भिबोर सोसाइटीमा लुम्बिनी फाइनान्स गाभियो, लुम्बिनी विकास बैंकको नामबाट एकीकृत कारोबार शुरु
काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि.मा लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लि. गाभिएको छ । आइतबार उक्त फाइनान्स भिबोर सोसाइटी डेभलपमेन्टमा गाभिई लुम्बिनी विकास बैंक लि.को नामबाट एकिकृत कारोवार शुरु गरेको छ । दुई बैंक गाभिए पश्चात बनेको नयाँ विकास बैंकको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपालले आइतबार एक कार्यक्रम बीच गरेका हुन् । उक्त विकास बैंकको केन्द्रीय कार्यालय साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको स्थान डिल्लीबजारमा रहेको छ । विकास बैंकको संचालक समिति हाल ६ सदस्यको रहेको छ भने समितिको अध्यक्षमा सुशिल राज पराजुली रहेका छन् । यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले सम्हालेका छन् । गाभिए पश्चात बनेको बैंकको चुक्ता पुँजी २ अर्ब ८८ लाख रुपैयाँ पुगेको छ । मर्ज सम्पन्न भएलगत्तै चुक्ता पूँजीको १० प्रतिशतका दरले हकप्रद शेयर जारी गरि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको चुक्ता पूँजी पुर्याइने छ । यसैगरी गाभिए पश्चात संस्थाको कुल निक्षेप १७ अर्ब, कर्जा १५ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकको ४९ वटा शाखा संजाल तथा १२ वटा आफ्नै एटिएमबाट २१ जिल्लामा बैंकिङ्ग सेवा सुविधा उपलव्ध हुनेछ । दुवै संस्था एक आपसमा गाभिए पश्चात थप सवल एवँ सुदृढ संस्थाको रुपमा वित्तीय बजारमा आएको लुम्बिनी विकास बैंकले ग्राहकहरुको सुबिधाको लागि आफ्नो शाखा सन्जाल प्रयोग गरि थप सरल, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्न कटिवद्ध रहेको छ । देशभर छरिएर रहेको पूँजीलाई उत्पादनशिल क्षेत्रमा लगाई समग्र देशको आर्थिक प्रगतिको लागि योगदान पुर्याउदैं वित्तीय पहुँच नपुगेका ग्रामिण क्षेत्रमा थप शाखाहरु बिस्तार गर्ने नीति विकास बैंकको रहेको छ ।
आइतबारको सेयर बजारमा उतारचढाव, एकैदिन एक अर्ब १२ करोडको सेयर कारोबार
काठमाडौं । नयाँ मौद्रिक नीति सार्वजनिक भएको आइतबारको सेयर बजारमा उतारचढाव आएको छ । दिनभर उतारचढाव भएको बजारमा कारोबार बन्द हुँदा नेप्से सामान्य अंकले उकालो लागेको छ । आइतबार मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अघिको बजार निरन्तर उकालो लागिरहेको थियो । त्यसपछि मौद्रिक नीति सार्वजनिक भएपछि १६०५ अंकमा रहेको परिसूचक एक्कासी घटेर १५६२ अंकमा झरेको थियो । त्यस्तै, कारोबार बन्द हुँदा भने नेप्से २ दशमलब ०४ अंकले बढेर १५८४ अंकमा पुगेको छ । सामान्य अंकले बढेको सेयर बजारमा एक अर्ब १२ करोडको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबार(बिहीबार)को तुलनामा ३९ करोड ३८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बिहीबार बजारमा ७६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड २७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१७८ रुपैयाँ रहेको छ । आइतबार दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.९७ प्रतिशत र सेन्ट्रल फाइनान्स कम्पनीको ९.८८ प्रतिशतले सेयर मूल्य बढेको छ । समग्रमा, आर्थिक वर्ष २०७४/७५ को लागि आईतबार सार्वजनिक गरिएको मौद्रिक नीति सेयर बजारप्रति निकै उदार र स्पष्ट रहेको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले ८३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले ८३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैैठकले गरेको हो । आज कम्पनीको विशेष साधारणसभा बस्दै छ । उक्त सभाले कम्पनीको सो मात्राको हकप्रद निष्काशन गर्ने निर्णयलाई पारित गर्ने छ ।