अब बोनसमा लाग्ने कर नगद लाभांशबाट मिलान, २ वटा प्रादेशिक कार्यालय स्थापना गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्ने भएको छ । बोर्डले आइतबार चालू आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएको हो । ‘बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्न आवश्यक निर्देशन जारी गरिनेछ,’ बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, धितोपत्र बजार, बस्तु बजार तथा व्यवसायीहरूलाई प्रभावकारी सुपरिवेक्षण गर्नका लागि सुपरिवेक्षण म्यानुअल तयार गरी लागू गरिने बोर्डले बताएको छ । त्यस्तै, निक्षेप खाता खोल्ने प्रक्रियामा भिडियो बेस्ड कस्टमर आइडेन्टिफिकेसन लागू गर्न सहजीकरण गर्ने छ । बोर्डका अनुसार जग्गा खरिद तथा प्राप्त गर्ने र भवन निर्माण कार्य अगाडि बढाइनेछ । साथै, आफ्नो कामलाई उपत्यकाबाहिर पनि विस्तार गर्ने उद्देश्यले पहिलो चरणमा २ वटा प्रदेशमा प्रादेशिक नियमन संरचना स्थापना गर्न आवश्यक अध्ययन गर्ने बोर्डले बताएको छ ।
कानुन संशोधन गरेर गैर आवासीय नेपालीलाई पूँजी बजारमा प्रवेश
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गैर आवासीय नेपाली नागरिकलाई दोस्रो बजारमा भित्र्याउन कानुन संशोधन गर्ने भएको छ । बोर्डले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा कानुन संशोधन गरेर गैर आवासीय नेपालीलाई पूँजी बजारमा प्रवेशका लागि अनुमति दिने विषय उल्लेख गरेको हो । बोर्डका अनुसार पूँजी बजारमा लगानीकर्ताको संख्यामा वृद्धि तथा प्रतिस्पर्धात्मक वातावरणको विकास गर्न एवं गैर आवासीय नेपाली नागरिकहरूको ज्ञान, सीप, पूँजी, प्रविधि र सञ्जाललाई मुलुकको विकास र समृद्धिसँग जोड्ने गरी गैर आवासीय नेपाली नागरिकहरूलाई पूँजी बजारमा सहज प्रवेशका लागि आवश्यक कानुनी तथा संस्थागत पूर्वाधार तयार गर्नेछ । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी लगानीकर्ता शिक्षा तथा जनचेतना अभिवृद्धिसहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्ने, बोर्डको नियमन तथा सुपरीवेक्षकीय कार्यहरू दक्ष एवं प्रभावकारी रूपमा संचालन गर्न आवश्यक जनशक्तिको व्यवस्थापन र कर्मचारीको क्षमता अभिवृद्धि तथा विकास गर्ने बोर्डले जनाएको छ ।
धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालू आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । सेबोनले आफ्नो वेबसाइटमार्फत् धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सेबोनले यसअघि गत शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको भएपनि आइतबार मात्रै वेबसाइटमा सार्वजनिक गरेको हो । [pdf id=427344]