लाइसेन्स वितरण प्रक्रियामा ब्रोकर कम्पनीको कुनै भूमिका छैन
काठमाडौं । पुराना ब्रोकर व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले आफूहरुले कसैलाई पनि गुमराहमा नपारेको स्पष्ट पारेको छ । नयाँ स्टक ब्रोकर व्यवसायीहरुले गुमराहमा परेर लाइसेन्स प्रक्रिया रोकेको आरोप लगाएपछि आफूहरु स्वस्थ प्रतिस्पर्धा गर्दै आएको र कसैलाई पनि गुमराहमा नपारेको पुराना ब्रोकर व्यवसायीहरुले बताएका हुन् । पुराना ब्रोकर व्यवसायीहरुको गुमराहमा परी अर्थसमितिले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स प्रक्रिया रोकेको आरोप नयाँ स्टक ब्रोकर अफ एशोसिएसनले लगाएको थियो । बुधबार एक विज्ञप्ति जारी गर्दै नयाँ ब्रोकर व्यवसायीहरुको संगठन नयाँ ब्रोकर एशोसिएसनले सर्वोच्च अदालतलाई समेत चुनौति दिने गरी पुराना ब्रोकर व्यवसायीहरुको गुमराहमा परी प्रक्रिया रोक्न निर्देशन दिएको आरोप नयाँ ब्रोकर व्यवसायीहरुले लगाएका थिए । नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया रोकेको आरोप पुराना ब्रोकर व्यवसायीलाई लगाएपछि स्टक ब्रोकर एशोसिएसन अफ नेपालले प्रतिवाद गर्दै झुठा, आधारहिन, कपोल्पल्पित र अवास्तिविक रहेको बताएको छ । धितोपत्रसम्बन्धी ऐन, नियम अन्तर्गत रही खुल्ला प्रतिस्पर्धाबाट पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरी ब्रोकर कम्पनीहरु सञ्चालनमा रहेको विज्ञप्तिमा भनिएको छ । ‘धितोपत्र दलाल व्यवसायीको लाईसेन्स वितरण प्रक्रियामा कुनै पनि भूमिका छैन, लाईसेन्स वितरण प्रक्रियामा सरोकार राख्ने सम्बन्धित सबै सम्मानित निकायहरुलाई गुमराहमा पार्ने कुनै पनि प्रकारको प्रयासहरु धितोपत्र दलाल व्यवसायीहरुले गर्दैनन्, सम्मानित निकायहरु कसैको पनि गुमराहमा पर्न सक्छन् भन्ने विश्वास पनि गर्न सकिदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘धितोपत्र दलाल व्यवसायीहरुको गुमराहमा परी सम्मानित अर्थ समितिले निर्देशन जारी गरेको भन्ने जस्ता अत्यन्तै संवेदनशिल, असान्दर्भीक तथा स्तरहिन आरोपप्रति संघको गम्भिर आपत्ति रहेको छ र यस्ता आधारहिन झूठा आरोपहरुबाट भ्रमित नहुन सरोकारवाला सबैलाई अनुरोध गर्दछौं ।’ नयाँ स्टक ब्रोकर व्यवसायीहरुले पुराना ब्रोकर व्यवसायीलाई विभिन्न आरोप लगाएपछि आफूहरु स्वच्छ प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । पुराना व्यवसायीलाई सिण्डिकेट र एकाधिकार गरेको आरोप लागेपछि भविष्यमा स्वच्छ प्रतिस्पर्धा गर्न तत्पर रहेको बताएका हुन् । ‘उच्च प्रतिस्पर्धाबाट नै स्थापित ब्रोकर कम्पनीहरु अहिले पनि एकआपसमा प्रतिस्पर्धात्मक वातावरणमा सेवा प्रदान गर्दै आईरहेका छन्, भविष्यमा पनि स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा समग्र पूँजीबजारको अग्रपङ्तीमा रही पूँजीबजारको वृहत्तर विकासको लागी लगानीकर्ताहरुको सेवामा सदैव समर्पित रहने छौं, सिण्डिकेट र एकाधिकार बजार चाहने हाल सञ्चालनमा रहेका धितोपत्र दलाल व्यवसायीहरुु भनी गरिएको झुठा, आधारहिन, कपोल्कल्पित र अवास्तविक आरोपप्रति खेद प्रकट गर्दै सदैव प्रतिस्पर्धात्मक वातावरणमा सेवा प्रदान गर्न तत्पर रहेको अनुरोध गर्दछौं,’ उनले भने । ब्रोकर कम्पनीको प्रयासले दैनिक करिब २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको उनीहरुको दाबी छ । उक्त कारोबारको राफसाफ तथा फछर्यौट ब्रोकर कम्पनीले तोकिएको समयसीमा दिएको उनीहरुको भनाइ छ । ३० औं बर्षको ईतिहास हुँदा पनि पूँजीबजारमा विभिन्न काम हुन आवश्यक रहेको उनीहरुको बुझाइ छ । ‘३० औं बर्षको ईतिहासमा आजसम्म पनि पूँजीबजारको आधारभुत औजार राफसाफ कोष कार्यान्वयनमा नआएको अवस्था छ, अक्सन मार्केट उपलब्ध छैन, उधारो कारोबारबाट सिर्जित बिषम परिस्थिती तथा उधारो सङ्कलनको कुनै कानुनी प्रावधानहरुको व्यवस्था छैन, यस्तो बिषम परिस्थितिमा पनि ब्रोकर कम्पनीहरुबाट उच्च व्यवसायिक दायित्व निर्वाह गर्दै कुनै पनि दिन धितोपत्र कारोबारको राफसाफमा एक दिन पनि ढिलाई नभएको तथा समस्या नभएको ईतिहास छ,’ स्टक ब्रोकर एशोसिएसन अफ नेपालको विज्ञप्तिमा भनिएको छ ।
कुथेली बुखरी स्मलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, स्थानीयलाई समय थप
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जेठ १९ गतेदेखि बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज असार १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आवेदन दिने समय भने थप गरिएको छ । स्थानीय बासिन्दाले अब कम्पनीको आईपीओमा असार ५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १० प्रतिशत स्थानीय बासिन्दा र सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेको हो । कम्पनीले १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँको १ लाख २१ हजार ८६८ कित्ता सेयर दोलखाको कालिञ्चोक गाउँपालिका ९ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडा) र भिमेश्वर नगरपालिका १ का (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडा) स्थानीय बासिन्दालाई बिक्री गरेको हो । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १२ लाख १८ हजार ६ सय रुपैयाँ प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ हजार १८६ कित्ता सेयरमा विदेशमा रोजगार गरी रहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
अप्पर स्याङ्गे हाईड्रोले असार १० गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावरले असार १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँट गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशत अर्थात् ६ करोड ५० लाख रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ प्रतिशत सामूहिक लगानी कोष, २ प्रतिशत कर्मचारीलाई बिक्री गरेर बाँडफाँट पश्चात् बाँकी रहेको ५ लाख ३९ हजार ५ सय कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा असार १३ गते र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।