सांग्रिला डेभलपमेन्ट बैंकको १०.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २१औं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न हुँदै उक्त प्रस्ताव पारित भएको हो । सभाले बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसा को ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित) तथा ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । बैंकले नगदतर्फ १९ करोड ५ लाख ५३ हजार ६ सय २६ रुपैयाँ ३० पैसा र बोनस सेयरतर्फ १७ करोड ७८ लाख १२ हजार ७ सय ८५ रुपैयाँ ९८ पैसा बराबरको लाभांश वितरण गर्नेछ । प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसा पुग्नेछ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै लेखा परीक्षकको नियुक्ति, प्रबन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ । बैंकले आम नागरिकको विश्वासका कारण हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको जनाएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तर पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवा विस्तारलाई थप तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

५४ कम्पनीको सेयर मूल्य बढ्यो, एसवाई प्यानलमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ अंकले घटेर २५८१ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ५४ कम्पनीको मूल्य बढ्दा २०० कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।  सोमबार ३३२ कम्पनीको ९१ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार लुम्बिनी बिकास बैंकको भएको छ । लुम्बिनीको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड, मन्जुश्री फाइनान्सको ७ करोड ३९ लाख, हिमालयन पावरको ७ करोड २९ लाख  र सिटिजन्स लाइफको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा व्यापारबाहेक सबै समूहका सूचक घटेका छन् । व्यापार ०.५७ प्रतिशतले बढेको छ । जीवन बीमा १.०१, होटल तथा पर्यटन १.२६ प्रतिशतले घटेका छन् । बैंकिङ ०.३५, विकास बैंक ०.३७, फाइनान्स ०.१५, हाइड्रोपावर ०.६६, लगानी ०.९७, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.४५, निर्जीवन बीमा ०.४५ तथा अन्य ०.६९ प्रतिशतले घटेका छन् । सोमबार एसवाई प्यानलको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।   

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको छ । पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । साथै, सोहीअनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरी नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि बैठकले गरेको बैंकले जनाएको छ ।