६४ लाख रुपैयाँको हकप्रद सेयर आउने प्रक्रियामा छन् । सो मात्राको हकप्रद निष्कासनको लागि २४ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । गत चैत मसान्तदेखि हालसम्म २४ कम्पनीले १२ करोड १९ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन् । बैंक तथा वित्तीय संस्था, जलविद्युत, बिमा, विकास बैंक लगायत लघुवित्त कम्पनीका हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । पाइपलाइनमा रहेका सबै कम्पनीले बोर्डको अनुमति पाएपछि मात्र सो मात्राको सेयर बजारमा आउनेछ । नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी वृद्धि गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएपछि बजारमा यसरी हकप्रद सेयरको चाप बढेको हो ।

बजारमा ७९ करोडको सेयर कारोबार, दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौं । बिहीबारको सेयर बजारमा ७९ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४४ कम्पनीको १२ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भएको छ । भार्गव विकास बैंक र साहारा विकास बैंकको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भएको हो । दुई कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता ३६३ र ५५० रुपैयाँ रहेको छ । त्यस्तै, साङ्ग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ६ प्रतिशत वृद्धि भएको छ । बजारमा उत्पादनमूलक समूहको परिसूचक बाहेक अन्य समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९३ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूहको परिसूचक भने सामान्य अंकले उकालो लागेको छ । समग्रमा सो दिन नेप्से परिसूचक ९ दशमलब २० अंकले ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा बिहीबारको परिसूचक ०.५५ प्रतिशतले ओरालो लागेर १६५३ दशमलब १८ अंकमा झरेको छ ।

सिभिल बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता २५९ रुपैयाँ

काठमाडौं । सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २ दशमलब ८८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २५९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य २३४ रुपैयाँ रहने छ ।