कैलाश विकास बैंकले १० प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश दिने
काठमाडौं । कैलाश विकास बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले ९.५० प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले गत वर्षको मुनाफा बाट सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २९ करोड १४ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।
आरएसडिसी लघुवित्तले १३ प्रतिशत बोनस सेयर दिने, पूँजी १३ करोड रुपैयाँ पुग्ने
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १३ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । उक्त बोनस सेयर दिने निर्णय कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । उक्त पूँजीमा १३ प्रतिशत अर्थात एक करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको कम्पनीले जनाएको छ । सो मात्राको बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी करिब १३ करोड रुपैयाँ कायम हुने छ । कम्पनीको सञ्चालक समितिको बैठकलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सो मात्राको बोनस वितरण गरिने छ ।
स्वरोजगार लघुवित्त विकास बैंकको १६.६६ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर
काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकले १६.६६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको निर्णय अनुसार कात्तिक ११ गतेको साधारण सभाबाट पारित गरेपछि लगानी कर्तालाई चुक्ता पुँजीको १६.६६ प्रतिशत अर्थात एक करोड ७४ लाख ९९ हजार ६ सय ८० रुपैंयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । बैैंकले बोनस सेयर वितरण पछि कायम हुने चुक्ता पुँजीको शत प्रतिशतका दरले हकप्रद सेयर समेत निष्काशन गर्ने भएको छ । नवौं बार्षिक साधारण सभाका लागि बैंकले असोज २३ गतेदेखि बुक क्लोज गर्नेछ । असोज २३ गतेअघि सम्म सेयर खरिद गरेका लगानी कर्ताहरुले बोनस सेयर तथा हकप्रद सेयर पाउनेछन् ।