शेयर कर्जा लिन लगानीकर्ता उत्साहित
बनेपा । काठमाडौं बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घोषणा गरेपछि त्यसको प्रभाव काभ्रेपलाञ्चोकको बनेपा र धुलिखेलमा रहेका विभिन्न बैंकका शाखामा पनि परेको हो । मोफसलमा रहेका बैंकले काठमाडौंमा जस्तै शेयर कर्जा लिनेको भीड नभए पनि स्थानीय तहमा बनेपा, धुलिखेल र आसपासका लगानीकर्ताले शेयर कर्जा लिन आइरहेको सम्बन्धित बैंकले जनाएको छ । एनआइसी एशिया बनेपा शाखाका प्रबन्धक कृष्णराज बराकोटीले गत साउनदेखि नै शेयर कर्जा लिन आउने लगानीकर्ता देखिएको उल्लेख गर्दै कम्पनी हेरेर बजार मूल्यको ४० देखि ५० प्रतिशत शेयर कर्जा दिएको बताए । उनले भने, “थोरै रकम भए शाखाबाट पनि दिन्छौँ बढी नै रकम भए मुख्य कार्यालयमा पठाउँछौँ ।” सेञ्चुरी कमर्सियल बैंक, धुलिखेल शाखाका प्रबन्धक नवीन मकाजुले सानो रकमको रूपमा पाँच लाख रूपैयाँदेखि ठूलो रकमका रुपमा दुई करोड रुपैयाँसम्म शेयर कर्जा दिएको उल्लेख गर्दै शेयर बजार सुस्ताएका बेला शेयर कर्जा लिने पनि कम हुने बताए । उनले मार्जिन कल आउँदा समस्या देखिएको जानकारी दिँदै धुलिखेल आसपासबाट शेयर कर्जा लिने बढ्दै गएको बताए । कार्यालय खुलेपछि यस क्षेत्रमा शेयर लगानीकर्ताको पनि चाप बढिरहेको ब्रोकर सञ्चालकले जनाएका छन् ।वित्तीय करोबार बढी हुने बनेपामा बैंकसँगै सहकारीबाट ऋण लिएर पनि लगानीकर्ताले शेयरमा लगानी गर्दै आएका छन् । शेयर बजार घटिरहेका बेला शेयर खरिदकर्ताको चाप बढिरहेकाले शेयर कर्जा लिनेको संख्या पनि बढ्दै गएको हो । रासस
रुरल माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने
काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको संचित नाफाबाट ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय असोज २० गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । संचालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाबाट पारित भएपछि कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशतले हुने रकम तीन करोड ४६ लाख ६ हजार रुपैयाँ बोनस वितरण गर्ने छ । साथै, चुक्ता पूँजीको १५ प्रतिशतले हुने रकम १० करोड ३८ लाख १८ हजार रुपैयाँ नगद लाभांश (बोनस र नगद लभांशको कर सहित) वितरण गर्ने कम्पनीले जनाएको छ ।
सिन्धु विकास बैंकको हकप्रद सेयर बिक्रीको म्याद १४ दिन थप
काठमाडौं । सिन्धु विकास बैंकको हकप्रद सेयर निश्कासन तथा बिक्री खुलाको म्याद १४ दिन थप भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म हकप्रद बिक्री खुला गर्ने निर्णय गरेको थियो । सो अवधिमा दशैंको लामो बिदा पर्न गएको हुँदा कम्पनीले हकप्रद सेयरको खरिदको म्याद आगामी कात्तिक ५ गतेसम्म थप्ने निर्णय गरेको छ । बैंकले चुक्तापुँजी बढाउन ८० प्रतिशत अर्थात २० करोड ९७ लाख रुपैयाँ बराबर २० लाख ९७ हजार ५४० कित्ता हकप्रद बिक्री खुला गरिरहेको छ । इच्छुक सेयरधनीले कात्तिक ५ गते(बैंकिङ समयसम्म) एनआईबिएल क्यापिटल मार्फत सो मात्राको हकप्रद सेयर खरिद गर्न सक्नेछन् ।