पूँजी बजारमा लाग्ने करमा परिवर्तन गरिएको छैन : आन्तरिक राजस्व विभाग
काठमाडौं । आन्तरिक राजस्व विभागले पूँजी बजारमा लाग्ने कर पुरानै रहेको स्पष्ट पारेको छ । विभागले आर्थिक विधेयक, २०८० को दफा २९ लाई प्रष्ट पार्दै धितोपत्र कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको जनाएको छ । आर्थिक विधेयक २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुमा केही द्विविधा उत्पन्न भएको विषयमा थप स्पष्ट पारिएको विभागले जनाएको छ । ‘नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ, त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ताको जानकारीका लागि यो सूचना जारी गरिएको छ,’ विभागले जारी गरेको सुचनामा उल्लेख छ ।
रावा इनर्जिको आईपीओ बिक्री खुला, १० हजार कित्ता किन्न पाइने
काठमाडौं । रावा इनर्जि डेभलपमेन्टले आज जेठ १८ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बााँडफाँट गर्दा बाँकी रहेको १ लाख ९२ हजार ३३० कित्ता थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको हो । जसमध्ये १५ हजार ४७ कित्ता कर्मचारी, ३७ लाख ६१६ कित्ता सामूहिक लगानी कोष र ६ लाख ४३ हजार ६६७ कित्ता सेयरमा सर्वसाधारण लगनीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा जेठ २२ गते र ढिलोमा जेठ ३२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
आँखुखोला जलविद्युत कम्पनीलाई आयोगको कारवाही, घटाइदियो हकप्रद सेयर
काठमाडौं । विद्युत नियमन आयोगले आँखुखोला जलविद्युत् कम्पनीलाई कारवाही गरेको छ । आयोगले कम्पनीले पेश गरेको हकप्रद सेयर जारी गर्ने निवेदनमा आवश्यक कारवाही गरेको हो । कम्पनीले चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहितको निवेदन आयोगमा पेश गरेको थियो । उक्त प्रस्तावलाई आयोगले कारवाही स्वरुप परिमार्जन गरी पठाएको छ । यससँगै कम्पनीले अब हालको चुक्ता पुँजीको १५० प्रतिशत अर्थात एक बराबर १.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । जुन कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्रै कम्पनीले सो मात्राको सेयर जारी गर्ने छ ।