राष्ट्र बैंकले खर्बौंको बजारसँग लंगुरबुर्जाको जस्तो ब्यवहार गर्यो : राधा पोखरेल
काठमाडौं । लगानीकर्ता राधा पोखरेलले राष्ट्र बैंकले खर्बौंको बजारसँग लंगुरबुर्जाको जस्तो ब्यवहार गरेको बताएकी छिन् । राष्ट्र बैंकले संशोधन गरेको सेयर धितो कर्जाको सीमामा असन्तुष्टि पोख्दै उनले यस्तो बताएकी हुन् । उनले राष्ट्र बैंकको नीतिका कारण पूँजी बजार सिथिल बनेको समेत आरोप लगाईन् । ‘राष्ट्र बैंकको चेपुवा नीतिबाट थिलथिलो बनेको पुँजी बजारमा समय समयमा लिने नीति नियमको परिवर्तन हेर्दा खर्बौंको बजारसँग लंगुरबुर्जाको जस्तो ब्यवहार गर्ने गरेको छ,’ उनले भनिन्, ‘नेपालको सेयर बजार टुकुटुक हिँड्न थालेको समयमा नियामक निकायबाट बेला बेलामा बेमौसमी बाजा बजाउँदा लगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्यामा छ ।’ राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै सेयर धितो कर्जाको सीमा व्यक्तिगततर्फ १५ करोड रुपैयाँ र संस्थागतलाई २० करोड रुपैयाँ पुर्याएको हो । लगानीकर्ताको चहर्याई रहेको घाँउमा राष्ट्र बैंकले थप नुन चुक छर्किने काम गरेको समेत आरोप उनको छ । ‘धेरै समयदेखि राष्ट्र बैंकको नीतिको मारमा रहेको सेयर बजारमा कतिपय बजार विरोधी व्यवस्था, नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताडित लगानीकर्ता चारैतिरबाट थिलथिलो हुँदै गएको पुँजी बजारमा ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धालगायतका कारणले बजार घटिरहँदा धेरै लगानीकर्ता अलमलमा छदैछन् त्यस्को बाबजुद लगानीकर्ताहरुलाई चहर्याई रहेको घाँउमा राष्ट्र बैंकले थप नुन चुक छर्किएको छ,’ उनले भनिन् ।
सेयर कर्जा सीमा अधिकतम २० करोड रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको १२ करोडको सीमा हटेको छ । राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै सेयर धितो कर्जालाई व्यक्तिगत तर्फ १५ करोड र संस्थागत २० करोड रुपैयाँ पुर्याएको हो । ‘कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको छ, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको छ,’ एकीकृत निर्देशनमा भनिएको छ । अब सेयर धितो राखेर व्यक्तिगत लगानीकर्ताले १५ करोड रुपैयाँसम्म कर्जा लिन पाउने छन् भने संस्थागत लगानीकर्ता २० करोड रुपैयाँ कर्जा लिन पाउने छन् । यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फ १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्थ थियो । राष्ट्र बैंकले पूँजी बजारमा ब्यक्तिगत लगानीकर्ताभन्दा संस्थागत लगानीकर्तालाई बढी सक्रिय बनाउन खोजिएको देखिन्छ ।
सेयर बजार र घरजग्गाका कारण अर्थतन्त्र नबिग्रिएको दावी
