घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति दिएसँगै हाइड्रोले चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । बोर्डले असोज १८ गते मात्रै कम्पनीलाई हकप्रदको लागि स्वीकृति दिएको थियो ।

पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा, झलनाथ खनाल प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री विजयकुमारसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्द मुद्दा दायर गरेको हो । उनीहरुले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आयोगले बताएको छ । अख्तियारका अनुसार आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोय गरी कानुनविपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेका छन् । त्यस्तै, अख्तियारले तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, हालको राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अध्यक्ष पन्तले प्रचलित कानुनविपरीत लागत साझेदारी शुन्य रहेको प्रतिष्ठानको नाममा सरकारी रकम प्राप्त हुने साझेदारीमा हस्ताक्षर गरी १७ करोड ९८ लाख ३३ हजार निकासा लिएको र अरुले सञ्चालक समितिको बैठकबाट कानुनविपरीत निर्णय गरी सरकारी रकम संस्थाको उद्देश्य र स्वीकृत कार्यक्रम विपरीत खर्च गरेको अख्तियारले बताएको छ । अख्तियारले आइतबार मात्रै विशेष अदालत, काठमाडौंमा उक्त मुद्दा दायर गरेको हो । जसमा उनीहरुबाट १७ करोड ९८ लाख रुपैयाँ असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको माग समेत गरिएको छ । यादव तत्कालीन मन्त्री भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ अनुसार थप कैद सजाय समेत मागदाबी गरिएको छ । सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारको आर्थिक वर्ष २०७६र०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहितको बजेट छुट्याइएको थियो ।

५ बैंकसहित ४१ कम्पनीको घोषणा लाभांश, अधिकतम् २५६ प्रतिशतसम्म

काठमाडौं । चालु आर्थिक वर्षमा लाभांश घोषणा गर्ने कम्पनीको संख्या ४१ पुगेको छ । पूँजी बजारसँग सम्बन्धित विभिन्न ४१ वटा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश घोषणा गर्नेमा ५ वटा वाणिज्य बैंकसहित लघुवित्त संस्था, जलविद्युत कम्पनी, होटल कम्पनी, म्यूचुअल फण्ड, मर्चेन्ट बैंक र ब्रोकर कम्पनी रहेका छन् । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, सिटिजन्स बैंक,आरएसडिसी लघुवित्त, युनिक लघुवित्त वित्तीय संस्था, ओरियन्टल होटल र सानिमा माइ हाइड्रोपावर लगायतका कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो । त्यस्तै, एभरेष्ट बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सानिमा बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७९/८० नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, युनिक लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, ओरियन्टल होटलले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, सानिमा माइ हाइड्रोपावरले चुक्ता पूँजीँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । १७ म्युचुअल फण्ड नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृतमध्ये हालसम्म १७ वटा म्युचुअल फण्डले मात्रै गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । सानिमा इक्विटी फण्डले १८ प्रतिशत, सनराइज फष्र्ट म्युचुअल फण्डले १६ प्रतिशत, एनएमबि हाईब्रिड फण्ड एल–१ले १५ प्रतिशत, एनएमबि फिफ्टीले १५ प्रतिशत, एनआईसी एशिया डाइनामिक डेब्ट फण्डले १० प्रतिशत, कुमारी इक्विटी फण्डले १० प्रतिशत र नबिल ब्यालन्स्ड फण्ड २ ले ९.६ प्रतिशत प्रतिफल वितरण गरेका हुन् । त्यस्तै, लक्ष्मी उन्नति कोषले ९.५ प्रतिशत, प्रभु सेलेक्ट फण्डले ९.५ प्रतिशत, लक्ष्मी इक्विटीले ८ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ ले ८ प्रतिशत, एनआईबिएल प्रगति फण्डले ६.८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ले ६.५ प्रतिशत प्रतिफल वितरण गरेका हुन् । कुमारी धनवृद्धि योजनाले ६ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ले ५ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले ५ प्रतिशत र एनआईबिएल सहभागित फण्ड ४ प्रतिशत प्रतिफल वितरण गरेका हुन् । १० मर्चेन्ट बैंक हालसम्म १० वटा मर्चेन्ट बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । ज्योति, सनराइज, एनआईसी एशिया, सिटिजन्स, प्रभु, सिद्धार्थ, लक्ष्मी, सानिमा, कुमारी क्यापिटल र आरविवि मर्चेन्ट बैंकिङ्गले गत वर्षको नाफाबाट लाभांश पनि बाँड्ने प्रस्ताव गरेका हुन् । एनआईसी एशिया क्यापिटलले ४६ प्रतिशत अर्थात् ९ करोड २० लाख रुपैयाँ, सिद्धार्थ क्यापिटलले २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ सानिमा क्यापिटलले १५ प्रतिशत अर्थात् ३ करोड ७५ लाख रूपैयाँ, कुमारी क्यापिटलले १५ प्रतिशत अर्थात् ६ करोड रूपैयाँ, सिटिजन्स क्यापिटलले १२ प्रतिशत अर्थात् २ करोड ४० लाख रुपैयाँ र ज्योति क्यापिटलले १०.२६३ प्रतिशत अर्थात् २ करोड २१ लाख ५ हजार २३० रुपैयाँ नगद लाभांश वितरण गरेका हुन् । त्यस्तै, सनराइज क्यापिटलले ३० प्रतिशत, प्रभु क्यापिटलले ६.३१५८ प्रतिशत, आरविवि मर्चेन्ट बैंकिङ्गले १३.१६ प्रतिशत र लक्ष्मी क्यापिटल मार्केटले ३ करोड ८२ लाख ६ हजार ८०० रूपैयाँ ९७ पैसा बराबरको नगद लाभांश वितरण गरेका हुन् । ३ ब्रोकर कम्पनी हाल सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरुमध्ये विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार आकाशभैरव सेक्युरिटिज, सानिमा सेक्युरिटिज र नासा सेक्युरिटिजले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । नासा सेक्युरिटिज हाल कायम चुक्ता पूँजी ११ लाख ५० हजार रुपैयाँको २४३.२० प्रतिशत बोनस सेयर र १२.८० प्रतिशत नगद गरी कूल २५६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, आकाशभैरव सेक्युरिटिजले ३.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.१८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, सानिमा सेक्युरिटिजले हाल कायम चुक्ता पूँजीको कर सहित २.५ प्रतिशतले हुन आउने ५० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, इक्रा नेपालले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको सेयरधनीलाई ५९.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, नेशनल फण्ड म्यानेजमेन्टले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।