सुरु भयो लाभांश सिजन, एनआईसी एशिया क्यापिटलले घोषणा गर्यो ४६ प्रतिशत लाभांश
काठमाडौं । चालू आर्थिक वर्ष सुरु भएसँगै लाभांशको सिजन पनि सुरु भएको छ । चालू आर्थिक वर्षमा लाभांश घोषणा गर्ने पहिलो कम्पनी एनआईसी एशिया क्यापिटल बनेको छ । क्यापिटलले ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४६ प्रतिशत (कर सहित) का दरले ९ करोड २० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले साउन ३२ गते सातौं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको साधारण सभा एनआईसी एशिया क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथलीमा बिहान ९ बजे बोलाइएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असारसम्मको वासलात र आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।
नेप्सेमा एक लघुवित्त संस्थाको ४.७५ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्त संस्थाको ४.७५ प्रतिशत बोनस बापत ६७ हजार ३२९.११ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि ऋणपत्र बिक्री गर्ने, ब्याज कति दिन्छ ?
काठमाडौं । नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ बिक्री गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ८० करोड रुपैयाँको ८ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा छिटोमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । यदि पूर्ण आवेदन नपरेमा साउन ३२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।