काठमाडौं । पछिल्लो समय सर्वसाधारणदेखि विज्ञहरुले सार्वजनिक रुपमा नै सेयर बजार र घरजग्गामा लगानी बढेका कारण अर्थतन्त्रमा समस्या आएको बताउँदै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सो क्षेत्रमा मात्रै कर्जा प्रवाह गरेको आरोप लाग्दै आएको छ । साथै सेयर बजार र घरजग्गालाई अनुत्पादक क्षेत्रका रुपमा चित्रण गरिँदै आएको छ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले भने सेयर बजार र घरजग्गामा लगानी गरेका कारण अर्थतन्त्र नबिग्रिएको र यस क्षेत्रलाई उत्पादनमुलक क्षेत्रका रुपमा घोषणा गर्नु पर्ने माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सेयर बजार र घरजग्गाका कारण अर्थतन्त्र नबिग्रिएको बताए । बिहीबार उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्ड (सेबोन)को शिक्षा तथा सचेतना सम्बन्धि सम्झौता कार्यक्रममा उनले पूँजी बजारमा ६० लाख मान्छे जोडिएको हुँदा सेयर बजारप्रति नकारात्मक धारणा नराख्न सबैलाई आग्रह गरे । अहिले त्रासको स्थिती सिर्जना गरिएको हुँदा सकारात्मक सन्देश प्रवाहमा जोड दिनु पर्ने उनको भनाइ छ । ‘बैंकमा ५ खर्ब रुपैयाँ पैसा छ तर, पैसाको अभावमा व्यवसाय क्रियाकलाप बढ्न सकिरहेको छैन किनभने आम मानिसमा त्रासको वातावरण छ,’ उनले भने, ‘घरजग्गामा लगानी गरेका कारण सबै बिग्रियो, सबै व्यवसायीहरु घरजग्गामा डाइभर्ट भए भन्ने भाष्य तयार पारियो, व्यवसायीहरुका कारण मात्रै अहिलेकाे स्थिती आएको होइन ।’ सेयर बजारमा कारोबार गर्ने ब्यक्ति तथा संस्थाका कारण मात्रै अहिलेको स्थिती नआएको उनको भनाइ छ । अहिलेको स्थिती आउनुमा आन्तरिकतर्फ नियामकीय व्यवस्थादेखि बाह्य कारण रहेको उनले बताए । साथै, बढी हल्ला र त्रासले पनि नकरात्मकता बढेको उनको भनाइ । सकारात्मक सन्देश प्रवाह गर्नु अहिलेको वास्तविक खाचो रहेको उनले बताए । ‘कोरोनापछि धेरै नकारात्मकता फैलियो, चाहिने भन्दा बढी त्रास देखाईयो, जसले गर्दा अहिलेको स्थिति आयो, सर्वसाधारणमा मनोबल बढाउन रास्ट्र बैंक, सेबोन लगायत सबैले सकारात्मक भूमिका खेल्नु पर्छ,’ उनले भने । महासंघको जिल्ला नगरतर्फका उपाध्यक्ष सुरकृष्ण वैद्य पूँजी बजार अनुत्पादक नभई उत्पादनमुलक क्षेत्र भएको बताउँछन् । पूँजी बजारलाई अनुत्पादकमुलक क्षेत्र भनेर गलत प्रचार गरिएकाले सो शब्द फिर्ता लिनुपर्ने उनको भनाइ छ । उद्योगी व्यवसायीलाई लगानी अभाव भएको बेला सेयर बजार लगानी जुटाउने स्रोत रहेको उनले बताए । ‘सेयर कारोबार बजार उत्पादनमुलक क्षेत्र हो, अर्थतन्त्रलाई चलायमान गर्ने क्षेत्र सेयर बजार हो, कुनै व्यवसाय गरेर ५ वर्षमा १ करोड रुपैयाँ कमायो भने त्यो रकम सहज रुपमा निकाल्न सकिँदैन, यदि सेयर बजारमा सोही बराबरको रकम कमायो भने ३ दिनभित्र निकाल्न सकिन्छ,’ उनले भने, ‘लगानीकर्ताले सेयर बजारबाट कमाएको रकमले होटल, सिमेन्ट, डण्डी, पर्यटनदेखि सबै उद्योगमा लागनी गर्न सक्छन्, त्यसकारण अनुत्पादक भन्ने शब्द हटाउनु पर्छ ।’ दूरदराजका मान्छेलाई पनि पूँजी बजार सहज रुपमा पहुँच पुर्याउन पहलकदमी चाल्नु पर्ने उनले बताए । साथै, लगानीकर्ताले कारोबार गर्दा तत्काल फाइदा हुने र दीर्घकाल फाइदा हुने गरी लगानी गर्नु पर्ने उनको भनाइ छ । सेयर कारोबार गर्दा लगानीकर्ताको लगानी नडुबोस् भन्ने हेतुले सचेतना आवश्यक रहेको उनको भनाइ छ । महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकाल पूँजी बजारले लगानीको ठूलो हिस्सा ओगटेको बताउँछन् । सेयर बजार र घरजग्गा कारोबारका बारेमा नकारात्मक सन्देश प्रवाह गरेको हुँदा घाइते अवस्थामा पुगेको उनको भनाइ छ । ‘पूँजी बजारले लगानीको ठूलो हिस्सा ओगटेको छ, सेयर बजार र घरजग्गा कारोबारका बारेमा नकारात्मक सन्देश फैलाउँदा अहिले घाइते अवस्थामा छ,’ उनले भने, ‘पूँजी बजारमा ठूलो हिस्सा सरकारपछि निजी क्षेत्रले ओगटेको छ, महासंघ र सेबोनको सहकार्यले बजारमा तरङ्ग ल्याउने छ ।’ महासंघको एशोसिएटतर्फको उपाध्यक्ष ज्योत्सना श्रेष्ठले सेयर बजारलाई उत्पादनमुल्क क्षेत्रका रुपमा विकास गर्नु पर्ने बताइन् । सेयर बजारलाई पूँजीको जोहो गर्ने स्रोतका रुपमा लिनु पर्ने उनको भनाइ छ । हकप्रद सेयर सेयरधनीहरुको नैसर्गिक अधिकार सेबानका अध्यक्ष रमेशकुमार हमालले हकप्रद सेयर सेयरधनीहरुको नैसर्गिक अधिकार रहेको बताए । कमजोर कम्पनीले नै हकप्रद सेयर जारी गर्ने अभ्यास विश्वभर रहेको उनको भनाइ छ । ‘हकप्रद सेयर सेयरधनीहरुको नैसर्गीक अधिकार हो, कम्पनी अफ्ठ्यारोमा परेका बेला ७५ प्रतिशत सेयरधनीहरुले साधारण सभाबाट पारित गरेर कम्पनी जोगाउनु पर्छ भन्छन्, हकप्रद सेयर संसारका अन्य देशहरुमा पनि जारी गर्ने अभ्यास छ,’ उनले भने, ‘म २०१७ मा नेपाल आउँदा हकप्रद सेयर जारी गरेका अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको थियो तर, अहिले बजारमा हकप्रद सेयर बन्द गर्नु पर्ने आवाज उठेको छ ।’ देश विकास गर्नका लागि सोचमा परिवर्तन र सहकार्य आवश्यक रहेको उनको भनाइ छ । सिस्टम अनुसार सबै अघि बढ्नु पर्ने उनले बताए । अहिले समाजमा देखिएको नकारात्मकताले देश विकास हुन नसक्ने उनको भनाइ छ । सबैको सहकार्यले नै अघि बढ्नु पर्ने उनले बताए । ‘प्रधानमन्त्री, मन्त्री लगायत कुनै पनि पदाधिकारीलाई असिमित अधिकार दिनु हुँदैन, सिस्टमले चल्नु पर्छ, धितोपत्र बोर्डका अध्यक्षले चाह्यो भने आज आईपीओ बन्द गर्ने, ५ वर्ष पछि खोल्ने अधिकार अध्यक्षलाई दियो भनेसंस्था ध्वस्त हुन्छ,’ उनले भने, ‘त्यसैले कसैलाई पनि असिमित अधिकार दिनु हुँदैन, देश विकास गर्न सकारात्मक सोच र सहकार्य जरुरी छ ।’