एक विद्युत कम्पनीले ८ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्दै

काठमाडौं । साङ्गे विद्युत कम्पनी लिमिटेडले ८ सय प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले असार १९ गतेदेखि १ः८ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने जनाएको छ । कम्पनी सञ्चालक समितिको जेठ २६ गते बसेको बैठकले १ः८ को अनुपात अर्थात् विद्यमान १ कित्ता सेयर बराबर नयाँ ८ कित्ताका दरले हकप्रद बिक्री गर्ने निर्णय गरेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्य दरका २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री गर्ने बताएको छ । कम्पनीको सो सेयर असार १९ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सकिने छ । हाल कम्पनीको प्रति कित्ता सेयरको दर ५० रुपैयाँ कायम भइसकेकोले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले अनुरोध गरेको छ । सेयरधनीले आफ्नो हक वा सो भन्दा बढी सेयर खरिद गर्न आवेदन दिन पाउने छन् । कबूल नगरिएको सम्पूर्ण हकप्रद सेयरहरु बढी सेयर खरिदका लागि आवेदन दिने सेयरधनीलाई वितरण गरिनेछ । दरखास्त फारम साङ्गे विद्युत कम्पनीको कार्यालय ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गरी आवेदन भर्न सकिने कम्पनीले जनाएको छ । हकप्रद सेयर बिक्री प्रयोजनका लागि कम्पनीले असार ११ गतेदेखि असार १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

घोराही सिमेन्टको आईपीओमा आवेदन दिने समय लम्बियो, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । कम्पनीले जेठ ३२ गतेदेखि प्रिमियम मूल्यमा बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले अब असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेपनि समय थप गरेको कम्पनीले जनाएको छ । आवेदनहरु प्रमाणित हुने प्रक्रियामा रहेकोले रितपूर्वक प्रमाणित भएमा असार १४ गते अगावै निष्कासन बन्द गरिने पनि कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले आयोजना प्रभािवत क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेका छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सम्पूर्ण सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

ओलीलाई नयाँ ब्रोकरको आग्रह : अर्थ समितिले सेबोनलाई दिएको निर्देशन खारेज गराउन सांसदलाई निर्देशन दिनु

काठमाडौं । नयाँ धितोपत्र दलाल व्यवसायीहरु राजनीतिक दलका नेताहरुकोमा धाउन थालेका छन् । अर्थसमितिले आफ्नो काम, कर्तव्य र अधिकारभन्दा बाहिर गएर केही सीमित सिण्डिकेट र एकाधिकार बजार चाहने अहिलेका धितोपत्र दलाल व्यवसायीहरुको गुमराहमा परी धितोपत्र बोर्डलाई लाईसेन्स दिने काम रोक्न लगाएको भन्दै नेताको घर-घरमा धाउन थालेका हुन् । नयाँ ब्रोहरहरुले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर अर्थ समितिमा रहेका आफ्ना सांसदहरुलाई अहिले अर्थ सिमितिले धितोपत्र बोर्डलाई दिएको निर्देशन खारेज गराउन निर्देशन दिन आग्रह गरेका छन् । ‘यथाशक्य छिटो आफ्नो दलअन्तरगत उक्त आर्थिक समितिमा रहनुभएका आफ्ना माननीयज्यूलाई बजारको विकास र विस्तारमा रहने किसिमबाट अगाडि बढ्नका लागि आवश्यक निर्देशन प्रदान गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं’ ज्ञापन पत्रमा उल्लेख छ, ‘सर्वोच्च अदालतको २०७९ चैत्र २६ गतेको फैसलाको विरुद्धमा, संविधानको धारा १२८ लाई समेत उल्लंघन गरेर अर्थ समितिले दिइएको पूर्वाग्रह पूर्ण, सीमित व्यवसायीको सिण्डिकेट र बजारमा एकाधिकारको अवस्थालाई निरन्तरता दिने ढंगबाट जारी भएको निर्देशनलाई खारेज गर्दै आफ्नो दलको तर्फबाट नेपालको संविधानको धारा १२८ लाई पूर्ण रुपमा परिपालना गर्न आवश्यक पहलकदमी तथा सहजीकरण गरिदिनुहुन समेत आदरणीय अध्यक्षज्यू समक्ष हाम्रो संगठनको तर्फबाट हार्दिक अनुरोध गर्दछौं ।’ पार्टीको तर्फबाट अर्थ समितिमा संलग्न सांसदलाई नेपालको पुँजी बजार सुधार तथा बजारको विकास एवं विस्तारको कार्यलाई नेतृत्व गर्ने निर्देशन प्रदान गर्न समेत अनुरोध गरेका छन् ।