सिटिजन्स क्यापिटल र ठूलोखोला हाइड्रोबीच सेयर निष्काशन सम्झौता

काठमाडौं । ठूलोखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आइतबार एक समारोहबीच आइपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गर्ने  सम्झौता गरेको हो । कम्पनीले आइतबार जारी गरेकाे विज्ञप्तिअनुसार, सम्झौता पत्रमा ठूलो खोला हाइड्रोपावरका तर्फबाट संचालक श्वेता अधिकारी पन्त र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, सिटिजन्स क्यापिटलले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको ‘माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना’ म्याग्दी जिल्लामा अवस्थित छ । सो आयोजनाकाे २२.५ मेगावाट बिजुली उत्पादन क्षमता रहेको छ ।

सिनर्जी पावरको ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले आज भदौ ३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ कित्ता सेयर बराबर १ कित्ताको अनुपातमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँको हकप्रद बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख ३२ हजार ८७५ कित्ता सेयर बिक्री गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ साउन १२ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले भदौ २४ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले सानिमा क्यापिटल र सानिमा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सीड इनर्जीको आइपिओ जारी गर्न एनएमबी क्यापिटलले सघाउने

काठमाडौं । सीड इनर्जी लिमिटेडले सर्वसाधारणको लागि जारी गर्न लागेको सेयर (आइपिओ)मा एनएमबी क्यापिटल लिमिटेडले सघाउने भएको छ । उक्त प्रयोजनका लागि सीड इनर्जी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडले सहकार्यको सहमति गरेका छन् । सीड इनर्जी लिमिटेड सीड इन्भेष्टमेन्ट प्रालिले प्रवद्र्धन र व्यवस्थापन गरेको कम्पनी हो । यसले चाडैं आइपिओ जारी गर्ने तयारी गरेको अध्यक्ष पंकज चन्द्र श्रेष्ठले बताए । सीड इनर्जीले जलविद्युत, पूर्वाधार, होटल लगायतका क्षेत्रमा लगानी गरेको छ । ‘सीड इनर्जीले आइपिओ जारी गर्नको लागि एनएमबी क्यापिटलसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं । गर्न लागेको जानकारी गराउँदा हामी उत्साहित छौं’, कम्पनीका अध्यक्ष श्रेष्ठले भनका छन् । त्यसैगरी, एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश बैद्यले व्यवसायीक रुपमा व्यवस्थित कम्पनीलाई नेपालको पुँजी बजारमा उपस्थित गराउन प्रतिवद्ध रहेको र त्यसैका लागि सीड इनर्जीसँग सहकार्य भएको बताए । सीड इनर्जीको लक्ष्य प्राप्तिको लागि आवश्यक सहयोग एनएमबी क्यापिटलले प्रदान गर्ने बैद्यले बताए ।