सेञ्चुरी प्राप्तिपछि नम्बर वान बन्यो प्रभु क्यापिटल, आईपीओ निष्काशन गर्दै
काठमाडौं । प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माले मर्जरपश्चात् मर्चेन्ट बैंकहरुमा प्रभु क्यापिटल नम्बर वान बनेको बताएका छन् । सेञ्चुरी क्यापिटललाई प्राप्तिपश्चात् एकीकृत कारोबारमा बोल्दै अध्यक्ष शर्माले पूँजीको दाँजोमा नम्बर वान मर्चेन्ट बैंक बन्न सफल भएको बताका हुन् । ‘प्रभु क्यापिटलको अधिकृत पूँजी १३३ करोड रुपैयाँ, चुक्ता पूँजी १२० करोड रुपैयाँ पुगेको छ, मर्जर पछि देशकै सबैभन्दा ठूलो मर्चेन्ट बैंक बन्न सफल भएको छ, यसअघि पनि १ अर्ब पूँजी हुँदा ठूलो मर्चेन्ट बैंक नै थियो, अब झनै ठूलो बनेको छ,’ प्रभु क्यापिटलका ५० जना र सेञ्चुरी क्यापिटलका ७ जना गरी मर्जर पश्चात् कूल ५७ जना कर्मचारी पुगेको उनको भनाइ छ । क्यापिटलमा प्रभु बैंकको ५१ प्रतिशत सेयर स्वामित्व रहने उनको भनाइ छ । मर्जरपछि क्यापिटलको प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ पुगेको छ । साथै, म्युचुअल फण्डहरुमा प्रभु सेलेक्ट फण्डको १०.२० रुपैयाँ र प्रभु स्मार्ट फण्डको १०.०१ न्याभ रहेको छ । प्रतिकूल बजारको अवस्थाका बाबजुत पनि क्यापिटलले न्याभलाई सन्तुलन कायम राख्न सफल भएको उनले बताए । उनका अनुसार क्यापिटलले २५५ जना ग्राहकको २७ करोड बढीको पोर्टफोलियो म्यानेजमेन्ट गरिरहेको छ । यस्तै, २५ वटा कम्पनी आरटिए र आरटिएसमा छन् । प्रभु क्यापिटलमा डिम्याट खाता खोल्नेको संख्या २ लाख २४ हजार रहेको उनले बताए । १७ वटा कम्पनीको इस्यू म्यानेजरको रुपमा क्यापिटलले काम गर्दै आएको उनको भनाइ छ । मर्जर पश्चात् ३५४.९३ करोड रुपैयाँ बराबरको अण्डरराइटिङ्ग गर्न सक्ने क्ष्मताको क्यापिटलमा रहेको उनले बताए । क्यापिटलले स्पेसलाइज्ड इन्भेष्टमेन्ट फण्ड र पाइभेट इक्विटी फण्ड (एसआइएफ र पीइ फण्ड)को सुरु गर्ने प्रक्रियामा क्यापिटल रहेको उनले बताए । उनले क्यापिटलको सर्वसाधारण सेयर (आईपीओ) जारी गर्ने बताए । आईपीओ निष्काशनको तयारीमा क्यापिटल रहेको उनले बताए । ‘प्रभु क्यापिटलले सुरु देखि नै पूँजी बढाउनु पर्छ भन्ने अवधारण बनाउँदै आएको छ, क्यापिटलको सेवा र अनुशासन पालना पनि चुस्तदूरुस्त छ, सञ्चालक समितिले पनि संस्थागत सुशासनमा जोड दिँदै आएको छ, संस्थागत सुशासनमा क्यापिटलले कम्प्रमाइज गर्दैन,’ उनले भने, ‘आईपीओ निष्काशनका लागि प्रक्रिया अघि बढेको छ, अब छिट्टै आईपीओ जारी गर्छाैं ।’
६०/७० नेटवर्थ भएका कम्पनी ओभरभ्यालूमा आईपीओ जारी गर्छन्
