कुमारी बैंकले १ सय रुपैयाँमै सेयर बिक्री गर्दै

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक समूहको सेयर भदौ ५ गतेदेखि भदौ १९ गतेसम्म बिक्री खुला गरेको हो । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १०१ रुपैयाँ तोकेको छ । आवेदन दिँदा सो वा सो मूल्यभन्दा बढी कबोल गरी पेश गर्नुपर्नेछ । खरिद गर्न इच्छुक लगानीकर्ताहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।

११६ रुपैयाँमा भगवती हाईड्रोको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले आज भदौ ५ गतेदेखि प्रिमियम मूल्यमा सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १५ प्रतिशत अर्थात् ८ करोड ५८ लाख ९ हजार ७ सय रुपैयाँको सेयर बिक्री गरेको हो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८५ हजार ८१० कित्ता सेयर विदेशमा रोजगार गरीरहेका नेपाली र ५ प्रतिशत अर्थात् ४२ हजार ९०५ कित्ता सामुहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब कम्पनीले २ प्रतिशत अर्थात् १७ हजार १६२ कित्ता कम्पनीका कर्मचारी र बाँकी ७ लाख १२ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ १९ गतेसम्म आवेदन लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । साथै, सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सकिने कम्पनीले जनाएको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

२००० बाट ओर्लियो नेप्से परिसूचक, १२.९३ अंकले घटेर बन्द भयो बजार

काठमाडौं । सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ । आइतबार पनि करिब २२ अंक घटेर बन्द भएको नेप्सेले सोमबार भने १२.९३ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक २००० विन्दुभन्दा तल ओर्लिएको छ । यसअघि नेप्से परिसूचक गत जेठ २९ गते २००० विन्दुभन्दा तल झरेको थियो । सोमबारको बजारमा नेप्से १९९८.२८ विन्दुमा ओर्लिएको छ । सेन्सेटिभ इण्डेक्स १.५० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ । सोमबार सेयर बजारमा २७२ स्टकको ३९ हजार ४२५ पटकको कारोबारमा एक अर्ब ४० करोड ८९ लाख रुपैयाँ बराबरको ४१ लाख ६३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । सोमबार लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सामलिङ्ग पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ७.९९ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा सोमबार शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन ८ करोड २ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोमबारको सेयर बजारमा १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत घटेको छ । त्यस्तै, यस दिन वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।