एनएलजी इन्स्योरेन्सको ६६ प्रतिशत हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभाले ६६ प्रतिशत हकप्रद सेयर निष्काशनको विशेष प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको हालको जारी तथा चुक्ता पूँजी एक अर्ब ४५ करोडबाट बृद्धि गरी २ अर्ब ४२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्धि भइ २ अर्ब ४२ करोड पुग्नेछ । हकप्रदपछि कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले सोही अनुसार जारी तथा चुक्ता पूँजी प्रबन्धपत्रको दफा ५ (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव सभाले अनुमोदन गरेको छ । सभाले प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरबदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउनका लागि कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । नेपाल बीमा प्राधिकरणले कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि प्रारम्भिक अनुमति प्रदान गरिसकेको छ । हकप्रद सेयर निष्काशन पश्चात पनि कम्पनीलाई ८ करोड रुपैयाँ अपुग हुन्छ । उक्त रकम चालु आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर दिएर पुर्याउनेछ ।
सेयर बजारमा सामान्य अङ्कको सुधार
काठमाडौं । अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव ८४ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव १८ अङ्क कायम भएको छ । आज विभिन्न कम्पनीका दुई सय ६२ कम्पनीको ५५ लाख ३१ हजार सात सय ३७ कित्ता सेयर ४० हजार तीन सय तीन पटक खरिदबिक्री हुँदा एक अर्ब ८५ करोड ८० लाख दुइ हजार एक सय ७५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । जलविद्युत् समूह आठ दशमलव ५७, लघुवित्त समूह चार दशमलव १०, र म्युचुअल फन्डका उपसूचक घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह ५६ दशमलव ०१ र उत्पादन तथा प्रशोधन समूह २५ दशमलव ७६ अंकले बढेका छन् । बैंकिङ समूह नौ दशमलव ६८, विकास बैंक १८ दशमलव १२, वित्त २३ दशमलव २०, होटल तथा पर्यटन तीन दशमलव ७६ र लगानी समूह शून्य दशमलव १० अङ्कले बढेको छ । त्यस्तै, जीवन बीमा समूह दूइ दशमलव ४८, निर्जीवन बीमा समूह चार दशमलव ६१ र अन्य समूह शून्य दशमलव ०८ अंकले बढेको छ । आजको कारोबार पछि सनराइज ब्लुचिप फन्डको सेयर मूल्य सबैभन्दा धेरै सात दशमलव १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विइन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ३१ प्रतिशतले घटेको छ । आज शिवम् सिमेन्टको सबैभन्दा धेरै आठ करोड ८ लाख ८६ हजार छ सय पाँच रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषको एक लाख ९० हजार पाँच सय २५ कित्ता सेयर किनबेच भएको छ ।
लक्ष्मी क्यापिटलका २ वटा म्युचुअल फण्डले घोषणा गर्याे लाभांश
काठमाडौं । लक्ष्मी क्यािपटलले आफ्ना दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डको लाभांश घोषणा गरेको हो । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई समान ९.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । क्यापिटलको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलको आगामी साधारण सभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ । लक्ष्मी क्यापिटल लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी हो ।