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अण्डरराइटिङ्ग बार्गेनिङ गर्ने भाँडो भएको बताएका छन् । सोमबार प्रभु क्यापिटल र सेञ्चुरी क्याटिलको एकीकृत कारोबार कार्यक्रममा उनले यस्तो बताएका हुन् । अण्डरराइटिङ्गले मागेको शुल्क इस्यू जारी गर्ने कम्पनीले दिन नमान्ने गरेको उनले बताए । इस्यू जारी गर्ने कम्पनी बार्गेनिङ्ग गर्दै अन्य संस्थामा जाने गरेको उनको भनाइ छ । ‘अण्डरराइटिङ्गलाई सुधार गर्नु पर्ने धितोपत्र बोर्डको पहिलो प्राथमकितामा छ, अहिले नेपालमा अण्डरराइटिङ्ग प्रक्रियामा क्रान्तिकारी परिवर्तन गर्नु पर्नेछ, अण्डरराइटिङ्ग एजेन्सी इस्यू गर्ने कम्नपीमा गएर यो विजनेश मलाइ चाहियो, मलाई नदिई हुँदै भएन भन्छ भनेपछि अण्डरराइटिङ्ग प्रक्रियामा पहिला नै समस्या आउँछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा इस्यू जारी गर्ने कम्पनीले अण्डरराइटिङ्ग कम्पनीमा गएर कन्भिन्स गर्नु पर्छ, यो मूल्य मैले राखेको हो, यसको आधारमा मूल्याङ्कन गर्नु पर्याे भन्नु पर्छ तर, ४/५ संस्थासँग बार्गेनिङ्ग गरेर मात्रै अण्डरराइटिङ्ग गरिरहेका छन् ।’ अण्डरराइटिङ्ग प्रक्रियलाई अन्तर्राष्ट्रिय बजार जस्तो सिस्टम कायम गर्ने उनले मर्चेन्ट बैंकहरुलाई निर्देशन दिए । अण्डरराइटिङ्ग गरेको २ महिनापछि घटाउन नमिल्ने उनको भनाइ छ । जोखिम लिएपछि सबैले समान रुपमा लिनु पर्ने उनले बताए । अहिले ६०/७० रुपैयाँ नेटवर्थ भएका कम्पनीलाई १ सय रुपैयाँमा जारी गर्दा कसैले पनि गुनासो नगरेको उनको भनाइ छ । ‘६०÷७० रुपैयाँ नेटवर्थ भएका कम्पनीलाई १ सय रुपैयाँमा जारी गर्दा कसैले पनि गुनासो छैन, यहाँ पनि अण्डरभ्यालूसन गरेर ७० को भ्यालूसनलाई १०० रुपैयाँमा जारी गर्दा ओभर भ्यालूसन भइसक्यो, यो पनि सहि होइन,’ उनले भने, ‘हामी (धितोपत्र बोर्ड)ले सबैलाई सही बनाउनु पर्नेछ, विगतमा एउटा आईपीओको फाइल स्वीकृत हुनका लागि २० महिना लाग्थ्यो तर, म आएपछि महिनामा ४ वटा भन्दा बढी फाइल स्वीकृत दिइरहेका छौं, यदि फाइल सही छ भने स्वीकृत दिने र सही छैन भने फिर्ता पठाउने काम गरेको छ ।’
एक कम्पनीको २५ प्रतिशत बोनस तपाइको खातामा आयो ?
काठमाडौं । नेपाल ल्यूब आयलले सेयरधनीहरुको खातामा लाभांश जम्मा गरेको छ । कम्पनीको गत असोज २८ गते सम्पन्न ३१ औं वार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत बोनस सेयर सेयरधनीको खातामा जम्मा गरेको जनाएको छ । असोज १३ गतेसम्म हितग्राहि खाता अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा जम्मा गरेको कम्पनीले जनाएको छ । हालसम्म सेयर प्रमाणपत्र अभौतिकिकरण (डिम्याट) नगरेका सेयरधनीहरुले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डिपि) मा सम्पर्क गरी आफ्नो सेयर प्रमाणपत्र अभौतिकिकरण गर्न कम्पनीले आग्रह गरेको छ । असोज १३ गतेसम्म कम्पनीको सेयर धितो राखेका सेयरधनीहरुले नो अब्जेक्सन लेटर उपलब्ध गराए पश्चात् मात्र खातामा लाभांश जम्मा गरिनेछ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।