अपि पावरले साउन ३१ गतेदेखि हकप्रद बिक्री गर्दै, कति कित्ता आवेदन दिन पाइन्छ ?

काठमाडौं । अपि पावर कम्पनीले साउन ३१ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.४० कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको १ः०.४० को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ असार २२ गते बुक क्लोज गरेको थियो । त्यसैले असार २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

१० हजार कित्ता खरिद गर्न मिल्ने मिड सोलु हाइड्रोको आईपीओ बिक्री खुला

काठमाडौं । मिड सोलु हाइड्रोपावरले आज साउन १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७ लाख ४८ हजार ४ सय कित्ता स्थानीय बासिन्दालाई बिक्री खुला गरेको हो । जसमध्ये ५ लाख ६१ हजार ३ सय कित्ता अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ३, ४, ५, ६, ६ र ८ का बासिन्दा र १ लाख ८७ हजार १ सय कित्ता सोलुखुम्बुको आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिन सक्ने छन् । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । यदि स्थानीय लगानीकर्तालाई छुट्याइएको सेयरमा पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानीय लगानीकर्ताले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कलश स्टकले पायो नेप्सेबाट सदस्यता, साउनमै कारोबार सुरू गर्ने

काठमाडौं । कलश स्टक मार्केट प्रालिले नेपाल स्टक एक्सचेन्जबाट सदस्यता प्रमाणपत्र प्राप्त गरेको छ । उक्त प्रमाणपत्र प्राप्त पश्चात् अब कलश स्टकले ७४ नम्बरबाट ब्रोकरकोरुपमा कारोबार सञ्चालन गर्ने कार्यकारी अध्यक्ष शालिकराम अधिकारीले बताए । कलश स्टक ब्रोकरले बुद्धनगरमा कार्यालय खोलेको छ । निकट भविष्यमा नै देशका विभिन्न स्थानमा शाखा विस्तार मार्फत सेवा प्रदान गर्ने योजना रहेको छ । ब्रोकरले निक्षेप सदस्यता सेवा समेत सञ्चालन गरी ग्राहकलाई छिटो छरितो एवं आकर्षक सुविधासहित कारोबार गर्ने योजना बनाएको अधिकारीले बताए । ब्रोकरले साउन महिना भित्रै औपचारिकरुपमा कारोबार सञ्चालन गर्ने जानकारी उनले बताए ।