मल्टीपर्पस फाइनान्सले भदौ १० गतेदेखि ३५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । मल्टीपर्पस फाइनान्सले भदौ १० गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत अर्थात् १ सय कित्ता बराबर नयाँ ३५ कित्ता सेयर बिक्री गर्ने भएको हो । mाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ गत असार १२ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयर खरिद गर्न पाउने छन् । सेयरधनीहरुले कम्पनीको हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनााथ क्यापिटल लिमिटेड रहेको छ । मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले फाइनान्सलाई आइआरएन सिङ्गल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
अरुण काबेलीले भदौ ११ गतेदेखि १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । अरुण काबेली पावर कम्पनीले भदौ ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ गत असार २५ गते बुकक्लोज गरेको थियो । त्यसैले असार २४ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयर खरिद गर्न पाउने छन् । सेयरधनीहरुले कम्पनीको हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । नबिल इन्भेष्टमेन्ट, अरुण काबेली पावर, हिमालयन बैंक र नबिल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत सुरक्षित रहेको संकेत गर्दछ ।
४१ अंकले बढेको सेयर बजारमा करीब दुई अर्बको कारोबार
काठमाडौं । तीन दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से बुधबार भने बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ४१.०६ अंक बढेर २०६०.९१ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ७.४८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ । कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको नेप्से, अन्तिम समयमा बढेर बन्द भएको हो । बुधबार सेयर बजारमा २६५ स्टकको ७७ हजार ५०१ पटकको कारोबारमा एक अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको ५० लाख १० हजार कित्ता शेयर कारोबार भएको छ । सेयर बजारको १३ उपसमूहमध्ये बुधबार म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । कारोबार रकमका आधारमा आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । आज आइएमई १५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको करिब साढे ८ करोडको शेयर खरिदबिक्री भएको छ । कारोबारमा आएको हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ९.८३ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन सेञ्चुरी बैंकको ऋणपत्र नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।