भगवती हाईड्रोले भदौ ५ गतेदेखि ११६ रुपैयाँमा आईपीओ बिक्री गर्ने

काठमाडौं । भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले भदौ ५ गतेदेखि प्रिमियम मूल्यमा सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १५ प्रतिशत अर्थात् ८ करोड ५८ लाख ९ हजार ७ सय रुपैयाँको सेयर बिक्री गर्नेछ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८५ हजार ८१० कित्ता सेयर विदेशमा रोजगार गरीरहेका नेपाली र ५ प्रतिशत अर्थात् ४२ हजार ९०५ कित्ता सामुहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब कम्पनीले २ प्रतिशत अर्थात् १७ हजार १६२ कित्ता कम्पनीका कर्मचारी र बाँकी ७ लाख १२ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ १९ गतेसम्म आवेदन लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । साथै, सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सकिने कम्पनीले जनाएको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सोनापुर मिनरल्सको आईपीओ प्रिमियममा बिक्री खुला, कति कित्ता भर्ने ?

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले आज साउन २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीयलाई अंकित मूल्य १ सय रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता छुट्याइएको छ । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० लाख ७६ हजार २६८ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिकतम १५ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १० लाख ७६ हजार २६८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ । यदि स्थानीयलाई छुट्याइएको सेयरमा पूर्ण आवेदन नपरेमा भदौ २६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानीयले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

आईएमई ग्रुपले छाड्यो नेपाल इन्स्योरेन्स, एशियन लाइफले किन्यो साढे ५८ करोडको सेयर

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीबाट आईएमई समूह बाहिरिएको छ । आईएमई समूहका तीन कम्पनीले २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर बेचेका छन् । आईएमई लिमिटेड, आईएमई इन्भेष्टमेन्ट र आईएमई होल्डिङ प्रालि गरी तीन कम्पनीको नाममा रहेको उक्त सेयर गत असार २४ गते बिक्रीमा राखिएको थियो । स्रोतका अनुसार उक्त सेयर एशियन लाइफ इन्स्योरेन्स कम्पनीले किनेको छ । आईएमई समूहले प्रतिकित्ता न्युनतम ३२५ रुपैयाँ मूल्य राखी बढाबढ मूल्यमा सेयर बिक्री खुला गरेको थियो । उक्त सेयरका लागि एशियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता ३६६ रुपैयाँमा टेण्डर पारेको हो । ५८ करोड ४५ लाख ६१ हजार ४०० रुपैयाँमा उक्त सेयर किनबेच भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । सनी सेक्युरिटीजमार्फत उक्त सेयर बिक्री भएको छ भने डाइनामिक मनि मार्केट सेक्युरिटीजबाट सेयर किनिएको छ । उक्त सेयर आईतबार नेप्सेमा कारोबार भएको हो । बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा सेयर क्रसहोल्डिङ हटाउन दवाब दिँदै आएको थियो । सोही क्रममा आईएमई समूहले प्रवर्द्धन गरेको आईजीआई र नेपाल इन्स्योरेन्सबीच मर्जरको प्रयास पनि भएको थियो । अन्तिममा आईजीआई र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएपछि आईएमई ग्रुपले नेपाल इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको थियो ।